भुटानमा हिमताल कसरी विस्फोट भयो ?उपकरणसहित निगरानीमा थियो

१३ कात्तिक २०८३, शुक्रबार
Share this
701shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउट ब्रस्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ ।

अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् । हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) भनिन्छ । यस्तो बाढी पहाडी खोँच हुँदै तीव्र गतिमा तलतिर बग्ने क्रममा हिलो, ढुङ्गा तथा अन्य अवशेषसमेत बगाएर लैजान सक्छ ।

Advertisement

यसले सडक, पुल तथा बस्तीमा ठूलो क्षति पु¥याउन सक्छ । डेली भुटानले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हिमताल विस्फोटपछि आएको बाढीले गासा जिल्लामा मोछु नदी किनारमा रहेको चर्चित गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ ।

क्षतिको वास्तविक अवस्था भने अझै मूल्यांकन भइरहेको छ । त्यस्तै, पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्ड पनि पूर्ण रूपमा बगाएको छ । त्यसपछि अधिकारीहरूले अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन आवागमन बन्द गरेका छन् ।

Advertisement

यात्रुहरूलाई अत्यावश्यक नभएसम्म यात्रा स्थगित गर्न वा प्रस्थान गर्नुअघि वैकल्पिक यातायात तथा मार्गको व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ । गत बिहीबार अक्टोबर २९ को साँझ भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा हिमताल विस्फोट भएको बताइएको छ ।

डेली भुटानका अनुसार बिहीबार राति करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो । बाढीले दुर्गम उच्च पहाडी बस्ती लाया जोड्ने सडकको एक खण्डमा क्षति पु¥याएपछि उक्त सडक बन्द गरिएको थियो । लाया भुटानका दुर्गम उच्च पहाडी बस्तीमध्ये एक हो ।

सम्भावित जोखिममा रहेका स्थानबाट सावधानीस्वरूप स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो भने चेतावनीका साइरनसमेत बजाइएको थियो । अक्टोबर ३० को बिहानसम्म मानवीय क्षति वा घाइते भएको कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

तालबाट पानी बाहिरिनुको वास्तविक कारण, बाहिरिएको पानीको परिमाण तथा क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ । अधिकारीहरूले तालको अवस्था र तल्लो तटीय क्षेत्रमा परेको प्रभावबारे निरन्तर मूल्यांकन गरिरहेका छन् । सिन्ताफु तालको पानी मोछु नदीमा मिसिन्छ ।

उक्त नदी गासा र पुनाखा हुँदै दक्षिणतर्फ बग्छ । पुनाखामा मोछु नदी र फोछु नदी एकआपसमा मिसिएर पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ । डेली भुटानका अनुसार सिन्ताफु मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली हिमताल हो ।

भुटानको आधिकारिक सूचीमा यसलाई सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एकका रूपमा राखिएको छ । सम्भावित जोखिमयुक्त सूचीमा राखिनुको अर्थ उक्त तालमा हिमताल विस्फोट निश्चित छ भन्ने नभई निरन्तर निगरानी आवश्यक रहेको भन्ने हो ।

भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुन महिनासम्म उक्त तालको अध्ययन गरेका थिए । त्यस क्षेत्रमा निगरानीका उपकरणसमेत जडान गरिएको छ । अध्ययनका क्रममा मुख्य तथा माथिल्लो तालको मापन, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको परीक्षण तथा तालमा पानी आपूर्ति गर्ने हिमनदीको निगरानी गरिएको थियो ।

सम्भावित हिमतालजन्य बाढीको जोखिम न्यूनीकरण र निगरानी प्रभावकारी बनाउन भुटानले त्यस क्षेत्रमा थप उपकरणसमेत जडान गरेको छ । सिन्ताफु तालमा हिमताल विस्फोट भएको खबरपछि छिमेकी भारतमा पनि सावधानीका उपाय अपनाइएको थियो ।

विशेषगरी उत्तर बंगालका संकोश नदी तथा यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । यसैबीच, केन्द्रीय जल आयोग (सीडब्लूसी) ले भुटानको सिन्ताफु तालमा भएको भनिएको हिमताल विस्फोटपछि पश्चिम बंगाल र आसामका लागि विशेष बाढीसम्बन्धी चेतावनी जारी गरेको छ ।

आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिएको छ । दुवै राज्यलाई सतर्क अवस्थामा राख्दै स्थानीय प्रशासनलाई संकोश नदीको जलस्तर तथा बहावलाई नजिकबाट निगरानी गर्न र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ ।

नेपालपनि पछिल्लो समय हिमपहिरोकै कारण भोटेकोशी त्रिशूली तथा बुढीगण्डकीमा बाढीको सामना गर्नुपरेको छ । हजारौंको मानवीय क्षतिसहित अर्बाेको भौतिक क्षति देशले भोग्नु परेको छ । यसैलाई मध्यनजर गरेर नेपालका हिमाली क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालबाट हुन सक्ने बाढीको जोखिम न्यूनीकरण गर्न सरकारले चारवटा हिमतालको पानीको सतह घटाउने योजना अघि बढाएको छ।

मनाङ, सोलुखुम्बु र संखुवासभामा रहेका चार हिमताललाई लक्षित गरी सञ्चालन गर्न लागिएको सातवर्षे आयोजनाअन्तर्गत प्रारम्भिक कार्यशाला, अध्ययन तथा प्रतिवेदन निर्माणको तयारी भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जिव बरालका अनुसार आयोजनाको कार्यान्वयन ढाँचा र प्राविधिक पक्षलाई अन्तिम रूप दिएपछि आवश्यक प्रक्रिया पूरा गरेर काम अघि बढाइनेछ।

उनका अनुसार पानीको सतह घटाउने काम सुरु गर्नुअघि सर्वेक्षण, डिजाइन, आवश्यक पुनःडिजाइन र स्वीकृतिको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसपछि टेन्डर तथा खरिद प्रक्रिया अघि बढाएर निर्माणको चरणमा प्रवेश गरिनेछ। पानीको सतह घटाउने कामका लागि मात्रै करिब दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।

सरकारले सन् २०२६ देखि सुरु गरेर सन् २०३३ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत हिमतालको पानी घटाउने कामसँगै बाढीको पूर्वानुमान सुधार गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पु¥याउने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

सरकारले छनोट गरेका हिमतालमा मनाङको ठुलागी, संखुवासभाको लोअर बरुण तथा सोलुखुम्बुका लम्दिङ छो र होंगु–२ रहेका छन्। यी तालबाट सम्भावित रूपमा उत्पन्न हुन सक्ने बाढीको जोखिम कम गर्ने उद्देश्यले पानीको सतह घटाउन लागिएको हो।

प्रस्तावित योजनाअनुसार होंगु–२ हिमतालको पानीको सतह करिब एक मिटर र अन्य तीनवटा हिमतालको सतह करिब तीन मिटर घटाउने लक्ष्य छ। यद्यपि, विस्तृत अध्ययनपछि यो परिमाणमा परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

हिमतालको अवस्था, पानीको मात्रा, प्राकृतिक बाँधको बनावट र आसपासको भौगोलिक अवस्थाका आधारमा पानीको सतह घटाउने उपयुक्त विधि निर्धारण गरिनेछ। त्यसैले निर्माण सुरु गर्नुअघि प्राविधिक अध्ययन र स्थलको मूल्याङ्कनलाई महत्त्व दिइएको छ।

आयोजनाका लागि हरित जलवायु कोषले ३६ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ। बाँकी करिब १४ मिलियन अमेरिकी डलर नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले व्यहोर्ने जनाइएको छ। यसरी आयोजनाका लागि कुल करिब ५० मिलियन अमेरिकी डलर बराबरको वित्तीय व्यवस्था गरिएको छ।

हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध भत्किएर वा अन्य कारणले एक्कासि बाहिर निस्कँदा तल्लोतटीय क्षेत्रमा ठूलो बाढी आउन सक्छ। यस्तो घटनालाई ‘ग्लेसियल लेक आउटबस्र्ट फ्लड’ (ग्लोफ) भनिन्छ। यसबाट नदी किनारका बस्ती, पुल, सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा क्षति पुग्न सक्छ।

हिमालय क्षेत्रमा हिमनदी पग्लिने र हिमतालको अवस्था परिवर्तन हुने क्रमले यस्ता जोखिमको नियमित अध्ययन आवश्यक बनाएको छ। नेपालमा जोखिमयुक्त हिमतालको सङ्ख्या २३ रहेको बताइँदै आएको छ। तीमध्ये यसअघि दुईवटा हिमतालको पानीको सतह घटाइसकिएको छ।

नेपालले सन् २००० मा च्छो–रोल्पा र सन् २०१६ मा इम्जा हिमतालको पानीको सतह घटाएको थियो। च्छो–रोल्पाको सतह करिब तीन मिटर र इम्जाको करिब ३.४ मिटर घटाइएको थियो। ती आयोजनाबाट प्राप्त अनुभवलाई नयाँ परियोजनामा उपयोग गर्ने तयारी गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।

विगतका कामबाट प्राप्त सिकाइका आधारमा नयाँ आयोजना थप प्रभावकारी बनाउने विश्वास केन्द्रका कार्यकारी निर्देशक बरालले व्यक्त गरेका छन्। पछिल्ला बाढीका घटनाबाट पनि पूर्वसूचना प्रणाली, बाढीसँगै बगेर आउने गेग्रान तथा हिमाली क्षेत्रको जोखिम व्यवस्थापनबारे महत्त्वपूर्ण पाठ सिकिएको उनको भनाइ छ।

हिमनदी विज्ञ तथा काठमाडौं विश्वविद्यालयका वरिष्ठ भिजिटिङ प्रोफेसर रिजनभक्त कायस्थका अनुसार चार हिमतालमध्ये सोलुखुम्बुका लम्दिङ छो र होंगु–२ मा काम गर्न बढी चुनौतीपूर्ण हुन सक्छ। उनका अनुसार मनाङको ठुलागी हिमतालसम्म पुग्न तुलनात्मक रूपमा सहज छ।

त्यहाँ सडक तथा आवतजावतको सुविधा रहेकाले निर्माण कार्य व्यवस्थापन गर्न सजिलो हुन सक्छ। संखुवासभाको लोअर बरुण क्षेत्रमा पनि पदयात्रा तथा पर्वतारोहणका मार्ग रहेकाले पहुँचको अवस्था तुलनात्मक रूपमा राम्रो छ।

तर, लम्दिङ छो र होंगु–२ हिमतालसम्म पुग्ने मार्गको अभाव, उच्च उचाइ र कठिन भौगोलिक अवस्थाले निर्माण कार्यलाई जटिल बनाउन सक्छ। विशेषगरी लम्दिङ छो हिमताल भिरालो क्षेत्रमा रहेकाले उपकरण तथा निर्माण सामग्री पु¥याउन कठिनाइ हुन सक्ने विज्ञहरूको आकलन छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top