बंगालको खाडीमा बनेको ‘मुरासु’ आज शक्तिशाली आँधी बन्ने सम्भावना

१६ कात्तिक २०८३, सोमबार
Share this
730shares

१६ कार्तिक , काठमाण्डौ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका हिमाली तथा पहाडी एक÷दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एक÷दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा छिटपुट वर्षा भएको छ । धेरै ठाउँको भने मौसम सफा छ । बंगालको खाडीमा विकसित ’अर्नब’ चक्रवातको प्रभाव सकिएसँगै हिजोदेखि मौसम खुलेको हो ।

Advertisement

तर बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ । मौसमविद्हरुले पनि नयाँ प्रणालीको असर नपर्ने भएकोले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् ।

मौसमविद्का अनुसार अब दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने संभावना छैन । उता बंगालको खाडीमा बनेको ‘मुरासु’ नामको नयाँ चक्रवात आज कात्तिक १६ गते शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’अनुसार यो चक्रवात दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा आइतबार बिहान ११ः४५ बजे बनेको हो ।

चक्रवात ‘मुरासु’ आज मध्यपश्चिम बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा नेल्लोर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

मौसम महाशाखाले अगाडि भनेको छ, ‘हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ।’

अर्नब चक्रवात बिदा भएलगत्तै बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भएको हो । मौसम महाशाखाले आज बिहान मात्र अर्नब चक्रवातको प्रभाव पूर्ण रूपमा हटेको जानकारी गराएको थियो। जुन चक्रवातको असरले नेपालमा गत बिहीबारदेखि शनिबारसम्म वर्षा–हिमपात गराएको थियो ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको ‘न्यूनचापीय क्षेत्र’ (मौसम प्रणाली) को भने आंशिक प्रभाव छ । मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको पाँचदिने मौसम प्रक्षेपण अनुसार भोली कार्तिक १७ गते मंगलबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति भने देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । यस्तै कार्तिक १८ गते बुधबार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सो दिन राति देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

यसैगरी कार्तिक १९ गते बिहीबार देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । कार्तिक २० गते शुक्रबार देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । यसैबीच बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन् ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रोशी गाउँपालिकाको वडा नम्बर ९ स्थित पिनथली र वडा नम्बर ८ स्थित गिम्दिबेसीमा कात्तिक १४ गते बिहान ४ः५५ बजे पहिरो खसेको थियो। हाल पहिरो पन्छाएर उक्त सडक एकतर्फी खुला गरिएको छ।

त्यस्तै बागमती प्रदेशकै पृथ्वी राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नति गर्नुपर्ने कारणले बाटो बन्द गरिएको हो। प्रहरीको विवरणमा उल्लेख भएअनुसार, ’२०८२ कात्तिक १६ गते सोमबार दिनको ११ बजेदेखि सोही दिनको २ बजेसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण आवागमन पूर्ण रूपमा ठप्प छ । आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल गत असोज २५ गते बिहान ५ः३० बजेदेखि बन्द छ। बाढीले क्षति पु¥याएका कारण यहाँ यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग पनि पहिरोको चपेटामा परेका छन्। लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड एकतर्फी सुचारु छ। सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६ नरपानीमा कात्तिक १५ गते बिहान ४ः१५ बजे पहिरो गएको थियो।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र खुलेको छ । बराहताल गाउँपालिकाको वडा नम्बर ७ औलिसेमा कात्तिक १४ गते बिहान ५ः५५ बजे पहिरो खसेको थियो । यी क्षेत्रमा हाल एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन् ।

यसैबीच डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार फसेका छ जना पर्यटकमध्ये दुई जना महिला पर्यटकलाई सोमबार बिहान सिमिकोट ल्याइएको छ ।

उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ। बाँकी चार जना पर्यटकलाई ल्याउन हेलिकप्टर पुनः दानिगढतर्फ उडेको छ । आइतबार नै उद्धार गर्ने तयारी गरिए पनि प्राविधिक कारणले सम्भव हुन सकेको थिएन ।

सुरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको भए पनि उड्ने समयमा प्राविधिक समस्या आएको थियो । त्यसपछि सिम्रिक एयरको हेलिकप्टर पठाउने तयारी गर्दा बेलुका साढे चार बजे पुनः समस्या देखिएको थियो ।

सोमबार बिहानै ६ बजे हेलिकप्टर उडाएर उद्धार कार्य अघि बढाइएको हो । केही दिनदेखिको भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा भारतीय पर्यटकहरू फसेका थिए।

हिमपातमा फस्ने पर्यटकहरूमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top