१७ कार्तिक , काठमाण्डौ ।
नेपाल बार एसोसिएसनद्वारा विवादमा मुछिएका न्यायाधीशबारे अध्ययन गरी निष्कर्षसहित सुझाव दिन पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा समिति गठन ।
न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन बसेको बारका सल्लाहकार तथा पूर्वपदाधिकारीसहितको छलफलले यस्तो निर्णय गर्याे ।

‘तथ्य संकलन र समग्र न्याय क्षेत्रको उन्नयन’ का लागि गठन गरिएको समितिलाई सुझाव पेस गर्न एक महिनाको समय दिइएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको भनाइ ।
श्रेष्ठ संयोजक रहेको समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो र चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन्।
बारका केन्द्रीय सदस्य बाबुराम अर्याल सदस्य सचिव तोकिए ।
न्यायिक सुधार, भ्रष्टाचारविहीन प्रणालीको विकास, सुशासनको प्रत्याभूति तथा विगतमा तयार गरिएका प्रतिवेदन कार्यान्वयन गर्न बारको माग ।
साथै भ्रष्टाचारजन्य कार्यको विरोध गर्ने प्रतिबद्धता ।
बैठकपछि जारी विज्ञप्तिमा निष्पक्ष अनुसन्धान गरी वर्तमान तथा पूर्वपदाधिकारीलाई उनीहरूको ओहदा र दर्जा नहेरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने उल्लेख ।
दोषी देखिए तत्काल मुद्दा चलाउनुपर्ने बारको माग ।



