१७ कार्तिक , काठमाण्डौ ।
के तपाईं अबिबाहित हुनुहुन्छ अनि विदेशी साथी खोजिरहनु भएको छ । यदि त्यस्तो हो भने युरोपेली देश फिनल्यान्डले तपाईको योजना र सपना साकार पारिदिने भएको छ । त्यो पनि पूर्ण निःशुल्क रुपमा । त्यसका लागि तपाईले जाने आउने, खाने बस्ने र घुम्न समेत खर्च गर्नुपर्ने छैन् ।
विश्वकै सबैभन्दा खुसी देशका रूपमा चिनिने फिनल्यान्डले विश्वभरका अविवाहित व्यक्तिहरूलाई एउटा अनौठो ब्लाइन्ड डेटमा सहभागी हुन निमन्त्रणा दिएको छ। सामान्यतया रेस्टुरेन्टमा डिनर गरेर गरिने डेटिङभन्दा फरक यस कार्यक्रममा छनोट भएका सहभागीहरूले फिनल्यान्ड भ्रमण गर्ने, त्यहाँको खानपान संस्कृति बुझ्ने र विशेष रूपमा तयार पारिएका परिकारको स्वाद लिँदै स्थानीय अविवाहित व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर पाउनेछन्।

चार दिनको यो भ्रमणमा सहभागीले फिनल्यान्ड घुम्नुका साथै त्यहाँका स्थानीय सिंगलसँग सामूहिक डिनरमा सहभागी हुने अवसर पनि पाउनेछन्। फिनल्यान्डको पर्यटन प्रवद्र्धन गर्ने संस्था ‘भिजिट फिनल्यान्ड’ ले ‘फिनिस डिनर डेट’ नाम दिएर यो अभियान सुरु गरेको हो। यसका लागि छनोट हुने १६ जनालाई दुई समूहमा विभाजन गरिनेछ।
आठ जनालाई राजधानी हेलसिंकी र बाँकी आठ जनालाई टाम्पेरे तथा लेकल्यान्ड क्षेत्रमा लगिनेछ। सन् २०२७ को फेब्रुअरी ९ देखि १९ सम्म चार दिनको भ्रमण आयोजना हुनेछ। सहभागीले कुन गन्तव्यमा जाने भन्ने कुरा भने छनोट भएपछि मात्रै थाहा पाउनेछन्।
भ्रमणमा सहभागी हुनेको हवाई टिकट, बसाइ, खाना र विभिन्न गतिविधिको खर्च आयोजकले नै बेहोर्नेछ । तर सहभागीले आफ्नो यात्रा बिमा र आवश्यक यात्रा कागजातको व्यवस्था आफैँ गर्नुपर्नेछ । यस अभियानको मुख्य आकर्षण स्थानीय अविबाहितसँगको सामूहिक डिनर हो।
प्रत्येक समूहका आठ जना अन्तर्राष्ट्रिय सहभागीले फिनल्यान्डका दुई स्थानीय सिंगलसँग एउटै टेबलमा बसेर खाना खान पाउनेछन्। यो व्यक्तिगत डेटिङ नभई एक अर्कालाई चिन्ने अवसरका रूपमा आयोजना गरिएको हो। यसबाट प्रेम सम्बन्ध नै स्थापित हुने ग्यारेन्टी भने छैन।
डिनरका लागि फिनल्यान्डका स्थानीय परिकार तयार गरिनेछन्। खानामा स्थानीय सामग्री, माछा, जंगली जनावरको मासु, च्याउ र बेरीलगायतका परिकार समावेश हुनेछन्। हेलसिंकीको समूहका लागि सेफ अडेला किनुनेन र टाम्पेरे तथा लेकल्यान्ड क्षेत्रको समूहका लागि सेफ हेनरी टिकानेनले खाना तयार गर्नेछन्।
यो अभियान फिनल्यान्डमा प्रचलित ‘सिंकुकोरी’ नामको चलनबाट पनि प्रेरित छ। फिनल्यान्डका केही किराना पसलमा सिंगल व्यक्तिले आफू नयाँ मान्छे भेट्न इच्छुक रहेको संकेत दिन गुलाबी रंगको किनमेल टोकरी प्रयोग गर्ने चलन छ।
यस अभियानमा सहभागी हुन १८ वर्ष वा सोभन्दा माथिको र अविवाहित हुनुपर्नेछ। फिनल्यान्डमा बसोबास गर्ने व्यक्ति भने यसमा सहभागी हुन पाउने छैनन्। आवेदन दिन इच्छुकले अंग्रेजी भाषामा एउटा भिडियो बनाउनुपर्नेछ। भिडियोमा ‘डेटिङका लागि डिनर तयार गर्नुपरे के परिकार बनाउनुहुन्छ र किन ?’ भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ ।
त्यसपछि उक्त भिडियो इन्स्टाग्राम, टिकटक वा युट्युबमा ह्यासट्याग फिनिसडिनरडेट प्रयोग गरेर पोस्ट गर्नुपर्नेछ। पोस्टमा भिजिट फिनल्यान्डलाई ट्याग गरी भिडियोको लिंक आवेदन फाराममा राख्नुपर्नेछ। इन्स्टाग्राम र टिकटकको प्रोफाइल लक गरिएको हुनु हुँदैन। तर युट्युबमा भिडियो अनलिस्टेड राख्न सकिनेछ ।
आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर १० हो। छनोट भएका १६ जनाको नाम डिसेम्बर १ मा भिजिट फिनल्यान्डको इन्स्टाग्राम र टिकटकमार्फत सार्वजनिक गरिनेछ। यो कार्यक्रम केवल नयाँ व्यक्तिसँग चिनजान गर्ने अवसर मात्र होइन। सहभागीहरूले फिनल्यान्डको मौलिक खानपान संस्कृति र परिकारको स्वाद चाख्ने अवसरसमेत पाउनेछन्।
हेलसिन्कीमा आयोजना हुने डिनरका लागि क्याफे सावोयकी हेड सेफ अडेल किनुनेनले विशेष मेनु तयार पार्नेछिन्। त्यस्तै, टाम्पेरेमा हुने कार्यक्रममा गोएस्टा रेस्टुरेन्टका सञ्चालक तथा पूर्व फिनिस सेफ अफ द इयर हेनरी टिक्कानेनले तयार पारेका परिकार पस्किनेछन्।
यस कार्यक्रमको अवधारणा फिनल्यान्डमा चर्चित बनेको ‘सिङ्कुकोरी’ अर्थात् ‘सिंगल बास्केट’ ट्रेन्डबाट प्रेरित छ। यस ट्रेन्डअन्तर्गत अविवाहित व्यक्तिहरूले सुपरमार्केटमा किनमेल गर्दा गुलाबी रङको टोकरी प्रयोग गर्छन्। यसले आफू अविवाहित रहेको र नयाँ व्यक्तिसँग चिनजान गर्न इच्छुक रहेको संकेत गर्छ।
फिनल्यान्ड आफ्नो खानपान संस्कृतिलाई विश्वभर चिनाउन चाहन्छ। देशको प्राकृतिक वातावरण र बदलिँदो मौसमसँग प्रत्यक्ष जोडिएको फिनिस खानपान संस्कृति अन्तर्राष्ट्रिय रूपमा अझै धेरै परिचित हुन सकेको छैन। जङ्गली माछा, वन्यजन्तुको मासु, विभिन्न प्रकारका जङ्गली फलफूल तथा च्याउ फिनल्यान्डका परम्परागत परिकारका प्रमुख सामग्री हुन्।
बिजनेस फिनल्यान्डकी अन्तर्राष्ट्रिय मार्केटिङ निर्देशक हेली जिमेनेजका अनुसार फिनिस खानपान त्यहाँको खुसी जीवनशैलीको प्रत्यक्ष अभिव्यक्ति हो। यसले मानिसलाई आफ्नो भूगोल, मौसम र समुदायसँग जोड्ने काम गर्छ। यसरी फिनल्यान्ड पुग्ने सहभागीहरू नयाँ खानाको स्वाद, अविस्मरणीय यात्राको अनुभव र सम्भवतः जीवनको विशेष व्यक्तिसमेत भेटेर फर्किन सक्नेछन्।
तपाईं पनि प्रेम खोज्न फिनल्यान्डको निःशुल्क भ्रमणमा जान चाहनुहुन्छ? यदि यसो हो भने तपाईका लागि पनि त्यो अवसर अबको एक सातापछि खुल्ने छ । फिनल्यान्ड उत्तरी युरोपमा अवस्थित सुन्दर र विकसित देश हो। स्विडेन, नर्वे र रुससँग सीमा जोडिएको यस देशलाई हजारौँ ताल, घना जङ्गल र प्राकृतिक सौन्दर्यको देश पनि भनिन्छ। यसको राजधानी हेलसिन्की हो।
शिक्षा, स्वास्थ्य, सुरक्षा, मानव अधिकार र लैङ्गिक समानताका क्षेत्रमा फिनल्यान्ड विश्वमै उदाहरणीय मानिन्छ। यहाँको जीवनशैली व्यवस्थित, स्वतन्त्र र प्रकृतिमैत्री छ। फिनल्यान्डका युवतीहरूलाई एउटै स्वभाव वा विशेषतामा सीमित गर्न मिल्दैन। तर त्यहाँको सामाजिक संस्कृतिमा महिलाहरूलाई आत्मनिर्भर, शिक्षित र आफ्नो निर्णय आफैँ लिन सक्ने व्यक्तिका रूपमा हेरिन्छ।
अधिकांश महिलाले शिक्षा, रोजगारी र व्यक्तिगत जीवनलाई महत्त्व दिन्छन्। आफ्नो विचार स्पष्ट रूपमा राख्ने, व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने र महिला–पुरुषबीच समानताको अपेक्षा गर्ने सामाजिक वातावरण छ।
त्यहाँ महिलाले आफ्नो करिअर बनाउन, एक्लै यात्रा गर्न, साथीभाइसँग घुम्न र आफ्नो रुचिअनुसार जीवन बिताउन सामाजिक रूपमा स्वतन्त्रता पाउँछन्।फिनल्यान्डमा प्रेम सम्बन्ध र विवाहलाई व्यक्तिगत निर्णयका रूपमा हेरिन्छ।
विवाह गर्नुअघि प्रेम सम्बन्धमा रहनु, डेटिङ गर्नु र सँगै बस्नु सामान्य सामाजिक अभ्यास हो। धेरै जोडी विवाह नगरी पनि लामो समयसम्म सँगै बस्छन्। यस्तो सम्बन्धलाई त्यहाँ ‘अभोलीत्तो’ अर्थात् विवाहबिनाको सहजीवन भनिन्छ।
विवाहलाई अनिवार्य सामाजिक जिम्मेवारीभन्दा पनि दुई व्यक्तिबीचको आपसी सहमति र प्रतिबद्धताका रूपमा लिइन्छ। विवाह गर्न परिवारको अनुमति अनिवार्य हुँदैन।
महिला र पुरुष दुवैले आफ्नो जीवनसाथी आफैँ रोज्न सक्छन्। समलिङ्गी जोडीले समेत कानुनी रूपमा विवाह गर्न पाउँछन्। सन् २०२४ को तथ्याङ्कअनुसार फिनल्यान्डमा महिलाको पहिलो विवाह गर्ने औसत उमेर ३२.८ वर्ष थियो।



