१७ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले २ रनको रोमाञ्चक जित निकालेको छ । अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा आन्द्रे रसेलले विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाएका हुन् ।
टीयू मैदानमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स सात विकेटको क्षतिमा १७२ रनमा रोकियो । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । जितसँगै विराटनगर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

२ खेलमा जित र २ खेलमा हार भोगेको विराटनगर ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको हो । विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो।
एनपीएलको आजको पहिलो खेलमा ४ अर्धशतक प्रहार भए । चौथो विकेटका लागि विशाल सुस्लिङ र सैफ हसनले ७६ रनको साझेदारी गर्दै इनिङ्स उकासे । ३० बलमा २ चौका र ३ छक्का सहयोगमा ४३ रन बनाएका विशाल एंगेलो म्याथुजको बलमा बसिर अहमदको हातबाट क्याच आउट भए।
पाचौँ विकेटका लागि हसन र जिम्मी निसमले ५६ रनको साझेदारी गर्दै जित उन्मुख भएपनि टोलीको हार टार्न सकेनन् । निसम १५ बलमा ३ छक्का सहयोगमा २७ रन बनाउँदा रुपेश सिंहको बलमा क्याच आउट भए। निसमलाई आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो ।
ओपनर मइन अली १० रनमा क्याच आउट भए। तृतराज दास ६ र अनिल शाह शुन्य रनमा नै पेभेलियन फर्के । विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए। म्याथुसले २ तथा रुपेश सिंहले १ विकेट लिए।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो ।
विराटनगरका लागि ३ ब्याटरले अर्धशतक पूरा गरे। एनपीएलको एकै इनिङ्समा ३ ब्याटरले अर्धशतक पूरा गरेको यो पहिलो खेल हो । ४५ बलमा ५ चौका र २ छक्का सहयोगमा इमरान शेखले ५६रनको योगदान दिदै पेभेलियन फर्किए।
रसेलले २९ बलमा २ चौका र ५ छक्का सहयोगमा ५२ रनमा अविजित रहे। शुभम रन्जाने ७ रनमा नटआउट रहे । ४० बलमा ३ चौका र ३ छक्का सहयोगमा ५० रन बनाएका लोकेश बम राहुल यादवको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए ।
एनपीएलमा २ अर्धशतक पूरा गर्ने लोकेश पहिलो खेलाडी हुन्। यसअघि तृतराज दास, सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्दसिंह ऐरि र लोकेश बमले अर्धशतक हानेका थिए । जारी एनपीएलमा अहिलेसम्म आठ अर्धशतक भएको छ ।
जनकपुरका लागि अविशेक तिवारीले २ तथा मोइन अलीले एक विकेट लिए । एनपीएलको दोस्रो खेलमा आजै पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ ।



