१८ कार्तिक , काठमाण्डौ ।
हिजोमात्रै नेपालका लागि नवनियुक्त भारतीय राजदूत नेपाल आइपुगेको, र लगत्तै आज भारतका विदेश सचिव विक्रम मिस्री पनि काठमाडौं आएका छन् । मिस्री आजदेखि दुई दिने नेपालको औपचारिक भ्रमणका लागि आएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलका क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

छलफलले दुई देशबिच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन् ।
दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मिस्रीको आसन्न भ्रमणले दुई देशबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र समग्र द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने छ’ मन्त्रालयले भनेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने कार्यतालिका छ तर यसबारेमा नेपाल र भारतले औपचारिक जानकारी दिएको छैन । तर दुवै पक्षले प्रधानमन्त्री शाहको भारत भ्रमणको आन्तरिक तयारी भने गरिरहेको छ ।
यस्तोमा मिस्रीले प्रधानमन्त्रीसँग भेटवार्तापश्चात द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तोकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।
यसैबीच हिजोमात्रै नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न मंगलबार नेपाल आएका हुन् । राजदूत दलेलालाई नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गरेका थिए । उनी सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् ।
राजदूत दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यसयता उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।
पछिल्लोपटक दलेलाले सन् २०२२ देखि सन् २०२५ सम्म भुटानका लागि भारतको राजदूतका रूपमा कार्य गर्नुभएको थियो ।
राजदूत दलेलाले नयाँ दिल्लीमा पनि महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए । उनले सन् २००९ देखि २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्य गर्दै भारतका दक्षिण एसियाली छिमेकी मुलुकहरू, पूर्वी एसिया तथा हिन्द–प्रशान्त क्षेत्र, खाडी मुलुक, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको सम्बन्ध तथा सहकार्यसम्बन्धी विषय हेरेका थिए ।
राजदूत दलेलाले संयुक्त राज्य अमेरिकामा पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।
नेपालका लागि भारतको राजदूत नियुक्त हुनुअघि उनले भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हालेका थिए ।
उक्त जिम्मेवारीमा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेरेका थिए ।
यसअघिका भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किसकेका छन् ।



