१८ कार्तिक , काठमाण्डौ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उता भारतमा मुरासु चक्रवातका कारण १३ राज्यमा भारी वर्षाको सम्भावना छ र त्याहाँ ९० किलोमिटर प्रतिघण्टासम्म हावा चल्ने अनुमान गरिएको छ । आगामी दिनहरुमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

आगामी चार दिनका लागि कुनै चेतावनी नरहेको महाशाखाले जनाएको छ । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा पनि आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने देशको हिमाली भू–भागमा आंशिक बादली लाग्नेछ भने पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
त्यस्तै, बिहीबार (कार्तिक १९) देशका हिमाली तथा पहाडी भू–भागमा र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ। शुक्रबार (कार्तिक २०) र शनिबार (कार्तिक २१) पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दुवै दिन तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। शनिबार पनि देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
उता भारतका विभिन्न राज्यमा आज देखि मौसममा परिवर्तन देखिने भएको छ। भारतीय मौसम विभाग (आईएमडी) का अनुसार चक्रवाती आँधी ‘मुरासु’ कमजोर भए पनि दक्षिण भारतका केही राज्यमा वर्षा जारी रहने सम्भावना छ। नोभेम्बर ४ मा देशका १३ राज्यमा हल्कादेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस अवधिमा प्रतिघण्टा ९० किलोमिटरसम्मको गतिमा तीव्र हावा चल्न सक्ने तथा मेघगर्जनसहित आँधी आउने चेतावनी दिइएको छ। मौसम विभागले भारी वर्षाका कारण तटीय आन्ध्र प्रदेशका केही क्षेत्रमा क्षति पुग्न सक्ने जनाएको छ। तीव्र हावा र वर्षाले रुखका हाँगा भाँचिनुका साथै केरा, मेवा र सहजनजस्ता साना रुख ढल्न सक्छन्।
बगैँचा तथा खेतमा रहेका बालीमा क्षति पुग्ने र घरसमेत भत्किन सक्ने आशंका गरिएको छ। रेल यातायात र हेलिकोप्टर सेवा पनि प्रभावित हुन सक्ने विभागले जनाएको छ। आन्ध्र प्रदेश, छत्तीसगढ, मध्य प्रदेश, ओडिशा, झारखण्ड, पश्चिम बंगाल, सिक्किम, केरल, कर्नाटक, तेलंगाना, लक्षद्वीप र अन्डमान–निकोबारमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
नोभेम्बर ४ मा दिल्ली–एनसीआरको आकाश मुख्यतया सफा रहनेछ भने बिहान कुहिरो लागेको छ । अधिकतम तापक्रम २७ देखि २९ र न्यूनतम १४ देखि १६ डिग्री सेल्सियस रहने अनुमान छ। नोभेम्बर ५ र ६ मा पनि आकाश सफा रहने तथा तापक्रम सामान्यतया २८ देखि ३० डिग्रीसम्म पुग्न सक्नेछ।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा चक्रवात मुरासुको प्रभाव सामान्य रहेको छ। त्यहाँ वर्षाको सम्भावना नरहेको र मौसम विभागले कुनै चेतावनी जारी नगरेको जनाइएको छ। पछिल्ला दिनमा भएको वर्षापछि तापक्रम घट्दा बिहान र साँझ चिसो महसुस भइरहेको छ।
आगामी सात दिन अधिकतम तापक्रममा ठूलो परिवर्तन नहुने अनुमान छ। यस्तै बिहारका पश्चिमी चम्पारण, पूर्वी चम्पारण, गोपालगञ्ज, सिवान, सारण, वैशाली, सीतामढी, दरभंगा, मधुबनी, सुपौल, अररिया, किशनगञ्ज, पूर्णिया, कटिहारलगायत जिल्लामा मौसम सुक्खा रहनेछ।
केही स्थानमा हल्का कुहिरो लाग्न सक्छ। आगामी तीनदेखि चार दिन तापक्रममा खासै परिवर्तन नहुने अनुमान गरिएको छ। ओडिशामा भने धेरै स्थानमा व्यापक वर्षा हुन सक्ने अनुमान छ। नोभेम्बर ५ देखि ७ सम्म भने केही स्थानमा वर्षा हुन सक्छ।
दक्षिण ओडिशाका मलकानगिरी, कोरापुट, रायगडा, गजपति र गञ्जाम जिल्लामा नोभेम्बर ३ को साँझसम्म तीव्र हावासहित खराब मौसम रहने सम्भावना जनाइएको थियो। त्यसपछि हावाको गति क्रमशः घट्ने अनुमान गरिएको भारतीय मौसम विभागले जनाएको छ ।



