१८ कार्तिक , काठमाण्डौ ।
विराटनगरको एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थीले नेपालगञ्जमा सम्पन्न तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ पदक जितेका छन्।
कोशी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी विद्यालयका दुई विद्यार्थीले दुई रजत र चार कांस्य पदक जित्दै विद्यालय तथा प्रदेशको गौरव बढाएका हुन्। प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत पुरव तिम्सिना र आराध्या पाण्डेले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै पदक हासिल गरेका हुन्।

पुरव तिम्सिनाले १०० मिटर र ५० मिटर ब्रेस्टस्ट्रोक दुवै विधामा दोस्रो स्थान हासिल गर्दै दुई रजत पदक जिते। त्यस्तै, आराध्या पाण्डेले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टाइलमा तेस्रो स्थान हासिल गर्दै चार कांस्य पदक आफ्नो नाममा गरिन्।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालका सातवटै प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनऊलगायत स्थानबाट करिब १५० खेलाडी सहभागी भएका थिए।
विभिन्न उमेर समूह र विधामा भएको प्रतिस्पर्धामा एभरेस्टका विद्यार्थीले देखाएको प्रदर्शनलाई विद्यालयले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीहरूको मेहनत, अनुशासन र दृढ संकल्पका कारण यो सफलता हासिल भएको बताए। उनीहरूको उपलब्धिले विद्यालयलाई गौरवान्वित बनाएको उल्लेख गर्दै उनले यसले विद्यालयको खेलकुद पहिचान थप उँचो बनाउने विश्वास व्यक्त गरे।
पौडी खेलमा विद्यार्थीको सहभागिता र रुचि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। पुरव र आराध्याको सफलताले विद्यालयका अन्य विद्यार्थीलाई पनि खेलकुदमा सक्रिय हुन र पौडी खेलतर्फ आकर्षित हुन प्रेरणा मिल्ने विश्वास प्रिन्सिपल पुरीले व्यक्त गरे।
दुई विद्यार्थीले एउटै प्रतियोगितामा ६ पदक जित्नु एभरेस्ट सेकेण्डरी स्कुलका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यसले अध्ययनसँगै खेलकुदमा पनि विद्यार्थीको प्रतिभा विकास र प्रदर्शन गर्ने अवसर आवश्यक रहेको सन्देश दिएको छ।



