र यो पनि नेपाल नै हो‘।। ५ मिनेटको दूरी पार गर्न २ घण्टा

२२ कात्तिक २०८३, आइतबार
Share this
627shares

२२ कार्तिक , काठमाण्डौ ।  देशले पछिल्लो दशकमा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ। पहाड छिचोल्दै सुरुङमार्ग निर्माण भइरहेका छन्। कयौ सडक मार्गमा सुरुङमार्ग सम्पन्न हुने क्रममा छन् । काठमाडौं देखि तराई केही घण्टामा पुगिने गरी तराई मधेस दु्रत मार्ग फास्ट ट्रयाक सम्पन्न हुने चरणमा छन् । आधुनिक प्रविधि र नेपाली जनशक्तिबाटै नेपाली सेनाले यसलाई तीव्रता दिइरहेको छ । सरकारले रेलमार्गदेखि काठमाडौं पोखराका लागि समेत द्रुतमार्गको योजना बनाइरहेको छ । तर, विकासको यो चमकदार तस्बिरभित्र एउटा यस्तो यथार्थ पनि लुकेको छ, जहाँ आज पनि नागरिकहरू सामान्य आवतजावतका लागि ज्यान नै जोखिममा राख्न बाध्य छन्।

Advertisement

कतै नदी तर्न तुइनको सहारा लिनुपर्ने अवस्था छ भने कतै केही मिनेटमै पार गर्न सकिने दूरी तय गर्न घण्टौँ र दर्जनौँ किलोमिटर घुम्नुपर्ने बाध्यता छ। हामी आज यस्तै विडम्बनापूर्ण अवस्थाको चर्चा गर्दैछौँ, रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँको। विकासका ठूला आयोजना र समृद्धिका नाराबीच रहेको यो गाउँका बासिन्दा वर्षौँदेखि आधारभूत पूर्वाधार र सेवासुविधाको अभाव झेल्दै आएका छन्। गाउँनजिकै बग्ने नदीमा अहिलेसम्म पक्की पुल निर्माण नहुँदा पारिपट्टिको बस्ती पुग्नसमेत स्थानीयले ठूलो सास्ती बेहोर्नुपरेको छ। सामान्य अवस्थामा पाँच मिनेटमै पार गर्न सकिने नदी तर्न स्थानीयले सडकमार्गबाट ५० देखि ५५ किलोमिटरसम्म घुम्नुपर्ने बाध्यता छ। निजी सवारीसाधन वा सार्वजनिक यातायात प्रयोग गर्दा पनि डेढदेखि दुई घण्टासम्मको यात्रा गर्नुपर्ने अवस्था छ। नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडिमा गएपनि डेढदेखि २ घण्टा टाढाबाट घुम्नुपर्ने वाध्यता रहेको छ ।नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ । गाउँमा सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यजस्ता आधारभुत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयको गुनासो छ । स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान, बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताए । उनका अनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था,शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ । स्थानीयकाअनुसार विसं २०३२ मा बाढी पसेपछि एउटा गाउँ खोला वारी र पारी छुट्टाएको हो । गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो स्थानबाट करिव एक किलोमिटर टाढा सार्नुपरेको थियो । त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन ।विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले ५ जनाको मृत्यु भयो भने ठूलो क्षति पु¥याएको स्थानीयले स्मरण गरेका छन् । आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा पीडा भोग्नुपरेको तथा परिवारका सदस्यसमेत गुमाउनुपरेको उहाँहरूको भनाइ छ । विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफूहरूको अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको स्थानीयको गुनासो छ ।

तिनाउ दानव नदीमा एउटा झोलुङ्गे पुल भएपनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ । बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माणका लागि पहल गर्दै आएको बताए । उनका अनुसार नदीमा पक्की पुल निर्माण हुनसके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिव ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । ‘एउटा पक्की पुल र सिधा सडक निर्माण हुन सके यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या समाधान हुन्छ,किसानलाई खेतबारीमा पुग्न, कृषि उपज बजारसम्म पु¥याउन र बिरामीलाई उपचारका लागि लैजान सहज हुन्छ,’ स्थानीय अगुवा देवानले भनेका छन् ।

Advertisement

उनकाअनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ । सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उहाँको भनाइ छ । यस वडामा करिव ६ हजार ५ सय जनसंख्या छ भने पालिकाभर ४३ हजार जनसंख्या छ ।

स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन् । स्थानीयका अनुसार राजनीतिक नेतृत्व विभिन्न पदमा पुगे पनि बरवरियाको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या समाधान हुन सकेको छैन । मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले बरवरियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन् । खासगरि उनीहरूले तिनाउ दानव नदीमा पक्की पुल निर्माण, सडकको स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूको मूल पेशा नै खेतिकिसानी र मजदुरी रहेको छ ।

स्थानीयका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो । पुल निर्माण भए किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पु¥याउन र गाउँका बासिन्दालाई दैनिक कामकाज गर्न सहज हुने स्थानीय नन्दलाल हरिजनको भनाइ छ । वर्षौंदेखि विकासको प्रतीक्षामा रहेको भरवलियाका बासिन्दाले अब आश्वासनभन्दा कामको अपेक्षा गरेका छन् । आधारभुत सेवाको समेत सहज पहुँच नभएको यो गाउँमा सरोकारवालाको ध्यान समयमै जान आवश्यक देखिन्छ । प्रश्न केवल एउटा पुल नबनेको मात्र होइन, प्रश्न हो, विकासको तीव्र गतिमा अघि बढिरहेको देशमा एउटा सामान्य पुलकै अभावमा नागरिकले कहिलेसम्म यस्तो सास्ती खेपिरहने?

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top