माओवादीको अपरहण र यौन हिंसामा परेका थिए नरेश भट्ट

२४ कात्तिक २०८३, मंगलबार
Share this
719shares

२४ कार्तिक , काठमाण्डौ।

Advertisement

अमेरिकामा श्रीमती ममता काफ्लेको शव टुक्रा टुक्रा पारी व्यवस्थापन गरेपनि उनको हत्या आफूले नगरेको भन्दै ठूलो सजायबाट उम्किने प्रयासमा रहेका नरेश भट्टले सहानुभूति बटुल्ने गरी फेरि अर्काे सनसनीपूर्ण बयान दिएका छन् । ममता काफ्लेको बेपत्ता र हत्या अभियोगमा अदालतमा निरन्तर भइरहेको सुनुवाइका क्रममा नरेशले पछिल्लो समय आफूले माओवादीबाट नेपालमा भोगेको पीडा उल्लेख गरेका छन्

अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका भट्टले किशोरावस्थामा नेपालमा माओवादी विद्रोहीबाट अपहरणमा परेको र शारीरिक, यौन तथा मानसिक दुव्र्यवहार भोगेको बयान दिएका हुन्। अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा आफ्नै प्रतिरक्षामा बयान दिने क्रममा उनले यस्तो बताएका हुन्।

Advertisement

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजको ‘४८ आवर्स’ कार्यक्रमले सार्वजनिक गरेको अदालती बयानको अंशअनुसार प्रतिरक्षा पक्षका वकिलले नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा आफूले हिंसा भोगेको हो कि होइन भनेर सोधेका थिए। जवाफमा नरेशले आफूले हिंसा भोगेको स्वीकार गरेका थिए।

त्यसक्रममा उनले आफूलाई शारीरिक, यौन तथा मानसिक रूपमा गम्भीर दुव्र्यवहार गरिएको बताएका थिए। उक्त अवस्था दुईदेखि तीन साताभन्दा बढी चलेको र आफू त्यतिबेला १३–१४ वर्षको रहेको उनको भनाइ थियो। ती घटनाको सम्झना अहिले पनि पीडादायी हुने र त्यसबारे कुरा गर्दा नराम्रो महसुस हुने उनले अदालतमा बताएका थिए।

नरेशले बाल्यकालमा नेपालमा माओवादी विद्रोहीबाट अपहरणमा परेको र दुव्र्यवहार भोगेको बयान दिएको उल्लेख छ। उनका अनुसार ती अनुभवले आफ्नो मानसिक स्वास्थ्यमा लामो समयसम्म प्रभाव पारेका छन्। नरेशको प्रतिरक्षा पक्षले उनको मानसिक अवस्थाबारे अदालतमा मनोवैज्ञानिक डा. ब्यारी रोजेनफेल्डलाई विशेषज्ञ साक्षीका रूपमा प्रस्तुत गरेको थियो।

फोर्डह्याम विश्वविद्यालयका प्राध्यापकसमेत रहेका रोजेनफेल्डले नरेशको मूल्याङ्कनपछि उनमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर पीटीएसडी का लक्षण रहेको बताएका छन्। रोजेनफेल्डले नरेशमा पीटीएसडी रहेको निष्कर्षका लागि आफूहरूसँग बलियो आधार रहेको र परीक्षणका क्रममा उनले लक्षण बढाइचढाइ गरेको संकेत नपाएको बताएका थिए।

नरेशले पत्नी ममताको शव फेला पारेपछि आफू अत्यधिक आत्तिएको, शरीर अनियन्त्रित रूपमा काँपेको र के गरिरहेको छु भन्ने सोच्न नसकेको दाबी गरेका थिए। मनोवैज्ञानिक रोजेनफेल्डले यस्तो अवस्थामा व्यक्तिले स्पष्ट रूपमा सोच्न नसक्नु पीटीएसडीसँग मेल खान सक्ने बताए। तर शव टुक्र्याउने कार्यलाई भने पीटीएसडीले स्वतः व्याख्या नगर्ने र त्यसबेला नरेशले वास्तवमा के सोचिरहेका थिए भन्ने कुरा आफूले निश्चित गर्न नसक्ने उनले स्पष्ट पारे।

अदालतमा नरेशले सन् २०२४ जुलाई ३० को बिहान पत्नी ममतालाई घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला पारेको बताएका थिए। उनका अनुसार ममताको शरीरनजिक बान्ता, औषधि र विषादी रहेको देखेपछि आफूले उनलाई बचाउने प्रयास गरेका थिए। तर सफल नभएपछि आफू आत्तिएको र त्यसपछि शव लुकाउने निर्णय गरेको उनको दाबी छ।

नरेशले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्दै आफूले हत्या नगरेको जिकिर गरेका छन्। यद्यपि, उनले शवलाई आराले काटेर टुक्र्याएको र फोहोर फाल्ने ठाउँमा लगेर व्यवस्थापन गरेको कुरा अदालतमा स्वीकार गरेका छन्। ममता बेपत्ता भएपछि भने उनले प्रहरी र सञ्चारमाध्यमलाई आफूलाई उनको अवस्थाबारे जानकारी नभएको बताएका थिए।

अभियोजन पक्षले नरेशको बयानमाथि प्रश्न उठाउँदै उनले ममता बेपत्ता भएको समयमा दिएका अभिव्यक्ति र अहिले अदालतमा प्रस्तुत गरेको विवरणबीच विरोधाभास रहेको बताएको छ। अभियोजन पक्षका अनुसार ममताको हत्या भएको र त्यसपछि शव लुकाइएको हो। यसअघि अदालतमा प्रस्तुत गरिएको फरेन्सिक प्रमाणमा दम्पतीको सुत्ने कोठाको कार्पेटमा भेटिएको रगत ममताकै भएको सम्भावना अत्यधिक रहेको विज्ञले बताएका थिए।

ममताका दाजु महेश काफ्लेले पनि बहिनीले बेपत्ता हुनुअघि आफूलाई अनुहारमा चोट लागेको तस्बिर पठाएको बयान दिएका थिए। नरेशमाथि पहिलो तहको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग छ। उनले हत्या अभियोग अस्वीकार गरेका छन्। ममताको शव अहिलेसम्म फेला परेको छैन।

पीटीएसडीको निदान हुँदैमा हत्या अभियोगबाट स्वतः उन्मुक्ति मिल्दैन। अदालतमा प्रस्तुत गरिएको मानसिक स्वास्थ्यसम्बन्धी प्रमाणलाई जूरीले अन्य प्रमाण र घटनाक्रमसँगै मूल्याङ्कन गर्नेछ। नोभेम्बर ६ मा प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा भएको सुनुवाइका क्रममा नरेश भट्टले श्रीमती ममताको शव टुक्राटुक्रा पारेको र शवका अवशेष फाल्ने तथा प्रमाण लुकाउने कार्य गरेको स्वीकार गरेका छन्।

तर, उनले ममताको हत्या गरेको भने स्वीकार गरेका छैनन्। नरेश भट्टविरुद्धको पहिलो श्रेणीको हत्या अभियोगमा दोषी ठहर भए आजीवन कारावाससम्मको सजाय हुन सक्छ। तर, दोस्रो श्रेणीको हत्या अभियोगमा दोषी ठहर भए भर्जिनिया कानुनअनुसार पाँचदेखि ४० वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ।

यस प्रकरणमा अर्को महत्वपूर्ण पक्ष के छ भने, नरेशले शवका अवशेष टुक्राटुक्रा पारेको स्वीकार गरे पनि हत्या गरेको स्वीकार गरेका छैनन्। शवका अवशेष लुकाउने र प्रमाण नष्ट गर्ने कार्यसम्बन्धी अभियोग पनि उनीमाथि छन्। भर्जिनिया कानुनअनुसार शवको अपमान तथा अवशेष लुकाउने कार्य गम्भीर प्रकृतिको अपराध मानिन्छ।

यस अभियोगमा दोषी ठहर भए एकदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्छ। त्यस्तै, अदालतले अभियोगअनुसार जरिवाना पनि तोक्न सक्छ। शवका अवशेष लुकाउने तथा प्रमाण नष्ट गर्ने अभियोगमा पनि छुट्टै सजाय हुन सक्नेछ। यसरी नरेश भट्टको अदालती रणनीतिमा एउटा रोचक पक्ष देखिएको छ।

उनले हत्या जस्तो गम्भीर अभियोग स्वीकार गरेका छैनन्, तर शव टुक्राटुक्रा पारेको र त्यसका अवशेष लुकाएको अभियोग भने स्वीकार गरेका छन्। अब अदालतले उनीमाथिका बाँकी अभियोग, उपलब्ध प्रमाण र कानुनी व्यवस्थाका आधारमा अन्तिम फैसला गर्नेछ।

मुद्दाको सुनुवाइको क्रममा अदालतमा प्रस्तुत गरिएको विवरण अनुसार नरेश भट्टमाथि पहिलो डिग्रीको हत्या, शव क्षतविक्षत र शव लुकाएको गम्भीर अभियोग लगाइएको छ । यद्यपि, ममताको शव भने अहिलेसम्म फेला परेको छैन । अदालतको इजलासमा आफ्नो सफाइ पेस गर्दै भट्टले जुलाई २९, २०२४ को राति आफू दम्पतीको बच्चासँग अर्को कोठामा सुतेको बताए ।

जुलाई ३० को बिहान करिब ४ बजे बच्चाको हेरचाहका लागि उठ्दा मुख्य बेडरुमतर्फ जाँदा ममता भुइँमा उत्तानो परेको अवस्थामा भेटिएको उनले बताए । उनका अनुसार ममताको शरीर र वरिपरि वान्ता (भमिट) थियो जसमा केही चक्की (औषधि) हरू तथा नजिकै औषधिको बोतल र कीटनाशक औषधिको खुला केसहरू समेत थिए ।

वान्तामा कीटनाशक रासायनिक गन्ध वा अंश जस्तो देखिएको उनको दाबी छ । ममतालाई जीवित पार्न आफूले ४५ मिनेटदेखि १ घण्टासम्म प्रयास गरे पनि उनले कुनै सास नफेरेको र अचेत रहेको उनले बताए । अदालतमा न्यायाधीश र वकिलहरूले प्रहरी वा अस्पताललाई किन खबर गरिनौ भनी सोधेको प्रश्नमा भट्टले आफू अत्यधिक डराएको प्रतिक्रिया दिए ।

’मलाई साँच्चै डर लाग्यो । किन कल गरिनँ, मलाई थाहा छैन । मलाई लाग्यो कि ममाथि आत्महत्या दुरुत्साहनको आरोप लाग्न सक्छ,’ उनले भने । आफूले जीवनमा ३,५०० घण्टाभन्दा बढी ध्यान गरेको भए पनि त्यो समय किन ९११ मा फोन गर्न सकिनँ भन्ने जवाफ आफूसँग नभएको उनले बताएका छन् । नरेशको बयानपछि उनलाई आजिवन कारावास मात्रै नभई मृत्युदण्ड दिनुपर्ने आवाज उठ्न थालेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top