२७ कार्तिक , काठमाण्डौ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागको मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार बिहान तराईका विभिन्न भूभाग, काठमाडौं उपत्यका तथा केही खोँचमा हुस्सु र कुहिरो लागेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विशेषगरी उच्च हिमाली क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण मौसममा सामान्य परिवर्तन आउन सक्ने देखिएको छ। केही स्थानमा हल्का हिमपात हुँदा उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने सम्भावना पनि रहेको छ। त्यस्तै, शुक्रबार राति पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ।
तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।मौसममा देखिएको परिवर्तनसँगै बिहान र रातिको समयमा चिसो महसुस हुने क्रम बढ्न सक्ने देखिएको छ।
विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम घट्न सक्ने भएकाले त्यहाँ बसोबास गर्ने स्थानीय बासिन्दाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।हिमपातको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।
हिमाली क्षेत्रमा पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न हुनेहरूले पनि मौसमको पूर्वानुमानलाई ध्यान दिन आवश्यक छ।यस्तै, तराईका भूभाग तथा काठमाडौं उपत्यकामा बिहानको समयमा लाग्ने हुस्सु र कुहिरोले सडक यातायात तथा हवाई सेवामा प्रभाव पार्न सक्ने भएकाले यात्रु र चालकलाई सावधानी अपनाउनुपर्ने देखिन्छ।
विशेषगरी बिहानको समयमा दृश्यता कम हुँदा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सवारीसाधन चलाउँदा गति नियन्त्रण गर्न र पर्याप्त दूरी कायम राख्न आवश्यक छ।पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि तत्काल देशभर व्यापक वर्षा हुने सम्भावना भने देखिएको छैन।
अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने र केही हिमाली तथा पहाडी क्षेत्रमा मात्रै हल्का वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ। मौसमको अवस्थाअनुसार आगामी दिनमा पनि विभिन्न भूभागमा बदली हुन सक्ने भएकाले सर्वसाधारणलाई मौसम पूर्वानुमानसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ।
यसैबीच नेपालले जलवायु परिर्वतनको असरका कारण भोग्नु परेको क्षतिका विषयमा परराष्ट्र मन्त्रीले राष्ट्रसंघका महासचिवको ध्यानाकर्षण गराएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीएको अन्ताल्यामा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरसप्रति आभार व्यक्त गरे। संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पु¥याएको योगदानको प्रशंसा गरे।
महासचिव गुटेरसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पु¥याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गरे। भेटमा दुवै पक्षबीच भोटेकोशी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको छ ।
त्यस्तै, क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।



