एनभिडियाका जेन्सेन हुआङले दिए राजीनामा, अर्काे प्रेम पनि खुल्यो

२७ कात्तिक २०८३, शुक्रबार
Share this
727shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले ३३ वर्षपछि पदबाट राजीनामा दिएका छन्। कम्पनीलाई विश्व प्रविधि बजारको अग्रस्थानमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका हुआङको अप्रत्याशित बहिर्गमनले सिलिकन भ्यालीदेखि अमेरिकी राजनीतिक वृत्तसम्म तरंग पैदा गरेको छ।

विभिन्न विवाद र व्यक्तिगत सम्बन्धबारे सार्वजनिक भएका आरोपका बीच हुआङले पद छाडेका हुन्। ‘जासुस’ चिनियाँ महिला एलिस हुआङसँग प्रेम सम्बन्धका कारण अनुसन्धानमा तानिएका जेन्सेन हुआङले यसअघि कम्पनीकै महिला कार्यकारीसँग पनि अफेयर रहेको खुलासाबिच राजीनामा दिएका हुन्।

Advertisement

द वाल स्ट्रिट जर्नलले कम्पनीलाई उद्धृत गर्दै बिहीबार जनाएअनुसार स्थायी उत्तराधिकारी नियुक्त नभएसम्मका लागि वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्ने भएकी छन्। कम्पनीको सञ्चालक समितिले अब अर्को प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको छ र यस प्रक्रियामा कम्पनीभित्र तथा बाहिरका पनि उम्मेदवारलाई विचार गरिनेछ।

न्युयोर्क टाइम्सका अनुसार पहिले कम्पनीमै काम गर्ने पाँच जनाले जेन्सेन हुआङको दोस्रो अफेयर हाल एनभिडियाको हेल्थकेयरकी उपाध्यक्ष रहेकी किम्बर्ली पावेलसँग रहेको जानकारी दिएका हुन्। एलिस हुआङसँगको सम्बन्ध त जेन्सेन हुआङ स्वयंले स्वीकार गरिसकेका छन्।

यस विषयमा उनले पत्नीसँग माफीसमेत मागिसकेका छन्। सन् १९९३ देखि एनभिडियाको नेतृत्व गर्दै आएका हुआङमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी सिंगापुरस्थित कम्पनी मेगास्पिडकी कार्यकारी एलिस हुआङसँग व्यक्तिगत सम्बन्ध रहेको आरोप लागेको थियो।

उक्त विषय सार्वजनिक भएपछि कम्पनीले घटनाको अनुसन्धानका लागि कानुनी फर्मसमेत नियुक्त गरेको थियो। यस विषयमा अमेरिकी सञ्चारमाध्यमले विभिन्न विवरण सार्वजनिक गरे पनि एलिस चीनका लागि जासुसीमा संलग्न रहेको पुष्टि भएको छैन। अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले पनि यसबारे न्याय मन्त्रालय कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन्।

चीनले समेत आफूविरुद्ध लगाइएको जासुसीको आरोपलाई बदनाम गर्ने षड्यन्त्र भन्दै खण्डन गरेको छ।विवाद थप चर्किनुको अर्को कारण एनभिडियाकै एक उच्च अधिकारीसँग हुआङको सम्बन्ध रहेको खबर सार्वजनिक हुनु हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार कम्पनीकी उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि हुआङको व्यक्तिगत सम्बन्ध रहेको आरोप लागेको छ।

पावेलले कम्पनीभित्र प्रत्यक्ष रूपमा हुआङलाई रिपोर्टिङ गर्ने गरेको बताइएको छ। कम्पनीका केही कर्मचारीले उनीहरूबीच अस्वाभाविक निकटता देखिएको बताएका छन्। सुरुमा व्यक्तिगत जीवनसँग जोडिएको सामान्य विवादका रूपमा लिइएको यो विषय कम्पनीकै उच्च अधिकारीसँग सम्बन्ध जोडिएपछि थप गम्भीर बनेको थियो।

घटनाबारे सञ्चारमाध्यममा सार्वजनिक रूपमा नबोल्न व्यवस्थापनले कर्मचारीहरूलाई निर्देशन दिएको विवरणसमेत सार्वजनिक भएका छन्। यसैबीच, हुआङको सम्बन्ध र त्यसले कम्पनीको आन्तरिक व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे अमेरिकी सांसदहरूले चासो व्यक्त गरेका छन्।

सिनेटर एलिजाबेथ वारेन, क्रिस कुन्सलगायत सांसद तथा प्रतिनिधिसभाको विदेश मामिला समितिसँग सम्बन्धित सदस्यहरूले हुआङलाई संसद्मा उपस्थित भएर स्पष्टीकरण दिन माग गरेका छन्। हुआङ स्वेच्छाले उपस्थित नभए संसदीय आदेशमार्फत बोलाउन सकिने चेतावनीसमेत दिइएको बताइएको छ।

सांसदहरूको मुख्य चासो एनभिडियाको संवेदनशील प्रविधि, कम्पनीका गोप्य सूचना र अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै जोखिम उत्पन्न भएको छ कि छैन भन्ने विषयमा केन्द्रित छ। यता एनभिडियाले भने राष्ट्रिय सुरक्षा तथा कम्पनीका गोप्य सूचनासँग कुनै सम्झौता नभएको दाबी गरेको छ।

घटनाबारे स्वतन्त्र अनुसन्धान गर्ने प्रतिबद्धता जनाउँदै कम्पनीले संस्थागत कामकारबाहीलाई निरन्तरता दिने जनाएको छ। हुआङको राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर बजारमा समेत ठूलो असर परेको छ। बिहीबार कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य १४ प्रतिशतसम्म घटेको थियो।

पछि गिरावट केही कम भए पनि सेयर मूल्य ७.३ प्रतिशतले घटेको अवस्थामा कारोबार भएको विवरण सार्वजनिक भएको छ।यो घटनापछि पाँच दिनको अवधिमा एनभिडियाले करिब ५५० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमाएको बताइएको छ।

विश्व प्रविधि बजारमा अत्यन्त प्रभावशाली स्थान बनाएको कम्पनीको नेतृत्वमा आएको परिवर्तनले लगानीकर्तामा अनिश्चितता बढाएको छ।  सन् १९९३ मा स्थापना भएको एनभिडियाले सुरुमा कम्प्युटर गेमिङका लागि ग्राफिक्स चिप उत्पादन गर्दै आएको थियो।

तर पछिल्ला वर्षमा एआई प्रविधिको तीव्र विस्तारसँगै कम्पनीले शक्तिशाली ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) निर्माणमा ठूलो सफलता हासिल ग¥यो। च्याटबट, लार्ज ल्याङ्ग्वेज मोडल तथा अत्याधुनिक एआई प्रणाली सञ्चालनका लागि आवश्यक चिप उत्पादन गर्ने प्रमुख कम्पनीका रूपमा एनभिडिया स्थापित भयो।

एआई प्रविधिको विश्वव्यापी विस्तारसँगै कम्पनीको बजार मूल्य तीव्र रूपमा बढेको थियो। यस सफलतामा हुआङको नेतृत्व र रणनीतिक निर्णयलाई महत्त्वपूर्ण मानिँदै आएको छ। त्यसैले उनको बहिर्गमनलाई सामान्य नेतृत्व परिवर्तनका रूपमा मात्र नभई विश्वव्यापी एआई उद्योगका लागि महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

यसैबीच, अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले हुआङको राजीनामालाई आश्चर्यजनक र ठूलो घटनाका रूपमा टिप्पणी गरेका छन्। उनले एनभिडिया अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका दृष्टिले महत्त्वपूर्ण कम्पनी भएको उल्लेख गर्दै हुआङले कम्पनी र देशका लागि उचित निर्णय गरेको बताएका छन्।

हालका लागि कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हालेकी छन्। उनले कम्पनीको आगामी रणनीति, व्यवस्थापन र नेतृत्व संक्रमणलाई व्यवस्थित गर्न उच्च अधिकारीहरूसँग छलफल अघि बढाएकी छन्। कम्पनीले नयाँ स्थायी सीईओ चयन गर्ने प्रक्रिया कसरी अघि बढाउँछ भन्ने विषयमा पनि लगानीकर्ता र प्रविधि क्षेत्रको चासो बढेको छ।

हुआङको बहिर्गमनपछि एनभिडियाले आफ्नो व्यावसायिक गति कायम राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। व्यक्तिगत विवाद, सम्भावित राष्ट्रिय सुरक्षा चासो र सेयर बजारको दबाबबीच कम्पनीले नयाँ नेतृत्वमा विश्वास पुनःस्थापित गर्नुपर्ने चुनौती सामना गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top