ट्रम्पको निवास बाहिर गोली काण्ड, २ जना मारिए

२७ कात्तिक २०८३, शुक्रबार
Share this
763shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार गोली चलेको छ। वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनामा गोली हान्ने व्यक्तिसमेत २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको जस्तो देखिएको बताएका छन्।

वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले पत्रकार सम्मेलनमा प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको बताए। वासिङ्टन डीसीमा रहेको अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा मात्र गोली चलेको हो। तर यसको ह्वाइट हाउससँग कुनै सम्बन्ध नरहेको बताइएको छ।

Advertisement

अमेरिकी समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले सुरुमा फिटनेस सेन्टरभित्र एक व्यक्तिलाई गोली हानेका थिए। त्यसपछि ती व्यक्तिले जिमबाट बाहिर निस्किएर पार्किङ ग्यारेजमा पनि गोली चलाए । जहाँ एक जनालाई गोली लाग्यो। घटनापछि त्यस क्षेत्रमा भागदौड भएको थियो। मानिसहरू आफ्नो ज्यान बचाउन पसल र घरहरूमा लुकेका थिए । ल

गत्तै प्रहरीले त्यस क्षेत्रलाई घेराबन्दी गरी मानिसहरूलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको थियो। प्रहरीले स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे आसपास गोली चलेको खबर पाएको थियो। गोली लागेर घाइते चार जनालाई अस्पताल लगिएको छ, जसमध्ये एकको अवस्था गम्भीर छ । प्रहरीले गोली चलाउने व्यक्ति एक गोरा पुरुष भएको बताएको छ ।

लामो समयदेखि आफ्नो पेन्टहाउस कन्डोमिनियमको अवस्थालाई लिएर विवादमा रहेका एक व्यक्तिले बिहीबार व्यस्त जिमखानामा भवन व्यवस्थापकलाई गोली हानी हत्या गरेका हुन् । त्यसपछि उनी आफ्नो अपार्टमेन्टमा फर्किएर बाल्कोनीबाट केही मिनेटमै अन्य चार जनालाई गोली हानी घाइते बनाउँदै फरार भएका थिए ।

घटनाले राजधानीको लोकप्रिय एक बस्तीमा त्रास फैलिएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ५५ वर्षीय चिकित्सक म्याट ल्याम्बर्टले आफ्नो अपार्टमेन्टभित्रै आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । अदालतका अभिलेखअनुसार ल्याम्बर्ट आफ्नो सातौँ तलामा रहेको अपार्टमेन्टमा ढुसी र चिस्यानको समस्या भएको भन्दै भवन व्यवस्थापन पक्षसँग लामो समयदेखि कानुनी विवादमा थिए ।

मेयर म्युरियल बाउजरले घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै यसलाई ‘निरर्थक बन्दुक हिंसाको घटना’ भनेकी छन् । प्रहरीको विशेष हतियार तथा रणनीतिक टोली (स्वाट) सहित अन्य सुरक्षाकर्मी भवनको छत र तल सडकमा हतियारसहित परिचालित भएका थिए ।

प्रहरी प्रमुख क्यारोलका अनुसार तीनवटा बन्दुक बोकेका ल्याम्बर्टले आफ्नो अपार्टमेन्टको बाल्कोनीबाट चार जनालाई गोली हानेका थिए । तीमध्ये एक जनाको अवस्था बिहीबार दिउँसोसम्म गम्भीर रहेको थियो । बिहीबार बिहान करिब ८ बजे ह्वाइट हाउसबाट करिब एक माइल (१.६ किलोमिटर) उत्तरमा रहेको लोगान सर्कल क्षेत्रमा गोलीकाण्ड भएको थियो ।

घटनापछि नर्थवेस्टको १५औँ स्ट्रिटको ठूलो क्षेत्र प्रहरीले घेराबन्दी गरेको थियो । प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । घटनास्थल वरपर ख्क्ष्म्ब् फिटनेस सेन्टर, सेन्ट लुक्स एपिस्कोपल चर्च, आवासीय भवन तथा होल फुड्स स्टोर रहेका छन् । सुरक्षाका कारण विद्यालयहरू पनि बन्द गरिएका थिए ।

प्रहरी प्रमुख क्यारोलले घटनाबारे भने, “यो सम्पूर्ण घटना पाँच मिनेटभन्दा कम समयमा भएको थियो । उक्त क्षेत्रमा रहेका मानिसहरूले गोली चलेको आवाज सुन्दा वा जिमभित्र रहेका व्यक्तिहरूले कस्तो अनुभव गरे होलान् भन्ने म कल्पना मात्र गर्न सक्छु ।” भवनको भुइँतलामा रहेको जिममा मारिएका व्यक्तिको पहिचान ४६ वर्षीय भवन व्यवस्थापक जेम्स स्टुअर्टका रूपमा गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख क्यारोलका अनुसार घटनाका संदिग्ध र भवन व्यवस्थापन पक्षबीच मर्मतसम्भार, ढुसी तथा अन्य समस्यालाई लिएर लामो समयदेखि विवाद चलिरहेको थियो । प्रारम्भिक अनुसन्धानमा गोलीकाण्डको सम्बन्ध पनि यही विवादसँग रहेको विश्वास गरिएको छ ।

अदालतका अभिलेखअनुसार ल्याम्बर्टले सन् २०२४ देखि आफ्नो पेन्टहाउसमा ढुसी, चिस्यान र पानी चुहिने समस्याका कारण बसोबासको आनन्द लिन नसकेको भन्दै मुद्दा दायर गरेका थिए । भवनको बाहिरी भागमा एक ठेकेदारले काम गरेपछि समस्या सुरु भएको उनको दाबी थियो ।

अदालतमा मुद्दा अझै विचाराधीन रहेको थियो । ल्याम्बर्टले आफ्नो अपार्टमेन्टको समस्याबारे सामाजिक सञ्जाल एक्समा तस्बिर र इन्जिनियरिङ प्रतिवेदनसमेत सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनलाई उनले अनलाइनमा ‘मेरो घोषणापत्र’ भनेर उल्लेख गरेका थिए ।

पत्रकारहरूसँग कुरा गर्दै ल्याम्बर्टका वकिल जोएल ब्रेथवेटले घटनाको हिंसात्मक स्वरूपबाट आफू अत्यन्तै स्तब्ध र दुःखी भएको बताए । उनले अपार्टमेन्टको अवस्था ‘युद्धभूमिजस्तै’ रहेको उल्लेख गर्दै ल्याम्बर्टले मुद्दा लड्न तीन लाख अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको जानकारी दिए ।

गोलीकाण्डको कारणबारे उनले भने, “यस घटनाको कुनै अर्थ निकाल्न सकिन्छ जस्तो मलाई लाग्दैन । म तपाईंहरूलाई यसबाट बाहिर निस्कने कुनै सन्तोषजनक जवाफ दिन सक्दिनँ ।” घटनाका बेला जिममा रहेका जेम्स स्पेलम्यानका अनुसार गोली चल्न सुरु हुँदा त्यहाँ करिब ५० जना मानिस थिए ।

उनले भने, “केही सेकेन्डमै एक जना व्यक्ति भुइँमा ढले र उनको वरिपरि रगतको पोखरी बन्यो । जिममा रहेका एक सदस्य उनलाई सहयोग गर्न दौडिए । तर उनलाई तत्कालै गोली लागेर मृत्यु भइसकेको थियो । उनको घाँटीमा गोली लागेको थियो ।” जिमको कार्डियो क्षेत्रमा रहेका एन्थोनी मिरोनेसले ठूलो आवाज सुनेपछि सुरुमा भित्ताबाट केही खसेको ठानेका थिए ।

उनका अनुसार एक व्यक्तिले घाइतेलाई सहयोग गर्ने प्रयास गरिरहेका थिए । त्यसपछि आगलागीको संकेत दिने साइरन बज्यो र धेरै मानिस बाहिर भागे । अर्का प्रत्यक्षदर्शी रायन डुबिकी घटनाको समयमा नजिकैको आफ्नो अपार्टमेन्टमा थिए । उनले करिब पाँचवटा ठूलो आवाज सुनेको बताए ।

उनले भने, “ती आवाजहरूबीच केही समयको अन्तर थियो, त्यसैले मैले सुरुमा निर्माण कार्य भइरहेको ठानेँ ।” केही समयपछि भने “सबैतिर प्रहरी नै प्रहरी देखिए ।” प्रहरी प्रमुख क्यारोलका अनुसार आफ्नो अपार्टमेन्टभित्र रहेका बेला ल्याम्बर्टले फायरप्लेसमा जोडिएको प्राकृतिक ग्यासको पाइपसमेत काटेका थिए र आगो लगाएका थिए ।

त्यसपछि स्वचालित पानी छर्कने प्रणाली सञ्चालनमा आएको थियो, जसले आगो फैलिनबाट रोकेको थियो । ‘वासिङ्टन सन’ ले पत्रकार माइकल ब्राइस–सैडलरको एउटा अनलाइन समाचार प्रकाशित गरेको थियो । उनले गत वर्ष ल्याम्बर्टसँग उनको अपार्टमेन्टको समस्याबारे अन्तर्वार्ता गरेका थिए ।

ब्राइस–सैडलरका अनुसार ल्याम्बर्टले भवनका अर्का एक बासिन्दालाई जिममा भवन व्यवस्थापक स्टुअर्टको बिहानको नियमित आउने समयबारे आफूलाई थाहा भएको बताएका थिए । ल्याम्बर्टले भनेका थिए, “यदि तपाईं भवन व्यवस्थापकलाई भेट्न चाहनुहुन्छ भने उनी बिहान करिब ८ बजे जिममा आउँछन् ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top