२७ कार्तिक , काठमाण्डौ । काठमाडौं गोर्खाजमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँलाई सात रनले हराउँदै सुदूरपश्चिम अंक तालिकामा १० अंक जोड्दै प्लेअफ पुगेको हो। एनपीएलमा लगातार प्लेअफ पुग्ने सुदूरपश्चिम एक्लो टोली हो। लिग चरणको सातमध्ये पाँच खेलम जित र दुई खेलमा हार भोग्दै १० अंकमा तालिकाको शीर्षस्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो। सुदूरपश्चिमसँगको हारले काठमाडौले भने प्लेअफको टुंगो लगाउन अर्को खेलसम्म पर्खनुपर्ने भएको छ। काठमाडौले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। काठमाडौले चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंकमा तालिकाको तेस्रो स्थानमा छ। काठमाडौंलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो।
आठ रन मात्र बनाउँदा काठमाडौं हार भोग्न बाध्य भयो। सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि रासिद खानले सर्वाधिक ३५ रनको योगदान दिए। दुसान हेमान्थाले २१ रन बनाउँदा रनआउट भए। त्यस्तै, साम हेजलेट ११ रनमा नै रनआउट भए। सन्तोष यादव १० र आदिल आलम आठ रन थप्दै आउट भए। सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा हेमन्त धामी, स्कट कुग्लेजिन र फाबियन एलेनले समान एक विकेट लिए।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनको योगफल तयार पारेको थियो। २.३ ओभरमा नै आठ रन बनाउँदा चार विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमका लागि आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले पाचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। आरिफ १६ रन बनाउँदा रन आउट भए। छैटौं विकेटका लागि कप्तान दिपेन्द्र र थरिन्दु रत्नायकेले ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको थियो। ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ६० रन बनाएका दिपेन्द्र जहानदाद खानको बलमा भीम सार्कीको हातबाट क्याच आउट भए। संकटबीच पनि दिपेन्द्रले कप्तानी पारी खेल्दै अर्धशतक पूरा गरे। उनले ४६ बलमा चार चौका र दुई छक्का सहयोगमा अर्धशतक प्रहार गरे। थरिन्दु रत्नायके २६ र फबियन एलेन दुई रनमा अविजित रहे। ओपनर स्कट कुग्लेजिन ६ र विनोद भण्डारी एक रनमा आउट भए। ब्रान्डोन म्याक मुलेन र इशान पाण्डेले खाता खोल्न पनि सकेनन्। काठमाडौंका लागि जहानदाद खानले तीन र सन्तोष यादवले दुई विकेट लिए।
लिग चरणको दुई खेलमा जित, दुई खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको पाचौँ स्थानमा छ। चितवनले लिग चरणमा आजसहित दुई खेल खेल्न बाँकी छ। चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। दुई खेलमा जित र चार खेलमा हार भोगेको जनकपुर चार अंकसहित तालिकाको छैटौँ स्थानमा छ। जनकपुरले आजको खेलमा हार भोगे प्लेअफ दौडबाट बाहिरिनेछ। जित हात पारे अन्य खेलको नतिजा कुर्नुपर्नेछ। लुम्बिनी भने प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको तेस्रो सिजनमा प्लेअफमा प्रवेश गरेको हो । एक खेल अगावै प्लेअफमा स्थान बनाएको लुम्बिनी नौ अंकका साथ दोस्रो स्थानमा छ । टोलीले ६ खेल खेल्दा चार जित र एक हार व्यहो¥यो । लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । हारसँगै कर्णालीको प्लेअफ सम्भावना कठिन बनेको छ । टोलीले प्लेअफका निम्ति अन्तिम खेल कुर्नुपर्ने भएको छ । कर्णालीले ६ खेल खेल्दा दुई जित र चार हार व्यहोर्दै चार अंकमा बनाएको छ । अब टोलीको प्लेअफ छनोट आइतबार (कात्तिक २९) हुने चितवन राइनोजविरुद्धको अन्तिम खेलबाट हुनेछ ।

उता पोखरा एभेन्जर्स बिहीबार विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएसँगै प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ । र जारी सिजनमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । विराटनगरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १८ औँ ओभरमा १३२ रन बनाउँदा अलआउट भएको थियो । जवाफमा विराटनगरले ६ विकेट गुमाएर अन्तिम ओभरमा लक्ष्य पूरा ग¥यो । जितले विराटनगर किंग्सको प्लेअफ सम्भावना जीवित राखेको छ । पोखराले ६ खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ र अंकतालिकामा २ अंकका साथ अन्तिम स्थानमा छ । अब यहाँबाट पोखरा अघिल्लो चरणमा पुग्न सक्दैन । र लगातार तेस्रो सिजन पोखरा प्लेअफमा पुग्न असफल हुन्छ । ८ फ्रेन्चाइज टिममध्ये पोखरा मात्र प्लेअफ पुग्न नसकेको एक मात्र असफल टिम बनेको छ । चौथो स्थानमा रहेको विराटनगरलाई प्लेअफमा पुग्न भोलि प्लेअफमा पुगिसकेको लुम्बिनीलाई हराउनु पर्नेछ । विराटनगर अहिले ६ खेलमा ३ जित र ३ हारसहित ६ अंकका साथ चौथो स्थानमा छ।



