एनपीएलः आज लुम्बिनी भर्सेस विराटनगर, किंग्सलाई प्लेअफको दबाब

२८ कात्तिक २०८३, शनिबार
Share this
698shares

२८ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ । लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको टोली हो ।

त्यस्तै विराटनगरका लागि प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेलमा जीत महत्वपूर्ण छ । लुम्बिनी ६ खेलमा ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । विराटनगर समान ६ खेलमा ६ अंकसहित पाँचौ स्थानमा छ । हिजो भएका खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

Advertisement

अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । पहिलो संस्करणको च्याम्पियन जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स प्ले अफ होडबाट बाहिरिएका छन् । सुदूरपश्चिमले हिजो भएको खेलमा काठमाण्डौ गोर्खाजलाई ७ रनले पराजित गरी लगातार तेस्रोपटक प्ले अफमा पुगेको छ ।

सुदूरपश्चिम ७ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एनपीएल तेस्रो संस्करणमा भैरहेका पछिल्ला खेलमा रन बनाउन भने मुश्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन् ।

हिजो भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले पिचबारे प्रश्न उठाएको छ । यसबीच न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले पनि एनपीएलको पिचबारे असन्तुष्टि जनाएका छन् । नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका छन् ।

उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था उचित नभएको टिप्पणी गरेका छन् । ‘म नेपाल र एनपीएललाई निकै माया गर्छु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ । पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन,’ उनले लेखेका छन् ।

यसअघि काठमान्डु गोर्खाजका टेक्निकल डिरेक्टर शरद भेषावकर, विराटनगर किङ्सका प्रशिक्षक धम्मिका प्रसाद, लुम्बिनी लायन्सका कन्सलटेन्ट प्रशिक्षक शक्ति गौचनले पनि पिच च्यालेन्जिङ रहेको प्रतिक्रिया दिएका छन् । यस्तै चितवनका ब्याटर डाविड मलानले पनि जनकपुरविरुद्धको खेलपछि पिच निकै चुनौतीपूर्ण रहेको बताएका थिए ।

मलानले पिचको अवस्थाबारे एउटा महत्त्वपूर्ण पक्ष पनि उठाए। विश्वका धेरै ठाउँमा टी–२० क्रिकेटका लागि ब्याटरले रन बनाउन सक्ने पिच तयार गरिने भए पनि एनपीएलमा अहिले बलरलाई बढी साथ मिलिरहेको उनको बुझाइ छ। जनकपुरका प्रशिक्षक शिवनराइन चन्द्रपलले पनि ब्याटिङका लागि विकेट सहज नरहेको बताएका छन् ।

एनपीएलमा पछिल्ला खेलहरूमा कम योगफल बन्ने क्रम बढेको छ । शुक्रबार जनकपुर बोल्ट्स ८८ रनमै समेटिएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजविरुद्ध १२५ रनको लक्ष्य रक्षा गरेको थियो । चितवन विरुद्ध जिमी नीशम ७ बल खेलेर शून्यमै आउट भएका थिए ।

यसबीच अब आज अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । लुम्बिनीले ६ खेल खेलेकोमा ४ मा जित र एकमा मात्र हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जेर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । वर्षाका कारण चितवन राइनोजसँगको खेल भने रद्द हुँदा दुवै टिमले बराबरी अंक बाँडेको थियो ।

यता प्लेअफमा पुग्ने बलियो सम्भावनाका साथ विराटनगर मैदानमा उत्रने छ । उसले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको थियो । विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

काठमान्डु गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग भने विराटनगर पराजित भएको थियो । अब आजको खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ । विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ ।

त्यसैले शनिबार लुम्बिनी र विराटनगरबीच खेलको नतिजाको पर्खाइमा चितवन पनि हुनेछ । लुम्बिनी र विराटनगरले लिगको अन्तिम खेल खेल्दैछन् । लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगिसकेको छ । प्लेअफमा पुग्न विराटनगरसँग यो खेल जित्नुको विकल्प हुने छैन ।

लुम्बिनी भने यो खेल जित्दै पहिलो क्वालिफायर खेल्न चाहन्छ । त्यसअघि जनकपुरको हारले कर्णालीको भने एक खेलअगावै प्लेअफ यात्रा समाप्त हुन पुग्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top