उदाउँदो सूर्यलाई अघ्र्य दिइदै छठ समापन

३० कात्तिक २०८३, सोमबार
Share this
756shares

३० कार्तिक , काठमाण्डौ ।      आस्था, श्रद्धा र भक्तिको महान पर्व छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो । उदाउँदो सूर्यलाई अघ्र्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको थियो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो ।

Advertisement

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । सो समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त भएको भन्ने चर्चा छ । छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो ब्रत बस्न सक्दैन उसले अर्को ब्रत गर्नेबाट ब्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।हिजो राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्यसमेत दिएका छन् ।

उता प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् । छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् । अर्यालले छठपर्वको संस्कृतिलाई निरन्तर जोगाउदै यो संस्कृति सभ्यातालाई संसार भरि पुर्याउनु पर्ने धारण व्यक्त गरेका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।

Advertisement

लामिछाने छठ पर्वअन्तर्गत हिजो नै खरना पूजामा सहभागी भएका थिए । यस्तै काग्रेस सभापति गगन थापा छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका छन् । थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्र छठ मनाइने गरेको उनले बताए । दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए । प्रधानमन्त्री बालेन शाह भने आज छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए । शुभकामना सन्देशमा उनले भनेका छन् ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् । भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् ।’ उनले अगाडि लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top