छठका घाटमा नेता,आस्था कि चुनावी रणनीति ? कुन नेताले कहाँ छठ मनाए ? (भिडिओसहित)

३० कात्तिक २०८३, सोमबार
Share this
674shares

३० कार्तिक , काठमाण्डौ ।  आज छठ पर्व समापन भएको छ । छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै चारदिने धार्मिक अनुष्ठान विधिवत् रूपमा सम्पन्न भएको छ। सूर्य उपासना, आस्था, निष्ठा र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक मानिने छठ पछिल्लो समय मधेसको सांस्कृतिक पहिचानमा मात्र सीमित छैन, राष्ट्रिय पर्वकै रूपमा विस्तार हुँदै गएको छ। काठमाडौं उपत्यकादेखि देशका विभिन्न सहरसम्म छठका घाटमा देखिएको उत्साहले यसको व्यापकता झल्काएको छ। तर यसपटक छठका घाटमा धार्मिक आस्थासँगै राजनीतिक उपस्थिति र चुनावी सन्देशले पनि चर्चा पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलदेखि उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डीपी अर्यालसम्म छठ पूजामा सहभागी भए।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनकपुरको गंगासागर घाट पुगे भने कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेर छठ मनाए। दुवै नेताको मधेस केन्द्रित गतिविधि र स्थानीय राजनीतिक कार्यक्रममा सहभागिताले छठलाई धार्मिक पर्वसँगै राजनीतिक संवादको अवसरका रूपमा समेत प्रस्तुत गरेको छ। विशेषगरी आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा रास्वपा र कांग्रेसका शीर्ष नेताहरूको मधेस उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। रवि लामिछाने जनकपुर पुगेर छठको खरना र मुख्य पूजामा सहभागी भए भने गगन थापाले सर्लाहीमा स्थानीयसँग भेटघाट गर्दै पार्टीको आगामी कार्यक्रम र निर्वाचन तयारीबारे पनि धारणा राखे। यसले मधेसमा राजनीतिक पहुँच विस्तार गर्ने दुवै दलको प्रयासलाई चर्चामा ल्याएको छ।विगतमा नै राष्ट्रपतिको काठमाडौंमा छठमा सहभागीता रहदै आएको थियो । जुन यसवर्षपनि निरन्तरता पायो । यसपटक प्रधानमन्त्री बालेन शाह भने सार्वजनिक छठ पूजास्थलमा सहभागी भएनन् । उनले सामाजिक संजालबाटै शुभकामना सन्देश जारी गरे ।तर राष्ट्रपतिसहित सभामुखदेखि सत्तारुढ दलका सभापति र विपक्षी दलका सभापति समेत छठ पूजामा टाउकोमा ढाकी बोकेर पूजामा सहभागी भएर अस्ताउदो सूर्यलाई अध्र्य दिइएको देखियो । शीर्ष नेताहरुले छठप्रति अधिक आस्थाका साथ महत्व दिएकोमा यसलाई तराई मधेसमा उत्साहका साथ हेरिएको छ । तर कतिपय राजनीतिक विश्लेषकहरुले भने यसलाई आस्थासँगै चुनाव लक्षित रणनीतिमा रुपमा समेत ब्याख्या गरेका छन् । खास गरी रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा छठ पूजा गर्न जनकपुर र सर्लाही पुग्दा राजनीतिक कार्यक्रममा समेत सहभागी भएका छन् । उनीहरुले आसन्न स्थानीय तहको निर्वाचनलाई मधेसलाई केन्द्रमा राखेका छन् । यसमा नेकपा एमाले र नेकपा भने गयल देखिएको छ । एमाले र नेकपाका नेतृत्व छठ पूर्जास्थलमा देखिएका छैनन् । एमाले भने अहिले मंसिर २ र ३ को राष्ट्रिय भेलालगत्तै नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधि भेला गर्ने तयारीमा जुटेको छ। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेला ४ गते आयोजना गरिने भएको हो । जनप्रतिनिधि भेलापछि ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ । स्थानीय तहको निर्वाचनअघि ती तहका जनप्रतिनिधिसँग पार्टी नेतृत्वले आवश्यक परामर्श गर्नुपर्ने कारण भेला बोलाइएको उनले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्यसमेत दिएका छन् । गौरीघाट पुग्दा राष्ट्रपति पौडेललाई सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वका अवसरमा बल्खुस्थित बागमती नदी किनारमा पुगेर पूजाआजा गरेका छन् । बल्खु तराई समाजद्वारा आयोजित धार्मिक कार्यक्रममा उपराष्ट्रपति यादव सहभागी भएर अस्ताउँदो सूर्यलाई विधिविधानपूर्वक पूजा गरेका हुन् । उनले छठ पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास प्रकट गरे । पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय पर्वका रूपमा स्थापित छठले सबै नेपालीलाई एकताबद्ध बनाउन प्रेरणा प्रदान गर्ने बताउँदै यसको सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्नुपर्ने विचार व्यक्त गरे ।

Advertisement

उता प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल भने छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् । छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् । श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अर्यालले छठपर्वको संस्कृतिलाई निरन्तर जोगाउदै यो संस्कृति सभ्यातालाई संसार भरि पुर्याउनु पर्ने धारण व्यक्त गरेका छन् । उनले हिमाल, पहाड र तराईमा विद्यमान विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताए । वीरगञ्जको घडिअर्वा पुगेका सभामुख अर्यालसँगै रास्वपाका पर्सा जिल्ला सभापति तथा प्रतिनिधि सभा सांसद हरि प्रसाद पन्त, पर्सा क्षेत्र नम्बर २ का सांसद शुसिल साहकानु लगायत बारा पर्साका सुरक्षा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् । लामिछाने छठ पर्वअन्तर्गत हिजो नै खरना पूजामा सहभागी भएका थिए । छठ पर्वको महत्त्वपूर्ण विधिका रूपमा रहेको खरना पूजामा सभापति लामिछाने सहभागी भएका हुन् ।रविले मधेसका जनताले दिएको जनमतअनुसार परिवर्तन महसुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने बताए । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताए। ‘जति बोल्ने हो, त्यति नै गर्नुपर्छ। जनतालाई झुक्याएर भोट माग्ने राजनीति हामी गर्दैनौँ,’ उनले भने। उनले अहिले प्राप्त अवसर व्यक्तिगत राजनीतिक स्वार्थका लागि नभई मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि भएको बताए। जनताको मतको सम्मान नगर्ने र बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले समर्थन फिर्ता लिने उनको भनाइ थियो। लामिछानेले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना र सुझावलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न पनि आग्रह गरे। आफ्नै सरकारका काममा कमजोरी देखिए आलोचना र सुझाव दिनु आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनले बताए। उनले सरकारले प्रतिबद्धताअनुसार काम गरिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरे। छठ पर्वको सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राखेर सरकारले सार्वजनिक बिदा दिएको पनि उनले बताए।

यस्तै काग्रेस सभापति गगन थापा छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका छन् । थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्र छठ मनाइने गरेको उनले बताए । दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए । थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही आउने र क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि जनाए । पार्टीको अधिवेशन प्रक्रिया र आगामी स्थानीय निर्वाचनको तयारीबारे बोल्दै उनले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने सोच रहेको बताए । थापाका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न मुख्य राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति तय गर्ने विषयमा थप स्पष्ट हुने उनले बताए ।

उता आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनले छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका हुन्। वैज्ञानिक महत्त्व बोकेको छठ पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ। चार दिनसम्म मनाइने छठ पर्वमा सरकारले दुई दिन मात्रै सार्वजनिक बिदा दिएकोप्रति पनि साहले असन्तुष्टि जनाएका छन्। चारै दिन सार्वजनिक बिदा दिनुपर्ने उनको माग छ। छठ पर्व मधेशमा मात्रै नभई देशभर र विदेशमा समेत मनाइने उल्लेख गर्दै उनले यसलाई संकुचित नभई विश्वव्यापी बनाउनुपर्ने बताएका छन्। छठको अवसरमा शुभकामना दिँदै साहले पर्वले समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

छठमा नेताहरूको सहभागितालाई केवल चुनावी रणनीतिका रूपमा मात्र व्याख्या गर्न मिल्दैन। धार्मिक आस्था, सांस्कृतिक सम्मान र जनतासँगको सम्बन्ध विस्तारका पक्ष पनि यसमा जोडिएका छन्। तर पर्वका अवसरमा नेताहरूले रोजेका स्थान, उनीहरूको राजनीतिक गतिविधि र मधेसप्रतिको प्राथमिकताले भने स्थानीय चुनावको मधेस मिसनलाई संकेत गरेको छ । निर्वाचन आयोगले प्रधानमन्त्रीको मंसिर ६ गतेदेखिको हुने तयारी गरिएको भारत भ्रमण अघि नै चुनावको मिति तय गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top