पीडाबाट प्रेरणासम्मः आनी छोइङले गरिन् उपाध्यक्षको पदभार ग्रहण

२ मंसिर २०८३, बुधबार
Share this
673shares

२ मंसिर, काठमाण्डौ ।     आँखामा बुद्धशान्तिको बास, वाणीमा अमृत घोलेर दिव्य सन्देश बाँड्ने नानी । स्नेहले भरिएको हृदय, तेजिलो ललाट र कान्तिले धपक्क बलेको मुहार। रङ्गीन पहिरनभन्दा सादगीलाई आफ्नो शृङ्गार बनाउने उनी सेवा र संगीतलाई जीवनको अभिन्न हिस्सा मान्छिन् । कागजको फूलबाट समेत सुगन्ध लिन सक्ने उनको स्वभाव साँच्चै अनुपम छ ।उनी हुन्, बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा । उनको परिचय यतिमा मात्रै सिमित छैन् । उनको परिचयमा अब लुम्बिनी विकास कोषको उपाध्यक्ष पनि जोडिएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास तथा संरक्षण गर्ने संस्थाको नेतृत्वमा आनी पुगेकी छन् । उनले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणका लागि आज भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुगेकी आनीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । आनीको स्वागतका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका उद्योगी व्यापारी तथा विकास कोषका अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

आनीले लुम्बिनीमा दर्शन र ध्यानपछि पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहणसँगै आनीले आफू एक्लैले केही गर्न नसक्ने भन्दै सबै टिम मिलेर लुम्बिनीमा सेवा गर्ने बताइन् । कोषमा पहिलो पटक ४ जना भिक्षुणीहरु सदस्यका रुपमा नियुक्त भएको भन्दै उनले खुशी ब्यक्त गरिन् । लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनीले आफू हृदयदेखि नै सेवामा समर्पित रहेको भन्दै सबैसँग सहयोगको अपेक्षा राखेकी छन् ।बिहान उज्यालो भएदेखि साँझ नढलेसम्म घरमा हिंसा र त्रासको वातावरण थियो। आमा, आफू र आफ्ना दाजुभाइ तथा दिदीबहिनीसमेत शारीरिक र मानसिक यातना सहन बाध्य थिए। यसरी उनको बाल्यकाल सुखदभन्दा बढी पीडादायी रह्यो। तर दुःखले उनलाई पीडा मात्र दिएन, संघर्ष गर्न र अगाडि बढ्न पनि सिकायो । अभाव, पीडा र त्रासमा बितेको उनको कलिलो मन क्रमशः निडर र साहसी बन्दै गयो। तिनै आनी आज विश्वका अग्रदुत भगवान बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्षमा पदासीन भएकी छन् ।आनीको विगत र संघर्ष कुनै चलचित्रको कथा भन्दा फरक छैन् । चर्चित हिन्दी चलचित्रको शब्द सापटी लिने हो भने उनी ’दबङ्ग’ बनिन्। बुवाको कुटाइबाट उम्केर उनी घरमा आमालाई सघाउँथिन्। समय निकालेर साथीभाइसँग कहिले गुच्चा त कहिले डन्डीबियो पनि खेल्थिन्।कहिलेकाहीँ अरूको घरमा गएर भाइको टेलिभिजनमा देखिने ’ब्रुस ली’ उनको मनपर्ने पात्र थिए। ब्रुस लीका प्रशंसक भाइका कारण साथीभाइले उनलाई ब्रुस लीकी बहिनीसमेत भन्ने गर्थे। लुकीछिपी सिनेमा घरमा गएर हिन्दी चलचित्र हेर्न पनि उनी भ्याउँथिन्। चलचित्रप्रतिको उनको मोह अहिले पनि घटेको छैन। विभिन्न अन्तर्वार्तामा उनले आफ्नो बाल्यकालको यो रुचिबारे बताउने गरेकी छन्। बाल्यकालदेखि नै घरेलु हिंसाबाट आजित भएपछि आमाको वचनलाई शिरोपर गर्दै १७ वर्षकै उमेरमा उनी काठमाडौंको फर्पिङस्थित नागी गुम्बा पुगिन्। अहिले यही गुम्बा उनको स्थायी बासस्थान बनेको छ।चञ्चले मनलाई ध्यान र आध्यात्मिक जीवनमा लगाउन सजिलो थिएन। तर परिवारमा भोग्नुपरेको हिंसा र पीडाबाट टाढा रहेर शान्त जीवन बिताउने अवसर पाएपछि उनी गुम्बाको वातावरणमा रमाउन थालिन्। यहीँबाट उनको आनी बन्ने यात्रा पनि सुरु भयो।गुम्बामा रहँदा बौद्ध धर्मगुरुहरूले उनलाई संगीतको तालिम दिए। उनको स्वर बौद्ध भजनमा निखारिँदै गयो। मन्त्र उच्चारण र गुम्बाको शान्त वातावरणमा गुञ्जिने उनको सुमधुर आवाज बिस्तारै गुम्बाको सीमाभन्दा बाहिर पनि सुनिन थाल्यो।सन् १९९४ मा अंग्रेजी गितारवादक स्टिभ टिबेट्स गुम्बा अवलोकनका लागि पुगेका थिए। आनी छोइङको स्वरबाट उनी यति प्रभावित भए कि त्यही क्रममा दुईवटा एल्बम रेकर्ड गराए। यसरी सुरु भएको उनको सांगीतिक यात्राले पछि अन्तर्राष्ट्रिय पहिचान बनाउँदै गयो।नेपाली, तिब्बती, अंग्रेजीलगायत विभिन्न भाषामा उनका थुप्रै गीत सार्वजनिक भए। आज उनी विश्वका प्रतिष्ठित गायिका तथा संगीतकर्मीमाझ छुट्टै पहिचान बनाउन सफल भएकी छन्।

बलिउडका प्रसिद्ध गीतकार तथा कवि गुलजारले आफूलाई मन परेका ६४ जना व्यक्तित्वका बारेमा कविता लेखेर एउटा पुस्तक तयार पारेका छन्। त्यसमा आनी छोइङ डोल्मा पनि समेटिएकी छन्। गुलजारले उनलाई ’फोमो आनी छोइङ डोल्मा’ भनेर उल्लेख गरेका छन्। आनीलाई उनका पिताले मात्र ’फोमो’ भनेर बोलाउने गर्थे। १७ वर्षको उमेरदेखि नागी गुम्बामा भिक्षुणी बनेर सेवा गर्दै आएकी आनीको जीवनको एउटा महत्त्वपूर्ण पाटो संगीत हो भने अर्को पाटो बौद्ध मार्गमा रहेर सामाजिक सेवा गर्नु हो। उनी भन्छिन्, ’सामाजिक सेवा गर्नु मानव धर्म हो। यसलाई बुद्धको अनुयायीका रूपमा आफ्नो जीवन सार्थक बनाउने एउटा माध्यमका रूपमा लिएकी छु।’आफूले चाहेजति पढ्न नपाएकोमा उनलाई अहिले पनि दुःख लाग्ने गर्छ। सायद यही अनुभवले उनलाई अरू बालबालिकाको शिक्षाप्रति थप संवेदनशील बनाएको छ। आफूले भोग्नुपरेको शैक्षिक अभाव अरूले भोग्नु नपरोस् भन्ने उद्देश्यले उनले साना भिक्षुणीहरूको शिक्षाका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन पहल गर्दै आएकी छन्।निःस्वार्थ सेवा र परोपकारप्रतिको उनको समर्पणले उनको व्यक्तित्वलाई थप उचाइ दिएको छ। स्वदेश तथा विदेशमा सांगीतिक प्रस्तुतिका लागि व्यस्त रहे पनि उनले आफ्नो कमाइलाई व्यक्तिगत विलासिताभन्दा सामाजिक सेवामा खर्च गर्ने बाटो रोजेकी छन्।

Advertisement

संगीतबाट कमाएको धनलाई समाजसेवा, शिक्षा र परोपकारमा लगाएर उनले आफ्नो जीवनलाई पुण्यकर्मसँग जोड्ने प्रयास गरिरहेकी छन्। उनको जीवनले दुःख र संघर्षलाई शक्तिमा बदल्न सकिन्छ भन्ने सन्देश दिएको छ। एउटा हिंसात्मक वातावरणमा बितेको बाल्यकालदेखि विश्वमञ्चमा गुञ्जिने सांगीतिक यात्रासम्म आइपुग्दा आनी छोइङ डोल्माको जीवन आफैँमा प्रेरणादायी कथा बनेको छ । संगीत, साधना र सेवामार्फत उनले नेपाली पहिचानलाई विश्वसामु चिनाएकी छन् । यिनै प्रेरणादायी व्यक्तित्व आनी छोइङ डोल्माको जीवनयात्रा अब झन भगवान बुद्धको सन्देश विश्वभर फैल्याउदै अघि बढ्नेछ ।२०२७ मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। उनले बौद्ध गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा धार्मिक साधना र संगीतको अध्ययन गरिन्। बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय पहिचान बनाइन्।

अमेरिकी संगीतकार स्टिभ टिबेट्ससँगको सहकार्यपछि उनको संगीत नेपालबाहिरका श्रोतामाझ पनि लोकप्रिय हुँदै गयो। नेपाली गीत ‘फूलको आँखामा फूलै संसार’ ले उनलाई देशभित्र व्यापक रूपमा चिनायो। अन्तर्राष्ट्रिय मञ्चमा उनी ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा परिचित छिन्। उनको यो परिचय मनोरञ्जन क्षेत्रमा सीमित छैन। बौद्ध दर्शन, करुणा, सहअस्तित्व र शान्तिको सन्देशलाई सांगीतिक माध्यमबाट विश्वभर पु¥याउनु उनको सार्वजनिक जीवनको महत्त्वपूर्ण पक्ष हो। लुम्बिनीको पहिचान केवल पुरातात्त्विक स्थल र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा मात्र सीमित रहनु हुँदैन। यसलाई विश्वशान्ति, ध्यान, बौद्ध अध्ययन, सांस्कृतिक आदानप्रदान र आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिन्छ। आनीको अन्तर्राष्ट्रिय सम्पर्क, सांगीतिक पहिचान र बौद्ध दर्शनसँगको सम्बन्ध यस दिशामा उपयोगी हुन सक्ने सम्भावना छ।आनी छोइङ डोल्माको अर्को महत्त्वपूर्ण पक्ष उनको सामाजिक सेवा हो। उनले सन् १९९८ मा नन्स वेलफेयर फाउन्डेसन अफ नेपाल स्थापना गरिन्। यस संस्थामार्फत भिक्षुणीहरूको शिक्षा र क्षमता विकासमा योगदान पु¥याउँदै आएकी छन्। सन् २००० मा सुरु गरिएको आर्य तारा स्कुलमा बौद्ध दर्शन र तिब्बती भाषासँगै नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा कम्प्युटरजस्ता विषय अध्यापन गरिन्छ। त्यस्तै, सन् २०१० मा स्थापना गरिएको आरोग्य फाउन्डेसनमार्फत मिर्गौलाका बिरामीको उपचारमा सहयोग गर्ने काम हुँदै आएको छ। शिक्षा, स्वास्थ्य र मानवीय सेवामा उनको संलग्नताले सामाजिक समस्याप्रति चासो राख्ने व्यक्तित्वका रूपमा उनको परिचय स्थापित गरेको छ। उनले तुइन विस्थापनका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको विवरण पनि सार्वजनिक भएको छ।

नेपालमा सार्वजनिक संस्थाहरूको नेतृत्व चयन गर्दा राजनीतिक प्रभाव, भागबन्डा र व्यक्तिगत सम्बन्धलाई प्राथमिकता दिइएको भन्दै आलोचना हुँदै आएको छ। यस्ता संस्थामा नियुक्त व्यक्तिले अपेक्षित नतिजा दिन नसक्दा विकासका काम प्रभावित हुने र जनविश्वास कमजोर हुने गरेको विगतको इतिहास छ । लुम्बिनी विकास कोष पनि राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय चुनौती र विकाससम्बन्धी अपेक्षाबाट अलग छैन। यस्तो अवस्थामा नेतृत्वको मूल्याङ्कन उसको राजनीतिक परिचयभन्दा बढी कामको नतिजाका आधारमा हुनुपर्छ। त्यही हेरेर बालेन सरकारले आनीलाई उपयुक्त ठानेको छ । आनीको नियुक्तिलाई लिएर उत्साहित हुनेहरूको मुख्य तर्क उनको बौद्ध दर्शनसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय पहिचान र सामाजिक सेवाको अनुभव हो। यी पक्षलाई लुम्बिनीको हितमा प्रयोग गर्न सकिएमा नियुक्ति देशकै लागि सकारात्मक साबित हुनेछ । लुम्बिनी विकास कोष लुम्बिनी गुरुयोजना कार्यान्वयन तथा बुद्धसँग सम्बन्धित पुरातात्विक र ऐतिहासिक क्षेत्रहरूको संरक्षण, उत्खनन र विकास गर्न स्थापित नेपाल सरकारको निकाय हो। यसको स्थापना लुम्बिनी विकास कोष ऐन, २०४२ (सन् १९८५) अनुसार भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top