ककरोच नेताको नेपाल कनेक्सन, बालेनलाई जोडेर राजनीतिकरण (भिडिओसहित)

९ मंसिर २०८३, बुधबार
Share this
760shares

९ मंसिर , काठमाण्डौ । भारतको ककरोच जनता पार्टी (सीजेपी) प्रधानमन्त्री नरेन्द्र मोदीका लागि १५ वर्षे कार्यकालमा सबै भन्दा ठूलो बोझ बनेको छ । मोदी सरकारलाई प्रश्नको घेरामा उभ्याउदै मन्त्रीलाई नै राजीनामा दिन विवश बनाएको ककरोचले पछिल्ला दिनमा भने विभिन्न कानूनी झन्झटको समाना गर्नु परेको छ । ककरोचका धेरै जसो नेताविरुद्ध प्रहरीमा जाहेरीसहित मुद्दा दायर भएका छन् । केही नेता पक्राउ परेका छन् भने उनीहरुको कानूनी लडाइँ अझै टुंगिएको छैन् । कसैलाई प्रर्दशनमा सहभागी हुन् रोक लगाइएको छ त कसैलाई देश बाहिर जान समेत रोकिएको छ ।

Advertisement

अहिले यस्तै समस्या झेलिरहेका छन्, ककरोचका प्रवक्ता सौरभ दास । उनलाई नेपालसँग जोड्ने प्रयास गरिएको छ। उनलाई सोमबार दिल्ली विमानस्थलमा लन्डन जाने उडान चढ्नबाट रोकिएपछि यो घटनमा नेपालका प्रधानमन्त्री बालेनलाई समेत जोडेर अझ राजनीतिकरण गरिएको छ।भारतको द ट्रिब्युनका अनुसार, चेन्नईस्थित क्षेत्रीय राहदानी कार्यालयले जन्मस्थानसम्बन्धी विवरण नमिलेको भन्दै जारी गरेको कारण देखाऊ सूचनाको जवाफ नदिएको भन्दै दासलाई विमान चढ्नुअघि रोकिएको हो । यसैबीच, पश्चिम बंगालबाट निर्वाचित तृणमूल कंग्रेस (टीएमसी)की सांसद महुवा मोइत्राले सामाजिक सञ्जाल एक्समार्फत दासकी आमा नेपाली मूलकी भएकै कारण उनीमाथि यस्तो कारबाही गरिएको आरोप लगाएकी छन् । उनले नेपालका प्रधानमन्त्री बालेन शाहलाई ट्याग गर्दै दासलाई बेलायत जानबाट किन रोकिएको भन्दै प्रश्न गरेकी छन् । मोइत्राले सीजेपी नेतामाथि गरिएको व्यवहार र भारतीय केन्द्र सरकारको नेपालसँगको कूटनीतिक सम्बन्ध विस्तारको प्रयासबीच विरोधाभास रहेको संकेत गरेकी छन् । मोइत्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत निशाना बनाउँदै दासकी आमा नेपाली मूलकी भएकै कारण उनलाई अनावश्यक रूपमा दुःख दिइएको आरोप लगाएकी छन् । एक्समा उनले लेखेकी छन्, “प्रिय बालेन शाह, हाम्रा प्रधानमन्त्री तपाईंसँग निकटता बढाउँदै हुनुहुन्छ । तर, अर्कोतर्फ जेनजी नेता सौरभ दासलाई अक्सफोर्ड युनियनमा भाषण दिन जाने क्रममा उडान भर्नबाट रोकिएको छ, किनकि उनकी आमा नेपाली मूलकी हुन् । तपाईं युवाको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो । हेर्नुहोस्, हाम्रा प्रधानमन्त्री युवासँग कस्तो व्यवहार गर्नुहुन्छ ! धिक्कार छ ।” दासलाई यात्रा गर्नबाट रोक्नुको औपचारिक कारण भने उनको राहदानीमा जन्मस्थानसम्बन्धी विवरण नमिलेको विषय रहेको बताइएको छ । यही विषयलाई लिएर चेन्नईस्थित क्षेत्रीय राहदानी कार्यालयले उनको राहदानी जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।

यसै सन्दर्भमा दासलाई हालै कारण देखाऊ सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । सूचनामा कार्यालयमा लिखित जवाफ नबुझाएसम्म उक्त राहदानी प्रयोग गरेर विदेश यात्रा नगर्न निर्देशन दिइएको छ । स्रोतका अनुसार, अक्सफोर्ड युनियनमा आयोजित कार्यक्रममा सहभागी हुन प्रस्थान गर्ने दिन जारी गरिएको उक्त सूचनामा सन् २०१९ अगस्ट २१ मा चेन्नईबाट जारी भएको उनको राहदानी र अन्य पहिचानसम्बन्धी अभिलेख, विशेषगरी जन्मस्थानको विवरणमा असमानता रहेको उल्लेख छ । सीजेपीका संस्थापक दासलाई जवाफ पेस गर्न सात दिनको समय दिइएको र त्यस अवधिमा राहदानी प्रयोग गरेर यात्रा नगर्न भनिएको स्रोतले जनाएको छ । चेन्नईस्थित क्षेत्रीय राहदानी कार्यालयले भने यस विषयमा हालसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन ।मंगलबार बोल्दै दासले गिरफ्तारी र कथित शारीरिक धम्कीमार्फत सीजेपीका समर्थकहरूलाई चुप लगाउन असफल भएपछि केन्द्र सरकारले आफ्नो पार्टीलाई निशाना बनाएको आरोप लगाए । समर्थकहरूविरुद्ध कुनै प्रमाण फेला पार्न नसकेपछि अहिले उनीहरूको नागरिकता र राहदानीसम्बन्धी कागजातमाथि प्रश्न उठाउन थालिएको उनको दाबी छ । भगौडा व्यापारी विजय माल्या, निरव मोदी र मेहुल चोकसीसँग आफूलाई तुलना गर्दै दासले आफू व्यावसायिक सम्भ्रान्त वर्गको भएको भए विशेष सुविधा पाउने थिएँ भन्ने आरोप लगाए ।

Advertisement

यद्यपि, आफूलाई यात्रा गर्नबाट रोकिएको घटनालाई राजनीतिक प्रतिशोधसँग जोड्ने उनको दाबी पुष्टि गर्ने कुनै कागजी प्रमाण सार्वजनिक भएको छैन । सीजेपीका लागि यो घटनाक्रम एउटा अन्तर्राष्ट्रिय कार्यक्रम अवरुद्ध हुनुमा मात्र सीमित नहुन सक्छ । अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी हुन पाएको भए दासले अन्तर्राष्ट्रिय दर्शकमाझ आफ्नो आन्दोलनबारे जानकारी दिने अवसर पाउने थिए । तर, राहदानीसम्बन्धी कारबाहीले पार्टीलाई आफ्ना समर्थक परिचालन गर्न अर्को राजनीतिक मुद्दा दिएको छ । अब यस घटनाको परिणाम दासले कारण देखाऊ सूचनाको जवाफमा दिने स्पष्टीकरण र त्यसपछि राहदानी प्राधिकरणले गर्ने निर्णयमा निर्भर हुनेछ । हालसम्म उनको राहदानी जफत भइसकेको पुष्टि भएको छैन ।यसअघि दासको नागरिकता, पारिवारिक पृष्ठभूमि र वास्तविक पहिचानमाथि छानबिन गर्न माग गर्दै मद्रास उच्च अदालतमा जनहित याचिका दायर भएको थियो । याचिकामा दासको पारिवारिक विवरण तथा नागरिकताको वैधानिकता जाँच गर्न र न्यायपालिका तथा सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध कथित अपमानजनक टिप्पणी गरेको भन्दै उनका सामाजिक सञ्जालका खाता बन्द गर्नसमेत माग गरिएको छ । याचिकामा सौरभ दासको वास्तविक पहिचान ‘योगेश शर्मा उर्फ सौरभ दास’ रहेको उल्लेख गरिएको छ ।

उनी नेपाली मूलका भएको दाबी गरिए पनि उनका पिता नेपालका नागरिक रहेको भनाइबाहेक नेपालमा उनीहरूको स्थायी ठेगाना वा पुख्र्यौली स्थान भने स्पष्ट खुलाइएको छैन । यही विषयलाई समेत आधार बनाएर याचिकाकर्ताले उनको पारिवारिक पृष्ठभूमि र नागरिकताको विस्तृत छानबिन गर्न माग गरेका छन् ।भारतीय सञ्चारमाध्यम बार एन्ड बेन्चका अनुसार गणेश कुमारले दायर गरेको उक्त याचिकामा केन्द्रीय गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकायलाई सौरभ दासका आमाबुवाको विवरण, राष्ट्रियता र पहिचान जाँच गर्न निर्देशन दिन माग गरिएको छ । उनी विदेशी नागरिक भएको पुष्टि भएमा उनको राहदानी र आधार कार्ड रद्द गर्न सम्बन्धित निकायलाई आदेश दिनुपर्ने मागसमेत याचिकामा समेटिएको छ । याचिकाकर्ताले न्यायपालिका र भारतको सर्वोच्च अदालतका न्यायाधीशहरूबारे दासले कथित रूपमा अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाएका छन् । त्यसलाई रोक्न उनका नामबाट सञ्चालित एक्स (पहिले ट्विटर) र इन्स्टाग्राम खाताहरू बन्द गर्न इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिन पनि अदालतसँग माग गरिएको छ । याचिकाअनुसार यस विषयमा ८ अक्टोबर २०२५ मा केन्द्र सरकारका सम्बन्धित अधिकारीसमक्ष निवेदनसमेत दिइएको थियो । तर उक्त निवेदनमाथि कुनै कारबाही नभएको दाबी गर्दै याचिकाकर्ताले अदालतबाट निश्चित समयसीमा तोकेर आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिन माग गरेका हुन् ।

मद्रास उच्च अदालतका मुख्य न्यायाधीश एसए धर्माधिकारी र न्यायाधीश जी अरुल मुरुगनको संयुक्त इजलासमा भएको सुनुवाइका क्रममा याचिकासँग संलग्न सौरभ दासको पहिचान र ठेगानासम्बन्धी कागजातमाथि छलफल भएको थियो । याचिकाकर्ताका कानुन व्यवसायी बी जगन्नाथले ती कागजात प्रस्तुत गर्दै दासको पहिचान र न्यायपालिकाविरुद्धका अभिव्यक्तिबारे अदालतको ध्यानाकर्षण गराएका थिए । इजलासले प्रस्तुत कागजातमा उल्लेखित केही विवरणबारे स्पष्टीकरण माग्दै यस विषयमा सम्बन्धित सरकारी निकायमा उजुरी गरिएको वा नगरिएकोबारे पनि प्रश्न गरेको थियो । त्यसक्रममा याचिकाकर्ताका वकिलले यसअघि नै सरकारी अधिकारीसमक्ष निवेदन दिइसकेको तर कुनै कारबाही नभएको जानकारी गराएका थिए ।

प्रारम्भिक सुनुवाइपछि अदालतले सौरभ दास, क्षेत्रीय राहदानी अधिकारी (चेन्नई), भारतीय विशिष्ट पहिचान प्राधिकरण (यूआईडीएआई), केन्द्रीय गृह मन्त्रालय, विदेश मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय तथा एक्स र इन्स्टाग्रामका गुनासो सुनुवाइ अधिकारीलाई नोटिस जारी गरेको छ । अदालतले सम्बन्धित पक्षसँग जवाफ माग्दै मुद्दाको अर्को सुनुवाइ छ सातापछि गर्ने आदेश दिएको छ । यस प्रकरणमा सौरभ दासको नागरिकता र वास्तविक पहिचानबारे अदालतबाट कुनै अन्तिम निष्कर्ष आइसकेको छैन । उनी नेपाली नागरिक हुन् वा नेपाली मूलका भारतीय नागरिक हुन् भन्ने विषयसमेत याचिकामा उठाइएको प्रश्न र छानबिनको मागकै रूपमा रहेको छ । विशेषगरी उनका पिता नेपाली भएको दाबी गरिए पनि नेपालको कुन स्थानसँग उनको पारिवारिक सम्बन्ध छ भन्ने विवरण सार्वजनिक भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top