९ मंसिर , काठमाण्डौ ।
युक्रेनमाथि रुसले सन् २०२२ मा सुरु गरेको पूर्णस्तरको आक्रमणमा हालसम्म कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै बीबीसीले सार्वजनिक गरेको विवरणअनुसार युद्धमा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।
रुसले युद्धमा मारिएका सैनिकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन । दुई वर्षअघि रुसको सरकारी तथ्यांक निकाय रोसस्टाटले बाह्य कारणबाट हुने मृत्युको विवरण सार्वजनिक गर्नसमेत बन्द गरेको थियो । यसअघि उक्त तथ्यांकबाट युद्धमा मारिएका सैनिकको संख्या अनुमान गर्न सकिन्थ्यो ।

तर, बेलारुसको साइबर समूह साइबर पार्टिजन्स बीवाई र युक्रेनको ‘साइलेंट क्रो’ले ह्याक गरेर प्राप्त गरेको तथ्यांक बीबीसी रुसी सेवाले प्राप्त गरेको थियो । जसको विश्लेषण गरेर युद्धमा मारिएका सैनिकको संख्या अनुमान गरिएको हो ।
रोसस्टाटले साइबर आक्रमण भएको स्वीकार गरे पनि सुरक्षित तथा गोप्य सूचना चुहावट भएको भने अस्वीकार गरेको छ । बीबीसी रुसी सेवा र स्वतन्त्र रुसी सञ्चारमाध्यम मिडियाजोनाले सरकारी तथ्यांकलाई युद्ध सुरु भएदेखि खुला स्रोतबाट संकलन गरेको सैनिक मृत्युको सूचीसँग तुलना गरेका छन् ।
उनीहरूले सरकारी अभिलेखका करिब ९० प्रतिशत विवरण आफ्नै सूचीसँग मेल खाएको पाएका छन् । रोसस्टाटको चुहिएको तथ्यांकमा मृतकको नाम खुलाइएको छैन । तर उमेर, स्थायी बसोबास, मृत्यु भएको स्थान र मृत्युको परिस्थितिजस्ता विवरण समावेश छन् ।
ती विवरणका आधारमा युद्धमा मारिएका सैनिकको संख्या छुट्याइएको हो । बीबीसीको विश्लेषणले विभिन्न आधारमा मृत्युका अभिलेख पहिचान गरेको छ । जसमा
– ४ लाख २५ हजार १७४ जनाः विस्फोट, छर्रा वा युद्ध अभियानका क्रममा मृत्यु भएको स्पष्ट उल्लेख भएका अभिलेख ।
– १४ हजार ९३ जनाः रोजगारीसम्बन्धी विवरणका आधारमा सैनिकसँग सम्बन्धित मृत्यु पहिचान गरिएका व्यक्ति ।
– ५१ हजार ६७ जनाः अदालतको निर्णयका आधारमा मृत घोषित व्यक्ति । युद्ध क्षेत्रमा बेपत्ता भएको र छ महिनाभन्दा बढी समयसम्म अवस्था पत्ता नलागेको सैनिकलाई अदालतले मृत घोषित गर्ने अवस्था यसमा समावेश हुन सक्छ ।
नागरिकको मृत्यु सैनिकको तथ्यांकमा नपरोस् भनेर महिलालाई तथा १८ देखि ६५ वर्ष उमेर समूहबाहिरका पुरुषलाई हटाइएको छ । रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा बस्ने र त्यहीँ मृत्यु भएका व्यक्तिलाई सैनिक सेवासम्बन्धी प्रमाण नभएसम्म नागरिक हुन सक्ने भन्दै गणनाबाट हटाइएको छ ।
यसरी विभिन्न अभिलेख जोड्दा कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको अनुमान गरिएको हो । युद्धले रुसका युवा उमेर समूहलाई ठूलो असर पारेको तथ्यांकले देखाउँछ । सन् २०२५ मा युद्धमा मारिएका १८ देखि २४ वर्ष उमेर समूहका रुसीमध्ये ६५ प्रतिशतको मृत्यु युद्धका कारण भएको थियो ।
२५ देखि ३४ वर्ष उमेर समूहमा यो हिस्सा ५९ प्रतिशत रहेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहमा भने युद्धभन्दा मुटु तथा रक्तसञ्चारसम्बन्धी रोगका कारण बढी मृत्यु भएको देखिएको छ । युद्धको पहिलो वर्ष मारिएका रुसी सैनिकको औसत उमेर ३४ वर्ष थियो ।
सन् २०२५ सम्म आइपुग्दा कैदी तथा करारमा भर्ती भएका सैनिकको संख्या बढेसँगै मृतकको औसत उमेर ४० वर्ष पुगेको बीबीसीको विश्लेषणले देखाएको छ । बीबीसीले आफ्नै खुला स्रोतमा आधारित सूचीमा भने औसत उमेर ३८ वर्ष पाएको छ ।
रुसका पूर्वी साइबेरियाका तुलनात्मक रूपमा गरिब क्षेत्रबाट भर्ती भएका सैनिकको मृत्यु अनुपात असमान रूपमा उच्च रहेको छ । तुभा, बुरियातिया र जाबाइकाल्स्की क्राइ क्षेत्रका पुरुष युद्धमा मारिने सम्भावना मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाको तुलनामा २० देखि २५ गुणासम्म बढी रहेको बीबीसीको विश्लेषणमा उल्लेख छ ।
युद्धमा मृत्यु भएका सैनिकको संख्या क्षेत्रअनुसार हेर्दा रुसको आर्थिक असमानता र भर्तीको ढाँचासँग पनि जोडिएको देखिन्छ । राजधानी तथा ठूला सहरभन्दा पिछडिएका क्षेत्रबाट युद्धमा बढी मानवीय क्षति भइरहेको तथ्यले युद्धको भार समान रूपमा वितरण नभएको संकेत गर्छ ।
युक्रेनका साना गाउँ कब्जा गर्न भएको युद्धमा समेत ठूलो संख्यामा रुसी सैनिक मारिएको तथ्यांकले देखाएको छ । युद्धअघि १२ हजार जनाको संयुक्त जनसंख्या रहेका युक्रेनका १० गाउँ नियन्त्रणमा लिन मात्रै करिब २० हजार रुसी सैनिकको मृत्यु भएको अनुमान छ ।
डोनेत्स्क क्षेत्रको बाख्मुत दक्षिणमा रहेको आन्द्रेइभ्का नामक सानो गाउँ कब्जाका क्रममा मात्रै १ हजार १२२ रुसी सैनिक मारिएका थिए । युद्धअघि उक्त गाउँमा ७४ जना मानिस बसोबास गर्थे । रुसका लागि लड्दा मृत्यु भएका विदेशी नागरिकको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाएको छ ।
रोसस्टाटको अभिलेख विश्लेषणअनुसार कम्तीमा ५ हजार १७ विदेशी नागरिक रुसी सेनामा लड्दा मारिएका छन् । मृतक विदेशीमध्ये १ हजार ३१ जना उज्बेकिस्तानका र ७२० जना ताजिकिस्तानका नागरिक रहेको बीबीसीले जनाएको छ ।
दोहोरो नागरिकता भएका व्यक्तिलाई रुसी नागरिकका रूपमा अभिलेख गरिएको हुन सक्ने भएकाले विदेशी मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान छ । उत्तर कोरियाली सैनिकको मृत्यु भने यो गणनामा समावेश छैन ।
बीबीसीले सन् २०२४ मा रुसभित्र युक्रेनी सेनाको आक्रमण रोक्न परिचालित उत्तर कोरियाली सैनिकमध्ये २ हजार ३०४ जनाको मृत्यु भएको पहिचान गरेको जनाएको छ । प्योङयाङमा निर्माण गरिएको नयाँ स्मारकका भूउपग्रह तस्बिर र आधिकारिक तस्बिर विश्लेषण गरेर उक्त संख्या निकालिएको बताइएको छ ।
बीबीसी र मिडियाजोनाले खुला स्रोत, सरकारी सूचना, सामाजिक सञ्जालका पोस्ट, नयाँ स्मारक र चिहानका विवरणबाट पुष्टि गरेको रुसी सैनिक मृत्युको संख्या २ लाख ९० हजार १२ पुगेको छ । तर, सबै मृत्यु सार्वजनिक नहुने भएकाले वास्तविक संख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।
सैन्य विशेषज्ञहरूले खुला स्रोतबाट पुष्टि भएको उक्त संख्या वास्तविक मृत्युको ४५ देखि ५५ प्रतिशत मात्रै हुन सक्ने आकलन गरेका छन् । त्यस आधारमा रुसको युद्धमा मृत्यु हुने सैनिकको वास्तविक संख्या ५ लाख २७ हजार २९५ देखि ६ लाख ४४ हजार ४७१ सम्म हुन सक्ने अनुमान छ ।
चार वर्ष १० महिनासम्म लम्बिएको युद्धका लागि यो संख्या निकै ठूलो मानिएको छ । सन् १९८९ मा समाप्त भएको अफगानिस्तानमा सोभियत युद्धसँग तुलना गर्दा पनि रुसले अहिले ठूलो मानवीय क्षति बेहोरेको देखिन्छ । युक्रेनतर्फ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२६ को जुलाईमा आफ्ना करिब ५० हजार सैनिक मारिएको बताएका थिए ।
तर, ‘यूए लसेस’ नामक वेबसाइटले खुला स्रोतमा आधारित सूचीमा युक्रेनी सैनिक मृत्यु संख्या १ लाख १५ हजार ९५२ देखाएको छ । यसैबीच रुससँग सैन्य सहकार्य जारी राखे पनि उत्तर कोरियाले युक्रेन युद्धमा थप ठूलो संख्यामा सैनिक पठाउने सम्भावना तत्काल नदेखिएको बताइएको छ । विश्लेषकहरूका अनुसार, प्योङयाङले मस्को र बेइजिङसँगको सम्बन्ध सन्तुलित राख्न खोजिरहेको छ ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको सहयोगका लागि ३० हजारदेखि ५० हजारसम्म उत्तर कोरियाली सैनिक परिचालन हुन सक्ने बताएका थिए । तर, अहिलेसम्म त्यस्तो ठूलो संख्यामा सैनिक पठाइएको छैन ।
युक्रेनको ‘सेन्टर फर काउन्टरिङ डिसइन्फर्मेसन’का पूर्वप्रमुख एन्ड्री कोभालेन्कोका अनुसार रुसले यसअघि सैन्य कारबाहीका लागि ३० हजारभन्दा बढी थप सैनिक मागेको थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सेप्टेम्बरमा हुने भनिएको शिखर वार्ता हुन सकेन ।
कोभालेन्कोका अनुसार कब्जा गरिएको युक्रेनी भूभाग दोनेत्स्कमा आक्रामक सैन्य कारबाहीमा सहभागी हुनु प्योङयाङका लागि ‘रेड लाइन’ हुन सक्छ । त्यसैले उसले रुसको थप सैनिक पठाउने अनुरोध अस्वीकार गरेको हुन सक्ने उनको अनुमान छ ।
यद्यपि, उत्तर कोरियाले रुसलाई गोलाबारुदलगायत सैन्य सामग्री उपलब्ध गराइरहेको जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) का पूर्वउपनिर्देशक हान की–बमका अनुसार युद्धको गति सुस्त हुनु र जाडोयाम सुरु हुनुले तत्काल थप उत्तर कोरियाली सैनिक पठाउनुपर्ने आवश्यकता घटाएको छ ।
उत्तर कोरियाका वरिष्ठ अधिकारी जो योङ–वोनको प्रस्तावित मस्को भ्रमणले दुई देशबीचको आगामी सैन्य तथा राजनीतिक सहकार्यबारे संकेत दिन सक्ने उनको भनाइ छ । दक्षिण कोरियामा शरण लिएका उत्तर कोरियाली पूर्वसैनिक तथा ‘वल्र्ड इन्स्टिच्युट फर नर्थ कोरिया स्टडिज’का प्रमुख आहन चान–इलले पनि थप सैनिक परिचालनको लागत र युद्धभूमिको आवश्यकतालाई रुसले विचार गर्ने बताए ।
युद्धको दायरा नबढेसम्म मस्कोले ठूलो संख्यामा सैनिक माग्ने सम्भावना नरहेको उनको भनाइ छ । थप सैनिक परिचालन अनिश्चित भए पनि उत्तर कोरियाको सैन्य सहयोग जारी रहेको युक्रेनी अधिकारी कोभालेन्कोको दाबी छ ।
उनका अनुसार रुसको भोरोनेज क्षेत्रमा क्षेप्यास्त्र एकाइ र अन्य सैन्य क्षेत्रमा ड्रोन सञ्चालक, इन्जिनियर तथा सुरुङ निर्माणमा संलग्न गरी करिब ८ हजार ५०० उत्तर कोरियाली सहयोगी कर्मचारी तैनाथ छन् ।
उत्तर कोरियाले गोलाबारुद उत्पादन बढाउनुका साथै नयाँ ड्रोन र क्षेप्यास्त्रसमेत विकास गरिरहेको उनले बताए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नोभेम्बर १७ मा रुसले हरेक महिना दर्जनौँ उत्तर कोरियाली ब्यालिस्टिक क्षेप्यास्त्र प्राप्त गरिरहेको दाबी गरेको थिए ।
युक्रेनमा ती हतियारको प्रयोगबाट उत्तर कोरियाले युद्धमैदानमै परीक्षण र सुधार गर्ने अवसर पाइरहेको तथा यसले कोरियाली प्रायद्वीप आसपासको सुरक्षा जोखिम बढाएको उनको भनाइ छ ।



