भैरहवा रुट खुल्दा एकै उडानमा ४ लाख जोगिने

९ मंसिर २०८३, बुधबार
Share this
767shares

९ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपालले भैरहवा रुट पाउने सहमति भएको छ । यो सहमतिअनुसार लखनऊ–अपिपु–भैरहवा मार्ग हुँदै नेपाल प्रवेश गर्दा भैरहवाका लागि करिब १४० नटिकल माइल दूरी कम हुनेछ । यो दूरी छोटिँदा भैरहवा अवतरण गर्ने वायुसेवाको १७ मिनेट उडान समय बचत हुने उल्लेख छ । यसअघि सबै वायुसेवाले पर्साबाट मात्रै नेपाल प्रवेश गर्ने गरेकामा अब भैरहवा हुँदै पोखरा प्रवेश गर्दा अन्तर्राष्ट्रिय उडानका वायुसेवाका लागि करिब ११४ नटिकल माइल दूरी कम पर्ने भएको छ ।

Advertisement

यो दूरी कम हुनु भनेको पोखराका लागि समेत लगभग १४ मिनेट उडान समय बचत हुने उड्डयन क्षेत्रका जानकारहरूले बताएका छन् । उडान दूरी छोटो हुँदा नेपाली वायुसेवाको इन्धन खपत घट्ने र हरेक उडानमै लाखौँ रुपैयाँ जोगिने तर्क उनीहरूको छ । बचत भएको समयका कारण सोही बिमानले थप उडानहरू पनि गर्न सक्ने सम्भावना हुन्छ । जसले गर्दा टिकट कम मूल्यमा यात्रुले पाउन सक्छन् ।नेपाल वायुसेवा निगमका अनुसार निगमको एयरबस ए३२०–२०० जहाजमा आईएई भी–२५०० इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले १२ देखि १५ हजार फिटको उचाइमा औसत १ हजार २ सयदेखि १ हजार ५ सय किलो प्रतिघण्टा इन्धन खपत गर्छ । यसको अर्थ प्रतिकिलो इन्धनमा हालको मूल्यअनुसार १.६९ डलर खर्च हुन्छ । अहिले डलरको नेपाली सटही दर १४८.९६ को हिसाबले एक किलो इन्धन खपत हुँदा काठमाडौंका लागि वायुसेवा कम्पनीको करिब २ सय ५२ रुपैयाँ खर्च हुन्छ । अन्तर्राष्ट्रिय वायुसेवाले आधा घण्टामा करिब ७ सय ५० किलो इन्धन खर्च गर्छ, जसले गर्दा हरेक पटक करिब २ लाख रुपैयाँ अतिरिक्त भार थपिन्छ । निगमको न्यारोबडीको तुलनामा वाइडबडी जहाजले थप इन्धन खपत गर्छ । ए३३०–२०० वाइडबडी जहाजमा ट्रेन्ट आरआर इन्जिन प्रयोग गरिएको छ । यो वाइडबडी जहाजले १० हजारदेखि १६ हजार फिटको उचाइमा मात्रै पनि एक घण्टामा करिब ६ हजार किलो इन्धन खपत गर्छ।यस हिसाबले वाइडबडी जहाजले आधा घण्टा उड्दा मात्रै पनि करिब ८ लाख रुपैयाँ बराबरको इन्धन खर्च गर्छ । हालको हवाई रुटको तुलनामा भैरहवा हुँदै आउन पाउने नयाँ रुट प्रयोग गर्दा पोखरा र भैरहवा उडानमा अन्तर्राष्ट्रिय वायुसेवालाई न्यारोबडीका लागि १ लाख र वाइडबडीका लागि ४ लाख रुपैयाँसम्मको इन्धन बचत हुने सम्भावना रहन्छ ।

आन्तरिक वायुसेवामा प्रचलित एटीआर–७२ जहाजले प्रतिमिनेट ८ लिटर तेल खपत गर्छ । यो इन्धन खपत आकाश र जमिनमा करिब एकैनासको हुने गर्छ। पछिल्लो पटक समायोजन भएको गत कात्तिक १४ गतेको मूल्यअनुसार आन्तरिक उडानमा एक मिनेटमै २ हजार रुपैयाँ खर्च हुन्छ। नेपालमा आन्तरिक उडान गर्ने वायुसेवाहरूले पोखरा र भैरहवाबाट क्रस बोर्डर उडान गर्न चाहेका छन्। यो उडान सुरु भएको अवस्थामा हरेक उडानमा २० देखि ३१ हजार रुपैयाँसम्म इन्धन बचत हुने ।आन्तरिक उडानका जहाजमा चल्तीका वायुसेवा बुद्ध र यतीले उडान गर्ने एटीआरको तुलनामा श्री एयरलाइन्सको जहाजले भने १.४ गुणा बढी इन्धन खपत गर्छ ।

Advertisement

बुद्ध र यती एयरलाइन्सले प्रयोग गरिरहेको ७२ सिट क्षमताको जहाजको तुलनामा श्री एयरलाइन्सले उडान गरिरहेको ७८ सिट क्षमताको ड्यास–८ जहाजको इन्धन खपत बढी छ । प्रत्येक उडानमै ४ लाख बराबरको खर्च कटौती हुने गरी भैरहवा रुट दुईतर्फी खोल्ने सहमतिले सकारात्मक चर्चा बटुलिरहँदा यता नेपालका अन्तर्राष्ट्रिय हवाई रुटमध्ये अझै आठ वटा एकतर्फी छन् भने हाल तीन दुईतर्फी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा उल्लिखित हवाई रुटसम्बन्धी विवरणअनुसार नेपालबाट बाहिरिने र नेपाल प्रवेश गर्ने गरी फरक–फरक प्रयोजनका रुट निर्धारण गरिएका छन् ।

प्राधिकरणको विवरणअनुसार एकतर्फी रुटबाट नेपाल प्रवेश गर्न वा नेपालबाट बाहिरिन मात्र सकिन्छ । उदाहरणका लागि, लिमा ६२६ बाट काठमाडौं हुँदै सुर्खेत र महेन्द्रनगर भएर भारततर्फ जान सकिन्छ । तर सोही रुटबाट नेपाल प्रवेश गर्न मिल्दैन । त्यसैगरी, दिल्ली र लखनऊ क्षेत्रबाट सिमरा हुँदै काठमाडौं प्रवेश गर्ने गल्फ ५९८ पनि एकतर्फी रुट हो । एकतर्फी रुटमा काठमाडौं–पोखरा–भैरहवा हुँदै लखनऊ जाने ब्राभो ३४५, पटनाबाट सिमरा हुँदै काठमाडौं आउने गल्फ ३३६, कोलकाता र ढाकाबाट नेपाल प्रवेश गर्ने रोमियो ५८१, कोलकाताबाट सिमरा हुँदै काठमाडौं आउने गल्फ ४६३, जनकपुरबाट पटना जाने गल्फ ३३५ र काठमाडौं हुँदै विराटनगरबाट ढाकातर्फ जाने रोमियो ३४४ पर्छन् ।

बनारसबाट सिमरा हुँदै काठमाडौं जोड्ने गल्फ ५९०, काठमाडौं–कोलकाता जोड्ने रोमियो ३२५, बागडोगरा र पारो क्षेत्रसँग नेपाललाई जोड्ने गल्फ ३४८ तथा तुम्लिङटार हुँदै चीनको ल्हासा जोड्ने उत्तरी ब्राभो ३४५ दुईतर्फी रुट हुन् । भैरहवाको रुट दुईतर्फी बनेपछि भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार ब्राभो ३४५ रुट दुईतर्फी सञ्चालनमा आए एकतर्फी रुटको संख्या सात र दुईतर्फी रुटको संख्या ४ पुग्नेछ । यसले विशेषगरी खाडी मुलुक र भारतबाट नेपाल आउने विमानलाई भैरहवा तथा पोखरा विमानस्थलसम्म पुग्न छोटो हवाईमार्ग उपलब्ध गराउन सक्नेछ । हाल त्यस्ता विमानले सिमरा हुँदै काठमाडौं प्रवेश गर्नुपर्ने अवस्था छ ।

अर्थात नेपालमा दैनिक एक सयदेखि ११५ वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने गरेका छन् । नेपालबाट विमान बाहिरिन नेपालसँग धेरैवटा प्रस्थान बिन्दु छन् । तर विदेशबाट भित्रिने विमानका लागि भने सिमरा मात्रै प्रवेश बिन्दु छ । यसलाई अन्तर्राष्ट्रिय विमान नेपाल प्रवेशका लागि एउटा मात्रै एयररुट छ भनेर बुझ्न सकिन्छ ।चीन, हङकङ, दक्षिण कोरिया र जापानबाहेक अरू सबै देशमा नेपाल आउने विमान सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता रहँदै आएको छ । पश्चिम एसियायी देशहरू कतार, यूएई, साउदी अरब, कुवेत, टर्किए तथा भारतकै दिल्ली, मुम्बई, बैंङलोर लगायत सहरबाट आउने विमानले फन्को लगाएर सिमराबाटै नेपाल भित्रिनुपर्ने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय विमान प्रवेशका लागि नेपालले लामो समयदेखि भारतसँग भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटको माग गर्दै आएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top