१० मंसिर, काठमाण्डौ ।
नेपाली कांग्रेसका सभापति गगन थापा पछिल्लो समय सरकारविरुद्ध लगातार आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन् । पछिल्लो समय उनले चेतावनी स्वरुप आफूलाई समाउन आउदा हतकडी लिएर आउन सरकारविरुद्ध दिएको कडा अभिव्यक्तिले नेपाली राजनीतिमा एक किसिमको तरङ्ग नै पैदा गरेको छ।
राज्यका संयन्त्रहरूलाई निजी कम्पनी जसरी चलाएर राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाउँदै उनले सरकारलाई कडा चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत भय सिर्जना गरेर वा पक्राउको त्रास देखाएर आफू र नेपाली कांग्रेसलाई तर्साउन खोजिए त्यो सरकारको ठूलो भूल हुने चेतावनीसमेत उनले दिएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले गरिरहेको छानबिन र अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाए। विधि र कानुनअनुसार हुने जुनसुकै अनुसन्धानमा कांग्रेसले कहिल्यै अवरोध नगर्ने स्पष्ट पार्दै उनले भने, ‘गल्ती गर्नेलाई हामी नेता पनि भन्दैनौँ र नाता पनि भन्दैनौँ। मेरो होस् वा अरू कसैको, कानुनले जहाँ अनुसन्धान हुनुपर्छ भन्छ, त्यहाँ हुनुपर्छ। तर, राज्यका संयन्त्र दुरुपयोग गरेर राजनीतिक प्रतिस्पर्धीहरूलाई तह लगाउन खोजिन्छ भने कांग्रेसले चुप लागेर बस्दैन, त्यहाँभित्र हामी जवाफ खोज्छौँ।’
विगतमा शेरबहादुर देउवा र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनीहरूसँग निकट भएकै कारण कसैले उन्मुक्ति पाउनु हुँदैन भनेर आफूले आवाज उठाएको स्मरण गर्दै थापाले वर्तमान नेतृत्वलाई पनि सोही कसीमा उभ्याए।
उनले प्रश्न गरे, ‘हिजो देउवा र ओलीका मान्छे भएकै कारण छुट पाउनु हुँदैन भन्ने हामीले आज कोही मान्छे प्रधानमन्त्री बालेनको निकट भएकै कारण वा रास्वपा भएकै कारण छुट पाउनु हुँदैन भन्ने कि नभन्ने?’ राज्यका अङ्गहरूलाई ’प्राइभेट कम्पनी’ जसरी चलाउन खोज्दा कांग्रेसले घाटानाफाको हिसाब नगरी प्रश्न उठाउने बताउँदै उनले सरकार सरकारजस्तो र प्रतिपक्ष प्रतिपक्षजस्तो भएर चल्नुपर्नेमा जोड दिए।
सरकारविरुद्ध चर्को बोल्दा आफूलाई नै अप्ठ्यारो पर्न सक्ने र पक्राउ पर्न सक्ने भन्दै पार्टीका साथीहरूले चिन्ता व्यक्त गरेको प्रसङ्ग कोट्याउँदै थापाले आफू कुनै पनि कारबाही भोग्न तयार रहेको बताए। आफ्नो राजनीतिक संघर्षको पृष्ठभूमि स्मरण गर्दै उनले भने, ‘राजाको शासनकालमा चर्को बोल्दा राजद्रोहको मुद्दा लगाइन्थ्यो, मैले त्यो खेपेरै आएको हुँ। २०६३ सालतिर वाईसीएलको जगजगी थियो, त्यो बेला पनि प्रश्न गरेरै आइयो। केपी ओली शक्तिशाली हुँदा पनि प्रश्न गरियो। अहिले पनि प्रश्न गर्दा अनेक कथा–पटकथा र अडियोहरू बाहिर ल्याइएका छन्।’
साथीहरूले पक्राउ पर्न सक्ने भन्दै सचेत गराउँदा आफूले स्पष्ट जवाफ दिएको उल्लेख गर्दै थापाले भने, ‘मैले भनेको छु— पक्राउ गर्न आउँदा हत्कडी लिएर आउनुहोला। न नेपाली कांग्रेसले आफ्नो चरित्र (क्यारेक्टर) गुमाउँछ, न कांग्रेसको सभापतिले गुमाउँछ।’
आफ्नै पार्टीका नेता र आफ्नै पार्टीको सरकारलाई समेत गलत हुँदा गलत भन्न नहिचकिचाएको इतिहास रहेको बताउँदै थापाले सरकारमा बसेकाहरूलाई लक्षित गर्दै थपे, ‘सामाजिक सञ्जालमार्फत भय सिर्जना गरेर तर्साउन खोज्नुभएको हो भने तपाईँले गलत व्यक्ति र गलत पार्टी छान्नुभयो।’
जेनजी आन्दोलनपछिको विशेष महाधिवेशन र गत असोजमा सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाले आन्तरिक आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला सरकारको कार्यशैलीविरुद्ध आक्रामक र खरो रूपमा प्रस्तुत हुँदै सशक्त प्रतिपक्षको भूमिका खेल्ने सन्देश दिएका छन्।
सभापति गगन थापाको यो आक्रामक अभिव्यक्ति आउनुको पछाडि केही दिनयताका घटनाक्रमहरू कारक देखिन्छन् । केही समयअगाडि बिचौलिया भनिएका इमन सापकोटाले कांग्रेसको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँको ठूलो चलखेल भएको सनसनीपूर्ण आरोप लगाएका थिए।
उक्त विवादित प्रकरण बाहिरिएसँगै राजनीतिक वृत्तमा भूकम्प गएको थियो। त्यही बीचमा गगन थापाको घटना क्रमसँग मिल्ने गरी एक स्टाटस लेखे । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा चेतावनीपूर्ण शैलीमा स्ट्याटस लेखेका थिए। ’सही समय आएपछि सबैको गलत समय आउँछ। एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ प्रधानमन्त्री शाहले लेखेका थिए। तर गगन थापाले प्रधानमन्त्री बालेनलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जबाफ फर्काएका थिए ।
साँझ ठिक ६ बजे फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले आफू कसैसँग नतर्सिने सन्देश दिएका थिए । ’अहिले ठिक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ थापाले लेखेका थिए । त्यसको केही समयपछि नै गगन थापाले आफूलाई पक्राउ गर्न लागेको भन्दै पार्टीभित्रका केही कार्यकर्ता र निकटस्थहरूसँग चिन्ता व्यक्त गरेका थिए।
प्रधानमन्त्री बालेन शाहको कार्यशैली र स्वभावलाई नजिकबाट नियाल्नेहरूका अनुसार उनी सरकारको कडा विरोध गर्ने वा प्रश्न उठाउने व्यक्तिहरूका प्रति आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन्। प्रधानमन्त्री बालेनको यही छबिका कारण पनि ’कतै गगन थापालाई पनि पक्राउ पो गर्ने हो कि?’ भन्ने आशङ्का र चासो राजनीतिक बजारमा तीब्र रूपमा फैलिएको थियो।
यद्यपि, यस विषयमा सरकारको तर्फबाट आधिकारिक रूपमा कुनै पनि भनाइ वा स्पष्टीकरण सार्वजनिक गरिएको छैन। कतिपय विश्लेषक र सत्तारूढ दलका निकटस्थहरूले त ’पक्राउ पर्ने हल्ला र त्रास गगन स्वयंले वा उनका निकटस्थले राजनीतिक सहानुभूति बटुल्न सिर्जना गरेका हुन्’ भन्ने दाबीसमेत गर्दै आएका छन्।
तर, अर्कोतर्फ कांग्रेस वृत्त भने यसलाई सरकारले प्रतिपक्षको मुख बन्द गराउन खोजेको सुनियोजित षड्यन्त्रका रूपमा हेरिरहेको छ। गगन थापाको अभिव्यक्तिलाई दुई फरक कोणबाट विश्लेषण गरिएको छ। एकातर्फ, जसरी उनले “पक्राउ गर्न आउँदा हत्कडी लिएर आउनुहोला“ भन्दै खुला चुनौती दिएका छन्, यसले उनी भित्रैदेखि आतङ्कित वा कमजोर नरहेको र बरु प्रतिपक्षी नेताका रूपमा सरकारसँग लड्न तयार रहेको सन्देश दिन्छ।”
राजाको शासनकाल र माओवादी द्वन्द्वकालीन ’वाइसीएल’ को त्रास भोगिसकेको पृष्ठभूमि भएको दाबी गर्ने थापा सामान्य प्रशासनिक वा राजनीतिक दबाबबाट पछि हट्ने पात्र होइनन् भन्ने उनका समर्थकहरूको तर्क छ।
तर अर्कोतर्फ, जब कुनै शीर्ष नेताले सार्वजनिक रूपमा पक्राउको सम्भावना र हत्कडीका कुरा गर्छन्, त्यसले कताकता उनको मनमा सरकारको कडा कदमप्रति मनोवैज्ञानिक दबाब वा भय रहेको पनि इङ्गित गर्छ।
भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको नारा दिएर उदाएको नयाँ राजनीतिक शक्तिको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन शाह र कांग्रेसका नयाँ सभापति गगन थापाबीचको यो शक्तिसंघर्षले आगामी दिनमा अझ उग्र रूप लिने निश्चित जस्तै छ।
प्रधानमन्त्री बालेन शाह र नेपाली कांग्रेसका सभापति गगन थापा दुवैलाई नेपालको राजनीतिमा ’युवा पुस्ताको आशा’ का रूपमा हेरिन्थ्यो। विगतमा बालेनको काठमाडौं महानगरपालिकाको मेयरको कार्यकाल होस् वा उनीप्रतिको जनसमर्थन, बौद्धिक र सुधारवादी भनिने युवा नेताहरूले अप्रत्यक्ष रूपमा एक किसिमको सहकार्य वा सामीप्य महसुस गरेका थिए।
तर, जब बालेन देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बने, तब राज्य सञ्चालनका तौरतरिका, प्रशासनिक निर्णय र शक्ति अभ्यासका कारण दुई नेताबीचको सम्बन्धमा चिसोपन आउन थालेको प्रष्टै देखिन्छ।बालेनकोसरकार संचालनको शैलीप्रति कांग्रेसले निरन्तर असन्तुष्टि जनाउँदै आएको छ।
सभापति थापाले भाषणका क्रममा “कोही मान्छे प्रधानमन्त्री बालेनको निकट भएकै कारण वा रास्वपा भएकै कारण छुट पाउनु हुँदैन“ भन्दै प्रत्यक्ष रूपमा बालेन सरकारको निष्पक्षतामाथि नै प्रश्न उठाउनुले दुई नेताबीच राजनीतिक तथा वैचारिक दरार उत्पन्न भइसकेको स्पष्ट संकेत गर्छ।
ऋब सरकार र प्रतिपक्षबीचको यो द्वन्द्वले आगामी दिनमा संसददेखि सडकसम्मै फैलिन सक्ने देखिन्छ।



