११ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज एकै दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् भने रविले समसामयिक विषयमा छलफल गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा पुगेर भेटवार्ता गरी प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा मंसिर ६ र ७ गते भारतको भ्रमण गरेका थिए । साथै, उनीहरूबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् । ‘करिब २० मिनेट जति कुराकानी भयो’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्युले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको र सम्बन्ध थप सुदृढ भएको जानकारी दिनुभयो र त्यसपछिको समय अध्यादेशका बारेमा समय दिनुभयो ।’ ‘राष्ट्रपतिज्यु अध्यादेशमा आपत्तिजनक कुराहरू केही छैनन्, त्यस्तो भएको भए सरकारले ल्याउँदैन थियो’, प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसद् मार्फत जाँदा ढिलो हुन्छ भनेर मात्रै सरकारले अध्यादेशको बाटो रोजेको हो ।’
त्यसक्रममा प्रधानमन्त्री शाहले सरकारले संसद्को सम्मान गर्ने समेत बताए । ‘संसद्प्रति सम्मान छ । त्यहाँ पनि हामीले थुप्रै विधेयक लगेका छौँ’, स्रोतले प्रधानमन्त्री शाहको आशय उद्धृत गर्दै भन्यो, ‘चाँडै अध्यादेश जारी गरेर सहयोग गर्नुहुने छ भन्ने अपेक्षा छ ।’ राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकले कात्तिक १७ गते सिफारिस गरेको प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छैनन् । त्यसबाहेक मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको बैठकले ‘जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि होल्ड गरेका छन् ।

तीमध्ये प्रेस काउन्सिल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपतिमाथि सरोकारवालाहरूले दबाब दिँदै आएका छन् । यसअघि शाहले भारत जाँदा राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गरेका थिएनन् । बालेनले राष्ट्रपतिलाई बेवास्ता गरेको भन्दै राजनीतिक दलका नेताहरुले आलोचना गरेका थिए ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै भ्रमणअघि राजकीय मर्यादा र अघिल्लो सरकारको कूटनीतिक विरासतलाई बेवास्ता गरिएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री स्वदेश फर्किएर देश र संसद्लाई जानकारी गराएपछि मात्र पार्टीले भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक गर्ने उनले स्पष्ट पारेका थिए ।राष्ट्रपतिसमक्ष र संसदमा जानकारी गराउने विषय प्रधानमन्त्री पदको राजकीय मर्यादा, शिष्टाचार र औपचारिक मूल्य–मान्यताभित्र पर्ने उल्लेख गर्दै पौडेलले ती सबै विषयलाई बेवास्ता गरिएको टिप्पणी गरेका थिए ।
‘यसले दम्भ देखाएको र कसैलाई पनि नगनेको जस्तो देखियो,’ उनले भनेका थिए, ‘आगामी दिनमा यस्ता परम्परागत एवं औपचारिक विषयहरूलाई पदको मर्यादाका कारणले पनि मान्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’ नयाँपनका नाममा पुरानो सिलसिला नै नजोड्ने ढङ्गले अगाडि बढ्नु स्वाभाविक नभएको भन्दै उनले प्रधानमन्त्री शाहलाई यस्तो दम्भ नराख्न र आगामी दिनमा त्रुटि नहुने गरी काम गर्न विशेष अनुरोध गरेका थिए ।
यस्तै आजै रास्वपाका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेललाई भेटेका थिए । उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ । साथै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।





