१२ मंसिर , काठमाण्डौ ।
नेपालमा लगानी विस्तारका लागि केही अनिवार्य शर्तहरु पुरा हुनु पर्ने अमेरिकाले बताएको छ । यहाँ अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पती अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दुतावासले जनाएको छ ।
नेपालस्थित अमेरिकी दुतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु ट्रम्प प्रशासन र अमेरिकी दुतावासको प्राथमिकता रहेको उल्लेख गरे ।

उनले नेपालमा अमेरिकी कम्पनीहरूले सकारात्मक अनुभव हासिल गर्ने, सफल साझेदारी निर्माण गर्ने र व्यवसाय विस्तारका नयाँ अवसर पाउने वातावरण बनाउन चाहेको बताएका हुन् । अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले अन्य अमेरिकी कम्पनीहरूलाई पनि नेपाली बजारप्रति आकर्षित गर्ने उल्लेख गरे।
नेपालमा थप अमेरिकी कम्पनीले आफ्ना नवीन प्रविधि, उत्पादन तथा सेवा भित्र्याउनसके दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने उनको भनाइ छ । उनले नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन देखिएको उल्लेख गर्दै यस अवसरको सदुपयोग गर्न अमेरिकी दुतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने बताए ।
कार्यक्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिए ।
बाढीबाट प्रभावित परिवारसँगै बेपत्ता भएका अमेरिकी नागरिकहरूप्रति पनि उनले चिन्ता व्यक्त गरे । नेपाल र अमेरिकाबीचको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै अर्बोमले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताए ।
उनले नेपालमा आर्थिक समृद्धि र दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पु¥याउने व्यवसायी तथा व्यक्तिहरूलाई सम्मान गर्दै पुरस्कार प्राप्त गर्ने सबैलाई बधाईसमेत दिए । निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्धलाई नजिक बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि व्यापारिक सम्बन्ध विस्तार र साझा समृद्धिका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।
यसैबीच यता नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको खबर ।
अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव साटासाट गर्नेछन्।
कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले कार्यसञ्चालनको अनुभव, प्राविधिक ज्ञान र उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन् । त्यसैगरी, उनीहरूले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछन् ।
दुवै देशका विशेषज्ञले संयुक्त रूपमा अभ्यास गरी विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आवश्यक सीप अभिवृद्धि गर्नेछन्। यस कार्यक्रमले दुई देशबीचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा नागरिकको सुरक्षा गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताइन्।
विस्फोटक पदार्थ निष्क्रिय पार्ने र हटाउने विषयमा विज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उनको भनाइ छ ।



