इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीसँग कांग्रेसका वरिष्ठ उपसभापतिले मागे जवाफ

१२ मंसिर २०८३, शनिबार
Share this
752shares

१२ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका आरोपको वास्तविकता स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरेका छन्। कांग्रेस सभापति गगन थापासहितका नेताविरुद्ध बयान दिए रिहा गरिदिने, नत्र फसाइदिने भन्दै धम्की दिइएको भन्ने सापकोटाकी पत्नीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ।

शर्माले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा परेको उजुरीमा उल्लेखित आरोप झुटा हुन् कि राज्यकै आडमा अपराधका योजना बनिरहेका छन् भन्ने प्रश्न उठाएका छन्।
उनले लेखेका छन्, ‘कांग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरू विरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइ दिने इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू रु मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन्रु’।

Advertisement

शर्माले इनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र सीमित राख्न नहुने बताएका छन्। घटनासँग जोडिएका सबै तथ्य सार्वजनिक हुनु नागरिकको अधिकार भएको उनको भनाइ छ। उनले लेखेका छन्, ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो। इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ।’

घटनामा षड्यन्त्रका तहहरू क्रमशः खुल्दै गएको उल्लेख गर्दै शर्माले अब सम्पूर्ण वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन्। त्यसका लागि संसद्ले अग्रसरता लिएर निष्पक्ष र पारदर्शी छानबिन गराउनुपर्ने उनको माग छ।

शर्माले भनेका छन्, ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ। वास्तविकता जे हो त्यसउपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिन जरुरी छ।’ यस प्रकरणमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र त्यहाँ कांग्रेस सभापति गगन थापासहित विभिन्न राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।

उनकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको पाँच पृष्ठ लामो उजुरीमा प्रहरीले आफूलाई शारीरिक तथा मानसिक यातना दिएको, आफूले नबोलेका कुरा पढ्न लगाएर अडिओ रेकर्ड गरिएको र उक्त रेकर्डलाई काटछाँट गरी सार्वजनिक गरिएको दाबी गरिएको छ।

सापकोटालाई बयान दिए रिहा गरिदिने र बयान दिन नमाने लामो समयसम्म हिरासतमा राख्ने तथा परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको आरोप पनि उजुरीमा उल्लेख छ। यद्यपि, उजुरीमा लगाइएका यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

यसअघि कांग्रेसको आधिकारिकता विवादसँग जोडेर गगन थापासहितका नेताबारे इनमले बोलेको भनिएको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा कांग्रेसको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँ लेनदेन भएको दाबी गरिएको थियो। अडिओको सत्यता र त्यसमा उल्लेखित दाबीबारे पनि प्रश्न उठिरहेका छन्।

सापकोटाकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि आयोगले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ। आयोगका अधिकारीहरूले सम्बन्धित सरकारी निकायसँग सोधपुछ गर्ने र हिरासतमा रहेका सापकोटाको मानवअधिकार अवस्थाबारे अनुसन्धान गर्ने बताएका छन्।

इनम प्रकरणमा सार्वजनिक भएको अडिओ, त्यसमा गरिएका दाबी र हिरासतमा दबाब तथा यातना दिइएको भन्ने उजुरीले घटनालाई थप जटिल बनाएको छ।

अब अनुसन्धानको केन्द्रमा सार्वजनिक अडिओमा गरिएका दाबीको वास्तविकता के हो र हिरासतमा सापकोटामाथि दबाब दिइएको भन्ने आरोपमा कति सत्यता छ ? यी प्रश्नको निष्पक्ष छानबिन र आधिकारिक जवाफले मात्रै घटनाबारे उठेका आशंका स्पष्ट पार्न सक्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top