इनम प्रकरणमा कांग्रेसले माग्यो संसदीय छानबिन

१३ मंसिर २०८३, आइतबार
Share this
836shares

१३ मंसिर , काठमाण्डौ ।अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई आँखामा कालोपट्टी बाँधेर धम्की दिँदै प्रहरीले बयान लिएको दाबीसहित राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएपछि यसले तरङ ल्याएको छ। । यसबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस इनम सापकोटा प्रकरणलाई लिएर सरकारविरुद्ध निकै आक्रामक भएको छ । इनम प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न काँग्रेसले माग गरेको छ । कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापालगायत अन्य व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय नभएको’ उल्लेख गरेका छन् ।

Advertisement

उनले लेखेका छन्, ‘यो विधिको शासनमाथिको गम्भीर प्रहार हो। हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएका छन्। अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो। प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ । तैपनि प्रश्न गर्न चाहन्छु– सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ?’ यदि यस्तो भइरहेको हो भने यो राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय नभई राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती भएको उनको भनाइ छ । उनका अनुसार सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ। नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि लड्दै आएको पार्टी हो, यसमा हाम्रो अडान अझै कायम छ।आङ्द्म्बे अगाडि लेख्छन्, ‘त्यसैले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गरियोस्। आरोपको सत्यतथ्य सार्वजनिक होस् र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही होस्। लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ। राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुँदै होइन। सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ भन्ने विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’हिजोमात्रै आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर भेट गरेका थिए । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहले भेटेको २४ घण्टा नबित्दै उनी राष्ट्रपति भेट्न पुगेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा आङ्देम्बेले सरोकारवालाको विरोध हुँदाहुँदै अध्यादेशहरु जारी नगर्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेललाई अडिग रहन ढाडस् दिँदै कांग्रेस र प्रतिपक्षी दल साथमा रहेको आश्वसन पनि दिएका छन् । शुक्रबार दिउँसो रवि र बालेनले राष्ट्रपति पौडेलसँग भेट गर्दै राष्ट्रपति पौडेलले अध्ययनमा राखेका तीनवटा अध्यादेशका बारेमा जानकारी लिएका थिए । एक प्रकारले अहिले राष्ट्रपति पौडेलले रोकेका तीनवटा अध्यादेश जारी गराउन सत्तापक्षको सामूहिक दबाब थियो । प्रेस काउन्सिल नेपालसम्बन्धी अध्यादेश, जेन–जी विद्रोहको क्षतिपूर्ति तथा परिपुरणसम्बन्धी अध्यादेश र पर्यटन मन्त्रालयका केही नेपाल कानुन संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन् । यिनै अध्यादेशहरु जारी नगर्न काँग्रेसले राष्ट्रपतिमाथि दबाब बढाएको हो ।

अध्यादेशबाहेक नेता आङ्देम्बेले इनम सापकोटा प्रकरणबारे पनि राष्ट्रपति पौडेलसँग कुराकानी गरेको खुलेको छ । पौडेलसँग आङ्देम्बेले इनमलाई अघि सारेर सत्तापक्ष, विपक्षी र सार्वजनिक संस्थाविरुद्ध लागेको ब्रिफिङ गरेका थिए । इनमलाई सत्ता अनुकूलको बयान दिन लगाएर व्यक्तिहरूलाई बदनाम गराउने काम भएको उनको भनाइ थियो । त्यसमा पनि राष्ट्रपति कार्यालय चनाखो हुनुपर्ने आङ्देम्बेको भनाइ रहेको समाचारहरुमा उल्लेख छ । इनमको बयानलाई आधार बनाएर कांग्रेस सभापति गगनकुमार थापालाई गिरफ्तार गर्ने प्रयास पनि भएको थियो । तर, इनमको श्रीमती कविता पाण्डेले दबाब दिएर सार्वजनिक छवि भएका र उच्चपदस्थ व्यक्तिविरुद्ध बयान गर्न लगाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएपछि घटनाले नयाँ मोड लिएको छ । कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले कांग्रेस सभापति थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेर राष्ट्रपति पौडेललाई भेट्न गएका हुन् । यसअघि हिजो पनि कांग्रेसले भदौ २३ र २४ का घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता र निर्णयको अवस्थाबारे सरकारसँग प्रश्न उठाएको थियो । मंसिर ८ गतेदेखि ११ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका मुख्य विषय प्रस्तुत गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

Advertisement

विभिन्न समुदाय र समूहसँग गरिएका सम्झौताको कार्यान्वयन अवस्था, गठित समिति तथा आयोगका प्रतिवेदन सार्वजनिक नगरिनुको कारण र सय दिनभित्र पूरा गर्ने भनिएका कामको हिसाब कहिले पाइन्छ भन्ने विषयमा कांग्रेसले प्रश्न उठाएको छ । सरकारका घोषणा र सम्झौता समस्या समाधानका लागि हुन् वा तत्कालको असन्तुष्टि साम्य पार्न मात्र गरिएको हो भन्ने प्रश्न रहेको पौडेलले बताए । मानवअधिकार आयोगको प्रतिवेदनको अवस्था र त्यसमा सरकारको धारणाबारे समेत उनले प्रश्न गरे । दलित समुदायसँग सरकारले माफी मागेर सार्वजनिक लोकप्रियता कमाउन खोजे पनि त्यसपछि केही नगरेको बताउँदै पौडेलले माफी माग्दैमा सबै समस्या हल नहुने उल्लेख गरे । उल्टो अहिले नेवार समुदायसँग संवाद नै नगरी असन्तुष्टि बढाउने गरी सरकारले निर्णय गरेको उनको भनाइ छ । सरकारलाई कार्यशैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन तथा जनसरोकारमा केन्द्रित हुन कांग्रेसले आग्रह गरेको पौडेलले बताए ।

प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रपति रामचन्द्र पौडेलले पनि गम्भीर असन्तुष्टि जनाएको कांग्रेस नेताहरु दाबी गर्छन् । राष्ट्रपति संस्थाको गरिमा ख्याल नगरेकोमा राष्ट्रपति पौडेल प्रधानमन्त्री शाहसँग असन्तुष्ट देखिएको दाबी गरिन्छ । प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गतेको दुई दिने भारत भ्रमण जानुअघि आफूसँग शिष्टाचार भेट नगरेकोमा राष्ट्रपति पौडेल असन्तुष्ट भएका हुन्। यसअघि संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका जाँदा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग शिष्टचार भेटवार्ता गरेका थिएनन् । यसलाई लिएर राष्ट्रपति पौडेलले शुक्रबारको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहसँग असन्तुष्टि पोखेको पाइएको हो । भेटको सुरुमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई लोकतान्त्रिक संस्थाहरूको महत्त्व सम्झाएका थिए ।

पौडेलले लोकतान्त्रिक पद्धतिमा संस्थाहरूलाई महत्त्व दिँदा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै राष्ट्रपति कार्यालय अहिलेको संविधानअनुसार सर्वोच्च संस्था रहेको र यसको सम्मान गर्नु प्रधानमन्त्रीको पनि दायित्व रहेको आशयमा सम्झाएका थिए । सामान्य शिष्टाचारहरूमा पनि राष्ट्रपतिलाई वेवास्ता गर्ने र संसद् छलेर अध्यादेशहरू ल्याउनेलगायतका गतिविधिले लोकतान्त्रिक संस्था कमजोर हुने उनको भनाइ थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीबाट अध्यादेशको आवश्यकता र औचित्यबारे आफूलाई जानकारी नगराएकोमा पनि राष्ट्रपति पौडेलले असन्तुष्टी राखेका थिए । सरकारले अत्यावश्यक नै भएर अध्यादेश सिफारिश गरेको भन्दै प्रमाणीकरण ढिलो नगरी दिन राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहले आग्रह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top