काठमाडौं : सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् ।
बढ्दो वायु प्रदूषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा। ढुण्डिराज पौडेलको सुझाव छ । ‘सास फेर्दा धूलोधूवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ’, उनले भने ।
ठूला कण श्वासप्रश्वास नलीमा अड्किन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । ‘दुई दशमलव पाँच माइक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालीद्वारा मुटु, मिर्गौला, छालालगायत संवेदनशील अंगमा असर पुग्छ’, डा। पौडेलले भने ।
पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिकलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति बढी सजग हुनुपर्ने चिकित्सकको सुझाव छ । जाडोमा मर्निङ वाकभन्दा घरमै व्यायाम गर्नु उपयुक्त हुने डा। पौडेलको भनाइ छ ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।