पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

२ मंसिर ७५, सोमबार

सुर्खेत,मंसिर ३
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएका छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।

Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहनुभएकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए ।

उहाँका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उहाँले बताउनुभयो । “पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भन्नुभयो, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उहाँको भनाइ थियो ।

Advertisement

ललिताका पति विर्खबहादुर बुढाले उहाँलाई चार दिनसम्म कालीकोट अस्पतालमा राख्नुभएको थियो । अस्पतालले पठाएपछि उनले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याए । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताए ।

उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए । “एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरे । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top