एजेन्सी, मंसिर ४
युइएफए नेसन्स लिग फुटबल लिग अन्तर्गत जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै नेदरल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।दुई गोलले पछि परेको स्थिति उल्ट्याएरे जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै नेदरल्यान्ड समूह १ बाट समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
सोमबार राति भएको खेलमा घरेलु टोली जर्मनीले खेलको २० मिनेट भित्र नै २–० को अग्रता लिएको थियो । नवौं मिनेटमा सर्जि जिनाब्रिको पासमा टिमो वेर्नरको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा लिरोए सानेले टोनी क्रसको पासमा गोल गरेपछि जर्मनीले २–० को अग्रता बनाएको थियो ।
जिततर्फ धकेलिएको खेलमा जर्मनी अन्तिम ५ मिनेट सम्हालिन नसक्दा हार बेहोर्नुपरेको हो । ८५औं मिनेटमा क्वीन्सी प्रोमेसले मार्टिन डि रोनको पासमा गोल गरेपछि नेदरल्यान्डलाई खेलमा फर्काउने संकेत दिएका थिए ।
भर्जिल भान डिजिकले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।
समूह विजेताको रुपमा नेदरल्यान्ड प्ले अफमा स्थान बनाउदा विश्वविजेता फ्रान्स रोकिएको छ । जर्मनी भने यसअघि नै रेलिगेसनका परेको थियो । नेदरल्यान्डको ४ खेलबाट ७ अंक पुग्दा समान अंक रहेको फ्रान्स गोल अन्तरमा दोस्रो स्थानमा झर्दै रोकिएको हो ।