विराटनगर, मंसिर ५
सुनसरीको दुहबीमा एक व्यक्तिको अज्ञात समुहले गोली प्रहार गरि हत्य गरेको छ । दुहबी–९ स्थित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलाई न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए ।
प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । एसपी अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।
मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए ।
हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ । यसैबीच, हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।