विराटनगर, मंसिर ५
अज्ञात समूहले सुनसरीको दुहबीका स्थानीय मोहम्मद फिदा हुसेनको बुधबार विहान गोली हानी हत्या गरेपछि दुहवी क्षेत्र तनावग्रसत बनेको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनलाई मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा गोली हानेका थिए ।
गोली लागी घाइते बनेका हुसेनलाई तत्काल उपचारलागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो । हुसेनको मृत्यु पछि हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा बिहानैबाट टायर बालेर प्रदर्शन थालेका छन् । स्थानीयको प्रर्दशनपछि कोशी रार्जमागको इटहरी विराटनगर सडक ठप्प भएको छ । यातायातका साधन विचमै रोकिएपछि यात्रुहरुको भने विचल्ली भएको छ ।
हत्यारामाथि कार्वाहीको माग राख्दै स्थानीयले दुहवी बजार समेत ठप्प पारेका छन । मुस्लिम समूदाय अगुवाहरुले भने मुस्लिम समुदायका व्यतिm लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुनसरीका एसपी राजन अधिकारीका अनुसार हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।
मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’ स्थानीयबासीका अनुसार दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए ।
हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ । हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् । यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।