काठमाडौं, मंसिर ७
जारी पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ ।पहिलो हाफमा आर्मीका मिडफिल्डर टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक गोल बन्यो ।
३१ औं मिनेटमा टंक बस्नेतले दायाँ विङ्सबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रभित्र रहेका कप्तान भरत खवासले छाडेपछि टेकबहादुरले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए । पहिलो हाफ र दोस्रो हाफमा दुवै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेन । पुलिसले अन्तिम समयमा आक्रमणमा जोड दिएपनि बराबरी गोल भने पाउन सकेन ।
खेलको अन्तिम समयमा पुलिसले पेनाल्टीको अपिल गरेपनि रेफ्री नविन्द्र महर्जनले त्यसलाई नकारेका थिए । पुलिसका केहि खेलाडी मैदानमा हातपातमा उत्रँदा स्थिति केहि तनावग्रस्त बनेको थियो ।
आजको जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । त्यस्तै प्रतियोगितामा पुलिसले पहिलो हार बेहोरेको छ । आर्मीको ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक छ भने पुलिसको ३ खेलमा १ जित, १ हार र १ बराबरीसँगै ४ अंक बनाएको छ ।