काठमाडौँ, मंसिर ११
नेपाली चलचित्रका एक्सन सुपरस्टार भनेर चिनिने निखिल उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा फर्किएका छैनन् । लगातार फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी केही संयमित देखिएका छन् ।
‘भैरव’ को सिक्वेलबाट उनी धमाकेदार कमब्याक गर्ने सोचमा छन् । उनी सिक्वेल बनाउने तयारीमा जुटेका छन् । भैरव रिलिज हुँदा नै निखिलले यसको सिक्वेल बनाउने घोषणा गरेका थिए । अहिले उनी स्वयं कथा तयार पार्दैछन् ।
अभिनेत्री संचिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी लगभग ५ वर्ष नेपाली फिल्मबाट टाढा रहेका थिए भने भैरवमार्फत निर्देशनमा डेब्यु र अभिनयमा कमब्याक गरेका थिए । यो फिल्मको सिक्वेलमा भने उनी आफैं अभिनय नगर्ने र नयाँ अभिनेता लञ्च गर्ने उनको सोच रहेको स्रोत बताउँछ ।
फिल्मको निर्देशन भने उनी स्वयंले गर्न सक्ने जानकारी प्राप्त छ । फागुनबाट सुटिङ सुरु हुने फिल्मले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । एक्सन फिल्ममा निकै रुचाएका उनको यस वर्षको पुष २७ गते नयाँ फिल्म ‘भिलेन’ रिलिज हुँदैछ । आफ्नै निर्देशनमा फिल्म ‘कमिटमेन्ट’ बनाउने घोषणा गरे पनि त्यो आधाउधी छायांकन नसकिँदै पैसा अभावमा अड्किएको छ ।









