विराटनगर,मंसिर १५
आगामी फागुनमा सुदूरपश्चिमाञ्चलमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मोरङमा शुक्रबारदेखि खेलाडी छनौट सुरु भएको छ ।
मोरङ जिल्ला खेलकुद विकास समितिले १५ वटा खेलका लागि खेलाडी छनौट थालेको हो । पहिलोदिन छात्रा सिंगल्सतर्फ एलिना राई, समृद्धि लुइँटेल, पुष्पा पुडासैनी, अन्जली मण्डल र पूजा ढंगेल छनौट भएका छन् ।
त्यसैगरी पुरुष सिंगल्सतर्फ छनौट चरणका खेल जारी रहेका छन् । लिगका आधारमा भएको खेलमा करण राई पहिलो, सन्तोष काफ्ले दोस्रो स्थानमा रहेका छन् ।
जिल्लाबाट छनौट भएका सबै खेलका खेलाडीले प्रदेश स्तरीय छनौटमा प्रतिष्पर्धा गर्नु पर्नेछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कराँते, जुडो, खो खो, कबडी, बास्केटबल, उसु, ब्याडमिन्टन र हेण्डबलका खेल समावेश हुनेछन् ।