मेलम्चीमा ३६ करोड माग्दै ठेकेदारको लफडा, आउला त ६० दिनमा पानी ?

मेलम्चीमा ३६ करोड माग्दै ठेकेदारको लफडा, आउला त ६० दिनमा पानी ?

काठमाडौं,मंसिर २४

मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी सिएमसीले ३६ करोडको नयाँ बखेडा झिकेको छ । भूकम्पका कारण कामको प्रकृति बदलिएर बढी दायीत्व परेको भन्दै कम्पनीले १ अर्ब ६५ करोड रुपैंयाँ अतिरिक्त भुक्तानी मागेको थियो । कन्सल्टेन्टले २८ करोड अतिरिक्त दायीत्व बढेकाले भुक्तानी दिनुपर्ने भनेको थियो । सोही अनुसार आयोजनाले ठेकेदार कम्पनीलाई सो मात्रामा भुक्तानी पनि गरिसकेको थियो तर ठेकेदारले डिस्प्युट एडमिनिट्रेसन बोर्डमा उजुरी दियो । बोर्डले थप ३६ करोड दिनु पर्ने निर्णय सुनायो ।

बोर्डको त्यस्तो निर्णयसँगै ठेकेदार कम्पनीले ३६ करोड भुक्तानी नदिए जनवरीदेखि काम रोक्ने चेतावनी दिएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले विकास समिति बैठकमा जानकारी दिए । यद्यपी हालसम्म भने ठेकेदारले काम गरिरहेको छ ।

मेलम्ची खानेपानी विकास विकास बोर्डले ३६ करोड थप भुक्तानी दिने डिस्प्युट बोर्डको निर्णय प्रति असहमति जनाउँदै असहमति पत्र(नोट अफ डिस स्याटिस्फ्याक्सन) लेखि सकेको छ । खानेपानी मन्त्रालयका सचिव ठाकुरले माघ मसान्त भित्र मेलम्चीको पानी सुन्दरीजलमा झारिसक्ने दावी गरेका छन् ।

उनले मेलम्चीबाट सुरुङमा पानी हालेको एक हप्ताभित्र सुन्दरीजलमा झारिसक्ने प्रतिववद्धता व्यक्त गरेका हुन् तर ठेकेदार कम्पनीको ३६ करोड सम्बन्धी मुद्धा मिलाउन नसकिए जनवरीबाट काम रोक्ने चेतावनी दिएको पनि उनले सार्वजनिक गरिदिएका छन् ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.