दाङ,मंसिर २७
दाङको लमहीमा स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५३ वर्षीय मानबहादुर केसी, ५ वर्षीय प्रविण केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिए ।
यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो ।स्थानीय खेमराज गौतमका अनुसार मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका छन् । घाइतेमा राप्तीसोनारी –८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन्।
घाइते दुवैलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा.पुष्प भुषालले बताए। मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जनाईएको छ ।