पाल्पामा जिप भीरबाट खस्यो : ५ जनाको मृत्यु, ४ घाइते

पाल्पामा जिप भीरबाट खस्यो : ५ जनाको मृत्यु, ४ घाइते

पाल्पा, मंसिर २८
पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
सदरमुकाम तानसेनबाट ६० किलोमिटर पूर्व दक्षिणमा गएराति करीब १० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ की ३३ वर्षीय यानिसर गाँहा, बुमाकुमारी दर्लामी, रेवतबहादुर जि.सी., कुनिसरा रुचाल र जिपचालक २० वर्षीय वीरेन्द्र राना रहेका छन् ।

घाइते हुनेहरुमा माथाँगढी ८ कै ४० वर्षीय सुरेन्द्र मश्राङ्गी, ४० वर्षीय देव सिंह राना, २६ वर्षिया शान्ता रुचाल र उनकी ३ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ। घाइतेमध्ये शान्ता रुचालको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

प्रहरीका अनुसार जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल खसेको थियो। रातिको समय, कच्ची सडक र दुर्घटनास्थल भीर भएका कारण ठूलो क्षति भएको पाल्पा प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.