विराटनगर,मसिंर २८
प्रदेश नम्बर १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश नम्बर एक सरकारको सहकार्यमा प्रतियोगिता गर्ने सम्झौता भएको हो ।
शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर एक स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने समझदारी भएको हो ।
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली फुटबलको विकासमा ऐतिहासिक सम्झौता भएको बताए । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय हुने बताए । दुइवटै ठूला प्रतियोगिताले प्रदेशका लागि फरक पहिचान बनाउने विश्वास लिएको अध्यक्ष शेर्पाको भनाई छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पाले दुवै प्रतियोगिता यसैवर्ष देखि २०७९ सालसम्मका लागि रहने जानकारी दिए । जसका लागि प्रदेश सरकारले कुल २ करोड रुपैया उपलब्ध गराउने छ । प्रदेश नम्बर एकस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा प्रदेशका १४ जिल्लाबाट टोलीले सहभागिता जनाउनेछन् ।
यसमा उत्कृष्ट हुने दुइ शीर्ष टोली अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागि हुनेछन् । त्यसैगरि, अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबलमा सातै प्रदेशका उत्कृष्ट टोली, ए डिभिजन क्लबका ६ टोली, र तीन वटा अन्र्तराष्ट्रिय फुटबल क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । यसमा बढिमा १६ वटा टोलीको सहभागिता रहनेछ । दुवै प्रतियोगिताको मिति भने, केहीसमयपछि सार्वजनिक गरिने एन्फाले जनाएको छ ।