एजेन्सी,पुस १
स्पेनिस ला लिगा फुटबलमा स्पेनिस जाइन्ट रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।रियलको घरेलु मैदान सान्टियोगो बर्नबेउमामा शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो ।
यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष दुईमा रहेको बार्सिलोना र एट्लेटिकोको ३१ अंक छ । तर बार्सिलोनाले एक खेल कम खेलेको छ ।
रियललाई जिताउन करिम बेन्जेमाले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । बेन्जेमाले खेलको १३औं मिनेटमा लुकास भास्क्वेजको पासलाई गोलमा परिणत गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा रियलले १–० को जित निकाल्न सफल भयो । शनिबार राति नै भएको अर्काे खेलमा एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।
एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनले २ तथा निकोला कालिनिक एक गोल गरे । रियल भालाडोलिडका फर्नान्डो कालेरोले गोल गर्दा एक गोल उपहार पाएको थियो । सउल निग्वेजले आत्मघाती गोल गरेका थिए ।
जितपछि एट्लेटिकोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ ।