विराटनगर,पुस १
विराटनगर–७ मा मापदण्ड विपरित निर्माण गरिएको कम गुणस्तरको नाला स्थानियले भत्काउन लगाएका छन् । विराटनगरको वडानम्बर २ र ७ को सिमानामापर्ने बिजुली अफिस जाने पुर्वपश्चिम बाटोमा मापदण्ड विपरीत कम सिमेन्ट प्रयोगगरी बनाउन लागिएको नाला स्थानियले भत्काउन लगाएका छन् ।
हाल नाला निर्माणको काम चलिरहेको सो ठाउँमा गुणस्तर विपरीत थोरै सिमेन्ट प्रयोगगरि बुधबार जोडाइ गरिएको नाला आफै भास्सिन लागेपछि आफुहरुले भत्काउन लगाएको स्थानिय भरत ठाकुरले जानकारी दिए ।
ठेकेदार पक्षले नाला जोडाइको क्रममा कम्ती सिमेन्ट प्रयोग गरेको आफुहरुले थाहा पाएर विरोध गर्दा समेत जोडाइ गरिएका कारण नाला भास्सिन थालेपछि आफुहरुले भत्काउन लगाएको उनले जानकारी दिए ।
स्थानियवासीको जानकारीपछि निर्माणस्थलमा पुगेका विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले निर्माण गरिएको नालाको दुइ लेयरमा समस्या देखिएकोले भत्काएर पुन बनाउन लगाइएको बताए ।
उनले गुणस्तर विपरीत हुने कामप्रति आफुहरु सजग रहेको समेत दाबी गरे । विराटनगरमा जारी क्षेत्रीय शहरी विकास परियोजना अन्र्तगत सो नाला निर्माण हुंदैछ । उक्त परियोजना अन्र्तगत विराटनगरभित्र ७३ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर नाला निर्माणको काम हुंदै छ ।
२०१७ नोभेम्बरमा शुरु भएको परियोजनाको काम २०१९ नोभेम्बरमा सकिने जनाइएको छ । सघन शहरी विकास विकास कार्यक्रम अन्तर्गत रु ६२ करोड र साना तथा मझौला शहर वातावरणीय विकास परियोजना अन्तर्गत दुई अर्ब ९५ करोडको लागतमा सडक कालोपत्रे हुनेछ ।
त्यसैगरी २ अर्व ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजना अन्तर्गत नाला तथा सडक निर्माण कामपनि भइरहेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भएको उक्त परियोजना अन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्रे, दुबैतर्फ नाला निर्माण गरिने छ ।