काठमाडौं,पुस १०
धनगढीमा हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिता एक हप्ता पछि सरेको छ । पहिले घोषणा गरिएको मितिमा नेपाल र युएईंबीच एक दिवसीय र टी–२० का खेलहरु हुने तय भएपछि डिपीएलको खेल तालिका पछि सरेको हो ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल युएईंबीच क्रिकेट सिरिज हुने भएको कारण प्रतियोगिता एक हप्ता पछि सारिएको जनाएको छ । नयाँ मिति अनुसार डिपिएल माघ २६ बाट पागुन ११ गतेसम्म आयोजना हुने आयोजकले उल्लेख गरेको छ । यसअघि डिपिएल माघ १९ बाट फागुन ४ सम्म हुने तय भएको थियो ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो पटक एक दिवसीय खेल खेल्न लागेको हो । खेल पर सरेपछि आयोजकले डिपिएलका लागि खेलाडी दर्ताको समयसीमा पनि एक हप्ता बढाएको छ । खेलाडी दर्ता १७ गतेसम्मको लागि राखिएको छ । यसअघि १२ गतेसम्मको लागि रहेको थियो । अक्सन पुस १९ मा हुनेछ ।