विद्युत प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

१० पुस ७५, बुधबार

काठमाडौँ,पुस ११

Advertisement

तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो ।

उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ ।

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल इलेक्ट्रिसिटी अथोरेटी(एनइए) नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ । प्राधिकरणले विकास गरेको उक्त एप्लिकेशनले कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको जानकारी सहजै दिनेछन् ।

हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको उक्त एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन् । एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ ।

Advertisement

एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्नेहुन्छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत उपलब्ध रहेको छ । यस्तै नो लाइट सेवाका नम्बरसमेत उपलब्ध भएको एप्लिकेशनमा उपभोक्ताले आफ्नो बिलको बारेमा समेत जानकारी लिन सक्नेछन् ।

प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारीसमेत सोही एप्लिकेशनले दिनेछ । यस्तै ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ ।

एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ ।

कुनै गुनासो वा सूचना भए पनि एप्लिकेशनबाटै जानकारी गराउन सकिनेछ । प्राधिकरणका सूचना, समाचार, बिलको जानकारी तथा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत उपलब्ध हुने गरी एप्लिकेशनमा उपलब्ध गराइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

उपभोक्तालाई बढीभन्दा बढी सहज र सरलरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको र त्यसमा थप सेवा थप्दै लैजाने योजनामा प्राधिकरण रहेको छ ।

सरल तरिकाबाट पनि उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिन सकिन्छ भन्ने ध्येयका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै प्राधिकरणले सोही एप्लिकेशनलाई थप परिमार्जन गरेर कति दिनमा लाइन काटिँदैछ भन्ने कुराको जानकारी समेत दिनेछ । यस्तै के कति परिमाणमा विद्युत् महसुल उठ्यो, कति दिनमा तिर्नुपर्छ भन्ने विषयको समेत जानकारी प्राप्त हुनेछ ।

त्यसैगरी प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत यथेष्ट जानकारी पाइने भएकाले सम्बन्धित कार्यालयको कार्य क्षमता तथा समस्या समाधानमा चालिएको कदमको बारेमा समेत सहजै सूचना प्राप्त हुनेछ ।

ग्राहकलाई सही र समयै जानकारी दिने लक्ष्यका साथ एप्लिकेशन सञ्चालनमा ल्याइएको बताउँदै कार्यकारी निर्देशक घिसिङले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर सहज सेवा प्रदान गर्न प्राधिकरण लागि परेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने सोचमा छौँ ।

रासस/–रमेश लम्साल

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top