एजेन्सी, पुस २९
जारी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो ।
ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । लिभरपुलको कठिन जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनालटीमा गरेको गोल नै निर्णायक बन्यो ।
४९औं मिनेटमा ब्राइटनका पास्कल ग्रसले मोहम्मद सलाहलाई पेनाल्टी बक्समा फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसमा सलाह चुकेनन् । सलाहको सिजनमा यो १७औ गोल हो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ७ अंकको अग्रता बनाएको छ । लिभरपुलको २२ खेलबाट ५७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५० अंक छ । यद्दपि सिटीले एक खेल कम खेलेको छ उसले मंगलबार वल्भ्ससँग खेल्दैछ ।