तारुकाको साँढेजुधाइ : खेल पर्यटनको गन्तव्य

३० पुस ७५, मंगलबार

विदुर ,माघ १

Advertisement

नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ ।

फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला तारकेश्वर गाउँपालिका तारुकामा पर्ने चन्दनीडाँडामा करीब एक सय ५० वर्षदेखि चल्दैछ ।

Advertisement

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह माघे सङ्क्रान्तिका बेला हालको गोरुजात्रा हुने स्थान चन्दनीस्थित मामाघर आउँदा भाञ्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा शुरु गरेको बताइए पनि यकिन इतिहास भेटिएको छैन ।

यही परम्परा अन्त पनि विस्तार हुँदै क्रमशः राजधानी र वरपरका धेरै जिल्लाको लागिसमेत मनोरञ्जनको माध्यम बनिसकेको पाइन्छ । पत्रकार विष्णु तारुकेको अगुवाइमा यसको राष्ट्रिय र अन्तरराष्ट्रिय प्रचार भएकाले यो पर्व धेरैलाई सम्झाउनै पर्दैन ।

Advertisement

दशैंतिहारजस्ता हिन्दू आस्थाका चाडपर्वमा समेत घर नफर्कनेहरु माघेसङ्क्रान्तिमासाँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाटको अवसरका रुपमा समेत नुवाकोट र धादिङबासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ ।

तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्यम हुन सक्ने स्थानीयवासी र पर्यटन व्यवसायीको जिकिर छ ।

‘अन्तरराष्ट्रियस्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको यहाँ भने अझै प्रचार हुन बाँकी छ । त्यसको प्रचार हुन सकेमा यो देशकै नमुना पर्यटकीय गन्तव्य बन्न सक्छ’, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीको विश्वास छ ।

त्यसका लागि स्थानीय तहले कार्यक्रम र योजना बनाएको उनले जानकारी दिए । ‘भौगोलिक दृष्टिले समेत सुन्दर तारकेश्वरको तारुकामा यो वर्षदेखि माघेसङ्क्रान्तिका दिन मनाइने गोरु जुधाइको परम्परालाई अझ सुदृढ र व्यवस्थित गर्दैछौँ’, उनले भने, ‘त्यसका निम्ति पर्यटन गुरुयोजना तयार गरी अघि बढ्ने हामो सोच छ ।’

स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोरुजात्राको महत्वलाई प्राथमिकता दिने क्रम बढेपछि धेरै जिल्लाबाट दर्शककोे उपस्थिति बढेको देखिन्छ । खेल पर्यटनको रुपमा समेत विकास हुँदै गरेको यो जात्रा स्वदेशी तथा विदेशी पर्यटकको उचित गन्तव्य बनेको छ ।

जित्नेलाई हरुवा गोरु
आन्तरिक पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले अघिल्ला वर्षभन्दा यस पटक पुरानो शैलीलाई विकास गर्दै मेलालाई व्यवस्थित बनाइएको तारुका गोरुजुधाइ मेला व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर अधिकारीले बताए ।

अघिल्ला वर्षमा जित्ने गोरुधनीलाई केही रकम पुरस्कारका रुपमा दिइन्थ्यो भने यस पटक एकापसमा जुधेका गोरुमध्ये जुनले जित्छ, त्यहीसँग हारेको गोरु दिइने नियम बनेको छ ।

जुधाउन ल्याइएका गोरुले प्रतियोगिता जितेमा गाउँमा वर्षैभरि आफ्नो चर्चा भैरहने स्थानीयवासी गोरुधनी अमरबहादुर भण्डारीको भनाइ छ ।

प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया गोरुहरु धुलो उडाउँदै लगातार एक घण्टासम्म भिड्ने गर्छन् ।

‘यो वर्ष पनि माघेसङ्क्रान्तिका लागि २३ हल गोरु जुुधाउन तम्तयार बनाइएको छ’, वडाध्यक्ष समरबहादुर आले मगरले भने । ‘तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्परा र सम्पत्ति हो, यसको पर्यटकीय प्रवद्र्धनमा सबैको सक्रियता चाहिन्छ’, तारुकामा जन्मिनुभएका पत्रकार विष्णु तारुके बताउँछन् ।

यो जात्रालाई व्यापक प्रचार प्रसार गरी राष्ट्रियस्तरमा विकास गर्न पत्रकार तारुकेले ठूलो भूमिका निर्वाह गरेका छन् ।

तारुकाका किसानहरु आफूले गुन्द्रुक खाएर पनि गोरुलाई मास, भटमास, अण्डा, कोदाको खोले, मकै आदि पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् ।

जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहनुभएका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याइएको साँढे देखाउँदै भने, ‘आफूले रुखोसुखो खाएर यसलार्य मीठोमसिनु खुवाएर माघेसङ्क्रान्तिमा जुधाउनकै लागि तयार गरेको छु ।’

अर्का गोरुधनी विष्णु श्रेष्ठ पनि यस पटक तयारी अवस्थामा राख्नुभएको अजङ्गको गोरु यस पटक भिडाउने योजनामा छन् ।

विगतका धेरै वर्षमा आफनो गोरुलाई जिताउन सफल श्रेष्ठ यस पटक पनि आफूले पालनपोषण गरेको गोरुले नै जित हात पार्ने जिकिर गर्छन् ।

स्थानीयवासी किसान रेशमबहादुर श्रेष्ठ पनि उस्तै विश्वास व्यक्त गर्दै भन्छन्, ‘आफूले पीठो खाएर गतिलो आहारा खुवाई पालेको आफ्नो गोरुले जितोस् भन्ने चाहना त अवश्य हुन्छ । हामीकहाँ गोरुको जीत र हारमा सबैको इज्जत र सम्मान जोडिन्छ ।’

–जमुना गजुरेल/ रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top