एजेन्सी, माघ १
इंग्लिस प्रिमियर लिग अन्तरगत सोमबार राती भएको खेलमा ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ ।
सिटीले घरेलु मैदानमा खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको १०औं मिनेटमा लिरोए सानेको क्रस पासमा जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । वल्भ्सका विली बोलीले बर्नाडो सिल्भामाथि अनावश्यक ट्याकल गरेपछि १९औं मिनेटमा रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।१० खेलाडीमा समेटिएकोे वल्भ्स कमजोर बन्दा सिटीले यसको प्रत्यक्ष फाइदा उठायो ।
३९औं मिनेटमा सिटीका रहिम स्ट्रलिङलाई रायन बेन्नेटले पेनाल्टी बक्सभित्र फउल गरेपछि सिटीले पेनाल्टीको मौका पाएको थियो । जसलाई जेससले कुनै गल्ती गरेनन् । पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा उपहार गोल पायो ।
७८औं मिनेटमा कोनोर कोडीले आत्मघाती गोल गरेपछि सिटी ३–० ले विजयी हुन सफल भयो । सिटीका केभिड डि ब्रुयनले क्रस गरेको बललाई बचाउन खोज्दा कोनोरले बललाई आफ्नौ पोस्टको दिशा दिएका थिए ।
जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी चारमा झार्दै लिभरपुलमाथि दवाव बढाएको छ । सिटीको २२ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको लिभरपलुको ५७ अंक रहेको छ । सिटीसँग पराजित वल्भ्स २९ अंक जोडेर ११औं स्थानमा छ ।