एजेन्सी, माघ २
लन्डन क्लब आर्सनलका भेट्रान गोलरक्षक पिटर चेकले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेकले सामाजिक संजाल ट्वीटरबाट सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका हुन् ।
३६ वर्षीय चेकले आफुले व्यवसायिक फुटबलमा २०औं सिजन बिताएको र यो नै सन्यासको उपयुक्त समय रहेको बताएका छन् ।उनले भनेका छन्– ‘मैले व्यवसायिक फुटबल खेलेको २० वर्ष भएको छ । म सिजनको अन्तिमबाट सन्यास लिने छु,’
उनले लेखेका छन्– ‘प्रिमियर लिगमा मात्रै १५ वर्ष बिताए । मैले यहाँ सम्भव भएका सबै सफलता हात पारें । मैले हरेक सिजनमा व्यक्तिगत अवार्डहरु जित्न सफल भएको छु । म अब आर्सनलका लागि सक्दो प्रयास गर्नेछु ।’
सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका चेकले त्यसयता१ सय २४ खेल खेलेका छन् । चेक रिपब्लिकका गोलरक्षक चेक सन् २००४ मा इग्लिस क्लब चेल्सीमा अनुबन्ध भएका थिए । सन् २०१५ मा चेक अर्को इंग्लिस क्लब आर्सनलमा पुगेका थिए ।
चेल्सीमा ११ बर्ष बिताएका चेकले १३ उपाधि जितेका थिए । आर्सनलबाट उनले ११० खेल खेलेका छन् । उनी प्रिमियर लिगमा सबैभन्दा धेरै क्लिन सिट राख्ने गोलरक्षक हुन् । उनले प्रिमियर लिगमा २०२ क्लिनसिट राखेका छन् ।