७ सय ५३ स्थानीय तहमा रोजगारीको अवसर

७ सय ५३ स्थानीय तहमा रोजगारीको अवसर

काठमाडौँ, माघ ३
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबार देखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विहिबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो को जानकारी गराएको हो ।

मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्ने भएको छ । मन्त्रीपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले १ बर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरि शुक्रबार देखि दरखास्त आव्हानको सूचना प्रकाशित गरिने जानकारी दिए । मन्त्रालयले १० हजार भन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी(नासु सरह)को र १० हजार भन्दा बढी जनसंख्या भएका बाकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ ।

स्वीकृत दरबन्दीमा भोली शुक्रबारदेखि अनलाई फारम भर्ने व्यवस्था सहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैले अनलाईन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ ।

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने भएको छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ बर्ष भन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिईने छ । पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा ३ जनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ ।

त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाईन मार्फत कम्युटर ज्ञानको परीक्षा लिईने छ । कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयर मार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुन भित्र सबै प्रक्रिया पुरा गरि रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्र १ गते बाट बेरोजगारहरुको सुचीकृत गर्ने काम सुरु हुने दाबी गरेको छ ।

रोजगार संयोजकले वेरोजगार, रोजगारदाता, रोजगार दिने संस्था लगायतको सूचना संकलन गर्ने छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैया बजेट विनियोजन गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.