विराटनगरमा प्रदेशस्तरीय निः शुल्क बृहत योग शिविर सुरु(फोटो फिचरसहित)

विराटनगरमा प्रदेशस्तरीय निः शुल्क बृहत योग शिविर सुरु(फोटो फिचरसहित)

विराटनगर, माघ १३
१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरमा सप्ताहव्यापी निः शुल्क बृहत योग शिविर सुरु भएको छ ।‘शान्ति र समृद्धिका लागि योग ’ भन्ने नाराका साथ आज बिहानबाट सुरु भएको योग शिविरको १ नम्बर प्रदेशका प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा सुरु भएको योग शिविरको उद्घाटन पछि बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको बताए । प्रदेशका नागरिकहरुको जीवन स्वस्थ्य रहोस् भन्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले सुरुवात गरेको बृहत योग शिविर उत्तम कार्य भएको बताए ।

त्यस्तै बृहत योग शिविरका मुल संयोजक सामाजिक विकास मन्त्री घिमिरेले व्यायमलाई अभिन्न अंग बनाउने, हरेक बालबच्चाहरुलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफुहरु लागेको बताए ।योगको महत्व दर्शाउँदै उनले योगलाई अभियानको रुपमा प्रदेशका टोल– टोल, बस्ती– बस्तीमा पुर्याउने बताए । उनले १ ः १५ देखि हुने योग शिविरमा कक्षा ९ मा अध्ययनरत ३ हजार विद्यार्थीहरुले नाम दर्ता गराएको पनि जानकारी दिए ।

वरिष्ठ कलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मुस)ले योगामा सहभागीहरुलाई पेट मिची मिची हँसाएका थिए । उनले स्वस्थ्य रहन हरेक दिन योग शिविरमा आउन आग्रह गरेका थिए ।

योग शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकहरुले योगा गराएका थिए भने मन्त्री जिवन घिमिरे, सिताराम कट्टेल(धुर्मुस), विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी तथा हजारौँको संख्यामा उपस्थित ब्यक्तिहरुले योगा गरेका थिए ।

आज दिउँसो १ : १५ देखि हुने योग शिविरको मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीहरुका लागि शिविर संचालन हुनेछ । शिविरमा सहभागी हुनेहरुका लागि विराटनगरका विभिन्न ८ स्थानमा बस सेवा पनि संचालन गरिने मन्त्रालयले जनाएको छ । योग शिविर माघ १९ गतेसम्म चल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.