लेटाङका ६ दर्जन विपन्नलाई जस्तापाता वितरण

लेटाङका ६ दर्जन विपन्नलाई जस्तापाता वितरण

विराटनगर, माघ १८
मोरङको लेटाङ नगरपालिकाले नगरभित्र रहेका घरहरुको फुसको छानालाई विस्थापित गर्ने अभियानलाई औपचारिक रुपमा अघि बढाएको छ । शुक्रबार लेटाङ नगरपालिकाले आयोजना गरेको गरिब तथा विपन्न घरपरिवारका लागि जस्तापाता वितरण कार्यक्रममा नगरपालिकाका मेयर शंकर राईले सम्बृद्धि र साक्षरता नगर बनाउने क्रममा आफू लागि परेको बताए ।

सोही अनुरुप नगरभित्र रहेका फुसको छानालाई जस्तापातामा रुपपान्तरण गर्ने अभियान नगरपालिकाले लिएको मेयर राईले बताए । मोरङको १७ वटा स्थानीय तहमध्ये भौगोलिक विकट रहेको लेटाङका लागि संघीय सरकारले विनियोजन गरेको बजेटप्रति गुनासो गरेका मेयर राईले, जनसंख्याको आधारमा बजेट छुट्टाइदाँ नगरलाई मर्का परेको गुनासो गरे। यद्यपि आफ्नो चुनावी घोषणापत्र बमोजिम आफूले जनताको घरको छाना बनाउन लागि कार्यक्रम अघि बढाएको उनले बताए ।

‘संघीय सरकारले भौगोलिक विकट रहेको हाम्रो नगरपालिकालाई जनसख्याको आधारमा बजेट विनियोजन गरेर अन्याय गरेको छ’ राईले भने ‘तर निर्वाचनताका मैले घोषणा गरिएको प्रतिबद्धता अनुशार म नगरलाई फुसको छानामुक्त बनाएर छोड्नेछु ।’

नगरपालिकाले पहिलो चरणमा करिब ७० घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । जस्तापाता वितरण गर्दे मेयर राईले घरधनीले कम्तीमा तीनमहिना भित्र छाना लगाइसक्नुपर्ने पनि बताए ।

यस कार्यक्रमका लागि मेयर राईले नगरका मेयरका लागि सवारी साधन खरिदका लागि विनियोजित करिब ६५ लाख रुपैयासमेत आफूले उपलब्ध गराएको बताए। जस्तापाता वितरणका लागि नगरले विभिन्न मापदण्ड निर्धारण गरेको मेयर राईले बताए।

यसका लागि कम्तीमा घरधनी एकैस्थानमा कम्तीमा पाचँवर्ष बसेको, मतदाता परिचयपत्र, जग्गाधनी पूर्जा, घरधनीको बालबालिका विद्यालयमा भर्ना भएको कागजात लगायतका पत्र नगरपालिकामा पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ। जस्तापाता लगाउनका लागि नगरपालिकामा ४ सय २५ घरधुरीले माग गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.