एजेन्सी, फाल्गुन ७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । जसमा आज एक खेलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बार्यन म्युनिख आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।
यो खेलका लागि लिभरपुलले बार्यनलाई आफ्नो घरेलु मैदान एनफिल्डमा स्वागत गर्दैछ । लिभरपुल गत सिजन फाइनल खेलेको टिम हो, जहाँ उसलाई स्पेनिस रियल मड्रिडले हराउँदै उपाधि जितेको थियो ।
यस खेलमा युरोपका दुई हेभिवेट टोलीको भिडन्त हुने भएकाले यो खेल सर्वाधिक चर्चा र केन्द्रमा छ । दुवै टोलीमा स्टार खेलाडी रहेकाले पनि यी दुई टोलीको भिडन्त आज निकै रोमाञ्चक हुने पक्का छ ।
यो सिजन लिभरपुल घरेलु लिगमा उत्कृष्ट लयमा छ । ऊ हाल लिग लिडर म्यानचेस्टर सिटीभन्दा एक खेल कम खेलेको अवस्थामा ६५ अंकसहित दोस्रो स्थानमा छ । उसको सिटीसँग बराबर अंक छ । गोलअन्तरमा सिटी अगाडि छ । लिभरपुलले यो सिजन लिगमा २६ खेल खेल्दा २० खेल जितेर ५ खेल बराबरी गरेको छ भने १ खेल हारेको छ ।
यता, बार्यन हाल घरेलु लिग बुन्डेसलिगामा दोस्रो स्थानमा छ । लिगको साबिक विजेतासमेत रहेको उसले सिजनको सुरुआत कमजोर तरिकाले गरे पनि ऊ यतिबेला उपाधि होडमा फर्किएको छ । उसले २२ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमा छ । ऊ लिग लिडर बोरुसिया डर्टमुन्डभन्दा ३ अंकले पछि छ ।
यता, च्याम्पियन्स लिगको अन्तिम ३२ बाट लिभरपुल समूह ‘सी’ बाट उपविजेता बनेर अन्तिम १६ मा पुग्दा बार्यन समूह ‘ई’बाट समूह विजेता बनेर अन्तिम १६ मा पुगेको थियो ।